पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाको १७ औँ बार्षिक साधारण सभा सम्पन्न

सुन्दरहरैँचा /माेरङकाे सुन्दरहरैँचा १० मा रहेको पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्था लि. को १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा २० जना ज्येष्ठ नागरिक सम्मानित भएका छन् । बर्षिक साधारण सभामा ६५ वर्षदेखि ८९ वर्षसम्मका १३ जना महिला र ७ जना पुरुष सम्मानित भएका हुन् । उनीहरुले दोसल्लाका साथमा जनही १ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

साधारण सभामा २०७८ सालको एसईई परीक्षामा सर्वाेत्कृष्ट अङ्क ल्याउने शेयर सदस्यका सन्तानका साथै उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट ऋणी, उत्कृष्ट बालबचतकर्ता तथा गत स्थानीय निर्वाचनमा विजयी जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । उनीहरुलाई संस्थाका अध्यक्ष भीमप्रसाद आचार्य लगायतले सम्मान गरेका थिए ।

अध्यक्ष आचार्यले संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै गत आर्थिक वर्षमा ३ लाख ३४ हजार ९ सय रुपैयाँ नाफा बचत भएको जानकारी दिए । २ करोड ७२ लाख ५० हजार रुपैयाँ शेयर पूँजी रहेको संस्थामा ६ करोड २५ लाख ४६ हजार ६ सय २९ रुपैयाँ निक्षेप संकलन भएको र ७ करोड १६ लाख ६० हजार ३ सय ८७ रुपैयाँ ऋण लगानी भएको प्रतिवेदनमा उल्लेख छ । संस्थामा ७ सय ९४ जना शेयर सदस्य रहेका छन् । संस्थाका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव केशव तिम्सिनाले सञ्चालन गरेका थिए । संस्थाका उपाध्यक्ष सरोज चौधरीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया