धरानमा कर छली व्यापक भएपछी राजस्व कार्यालय एक्शनमा

धरान / धरान उपमहानगरपालिकामा व्यापारीहरूले व्यापकरूपमा कर कानुन उल्लंघन गरेको पाइएको छ। आन्तरिक राजस्व कार्यालय धरानले बजार अनुगमन गर्ने क्रममा व्यापारीहरूले कर कानुन उल्लंघन गरी कर छली गरेको पाइएको हो। विहिवार धरानमा -१६ जना करदाताहरूको व्यवसाय अनुगमन गरिएको थियो। जसमा १० जना उद्योग वाणिज्य संघका पदाधिकारीहरूको व्यवसाय अनुगमन गरिएको थियो। जसमध्ये ८ जना पदाधिकारीहरू जरिवानामा परेका थिए। कर कानुन उल्लंघन गर्ने व्यापारीलाई १० हजारदेखि ३० हजारसम्म जरिवाना गरिएको छ।

धेरैजसो व्यापारीहरूले आफ्नो व्यवसाय दर्ता नगरेको र दर्ता गरिएका पसलहरूमा समेत उद्योग वाणिज्य संघ सुनसरीका पदाधिकारीहरूले नै कर कानुन उल्लंघन गरि कर छलीको काम गरेको भेटिएको आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए। अनुगमनका क्रममा संघका व्यापारीले नै कर छली गरेको पाइएको उनले बताए। सरकारले राजस्व चुहावटका लागि आर्थिक वर्ष २०७९/८० लाई बजार अनुगमन वर्षको रूपमा मनाईने घोषणा गरेअनुरूप आन्तरिक राजस्व कार्यालय धरानले बजार अनुगमनलाई तीव्र पारेको छ। राजस्व कार्यालयले अवैध व्यवसाय गर्नेहरूलाई कारबाहीका लागि एक्शन लिएको छ।

कार्यालयले धरानमा दैनिक बजार अनुगमन गरी व्यवसायीहरूलाई जरिवाना गर्न थालेपछि उद्योग वाणिज्य संघ सुनसरीका पदाधिकारीहरूले आपत्ति जनाएका थिए। बजार अनुगमनका विषयमा वाणिज्य संघका प्रतिनिधिहरू र राजस्व कार्यालयका कर्मचारीबीच छलफल भएको थियो। छलफलका क्रममा आन्तरिक राजस्व कार्यालयका प्रमुख आचार्यले वाणिज्य संघका सबै पदाधिकारीहरूकै व्यवसाय अनुगमन गर्ने प्रस्ताव राखे। त्यसपश्चात् सबै पदाधिकारीहरूले आफ्नो व्यवसाय अनुगमन गर्न अनुरोध गरेपछि कर्मचारीहरूको टोलीले व्यापारीका नेताहरूको पसल अनुगमन गरेको थियो। राजस्व कार्यालयका कर्मचारी र वाणिज्यसंघका पदाधिकारीबीच भएको सहमतिअनुसार कर्मचारीले संघका पदाधिकारीहरूकै व्यवसाय अनुगमन गरेका थिए।

संघका प्रचार तथा संगठन सचिव शशि साह, सदस्य वर्षा अग्रवाल र उमेश श्रेष्ठले भने नियमित कर तिरेर इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गरेको पाइएको राजस्व कार्यालय धरानका अधिकृत प्रमोद गौतमले बताए। व्यापारीका नेताहरूले खरिद बिक्री खाता अध्यावधिक नगरेको, बिलबिजक जारी नगरी कारोबार गर्ने गरेको पाइएको छ। त्यस्तै इजाजत नलिई सूर्ति तथा मदिराको बिक्रीवितरण गर्ने गरेको भेटिएको प्रमुख कर अधिकृत आचार्यले बताए। उद्योग वाणिज्य संघ सुनसरीका कोषाध्यक्ष प्रभाव खतिवडाले करदता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन र व्यापारीलाई इमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्ने वातावरण भए कर संकलनमा सहज हुने बताए।

तपाईको प्रतिक्रिया