भुल्के साकाेसकाे १७ औ वार्षिक साधारण सभा सम्पन्न

सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा ८ स्थित भुल्के बचत तथा ऋण सहकारी संस्था ली. को १७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ। भुल्के साकाेसकाे सभा हलमा भएको साधारण सभामा प्रमुख अतिथि नगर प्रमुख केदारप्रसाद गुरागाईँले कार्यक्रमको उद्घाटन गरेका थिए । साधारण सभामा उक्त सहकारीका अध्यक्ष श्यामकुमार आचार्यले वार्षिक प्रगति प्रतिवेदन तथा कार्यक्रम विवरण प्रस्तुत गरेका थिए । त्यसै गरी कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक प्रेमप्रसाद रेग्मीबाट प्रतिवेदन प्रस्तुत भएको थियो।

साधारण सभाको कार्यक्रममा उत्कृष्ट ऋण कारोबार गर्ने युवराज कटुवाल तथा उत्कृष्ट बचत कर्ता राजकुमार शाहलाई सम्मान गरिएको थियो। त्यसै गरी ज्येष्ठ नागरिक सम्मान अन्तर्गत शेयर सदस्यहरूका अभिभावक ९७ वर्षीय रमादेवी काफ्ले , ९० वर्षीय राधिकादेवी पोखरेल तथा कटकबहादुर कार्कीलाई सम्मान गरिएको थियो। साथै सहकारीका उत्कृष्ट कर्मचारी परशुराम लुइँटेललाई समेत प्रमाणपत्रका साथमा दाैसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।

भुल्के सहकारीमा हाल सेयर सदस्य सङ्ख्या जम्मा ६ सय ६३ रहेको छ । जसमा शेयर पुँजी रु दुई करोड ,९८ लाख १६ हजार १ सय रहेको छ । त्यसै गरी बचत रु नौ करोड ४९ लाख ११ हजार ६ सय ८९ रुपैयाँ रहेको साथै ऋण लगानी रु १२ करोड १२ लाख ६८ हजार ८ सय ८० रुपैयाँ रहेको उल्लेख गरिएको छ । भुल्के साकाेसकाे साधारण सभाको कार्यक्रममा विशिष्ट अतिथि तथा पूर्व प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेती, सुन्दरहरैँचा उवासका अध्यक्ष कृष्णप्रसाद रिजाल लगायतले बोलेका थिए।

तपाईको प्रतिक्रिया