अन्नबालीले उजाडिएको गाउँ, तरकारी खेतीले हराभरा

तेह्रथुम / खाली जमिन । नसप्रिएका मकैका बोट । झाडी र जंगलले ढाकेको बस्ती । शेर्पा समुदायको मात्र बसोबास भएको गाउँ । तेह्रथुम जिल्लाको छथर गाउँपालिका आङ्दिमको माथिल्लो क्षेत्र हाे यो । यहाँका नागरिकको अन्नबाली भनेको मकै खेती मात्र । गाउँदेखि शहर जोड्ने सडक नहुँदा यहाँको दैनिकी निकै कष्टकर थियो । मकै करिब आठ महिनामा मात्र पाक्ने । उत्पादन भएको अन्नबालीले दुई महिना पनि नपुग्ने । खाद्य समस्या भोग्दै आएका थिए यहाँका स्थानीय ।

अन्नबालीले परिवार धान्न मुस्किल थियो । लेकाली क्षेत्र भएकाले मकै र आलु मात्र खेती हुन्थ्यो यहाँ । आलु केही मात्रामा उत्पादन भए पनि बिक्री गर्ने बजार थिएन । यहाँका नागरिकले आलु र मकै साट्न बेँसीका घरघरमा पुग्नुपर्थ्यो । आलुसँग साटेको मकैले परिवारलाई धान्न सक्ने अवस्था नै थिएन । यस्ता समस्या खेप्दै आएका छथरका नागरिकको जीवनशैली यतिबेला फेरिएको छ । गाउँहरू सडक संजालसँग जोडिएपछि यहाँका नागरिकको दैनिकी फेरिन थालेको हो । गाउँका सडकमा सवारी साधन गुड्न थालेपछि स्थानीय उत्पादनले सहज रूपमा बजार पाउन थालेका छन् ।

हिजोका खाली जमिन तरकारी खेतीले १२ महिना हराभरा हुन्छन् । यसले गाउँलेको जीवन मात्र उकासेको छैन, गाउँको स्वरूप नै फेरिएको छ । तीन महिना पनि खान नपुग्ने जमिनमा तरकारी खेतीबाट स्थानीयले लाखौँ रुपैयाँ आम्दानी लिन सफल भएका छन् । साना गरादेखि फाँटिला जमिनमा विभिन्न प्रकारका तरकारी लगाइएको छ ।

परंपरागत खेतीलाई छाड्दै तरकारी खेतीलाई रोजेपछि यहाँका किसानको जीवनस्तर आर्थिक रूपमा सबल हुँदै गएको छ । एक मुरी मकै उत्पादन हुने क्षेत्रफलमा यतिबेला लाखौँ रुपैयाँको तरकारी उत्पादन हुँदै आएको सेतु शेर्पाले बताए । ‘विगतका दिन सम्झिँदा अहिलेका दिन आउँछन् लागेको थिएन’, शेर्पाले भने । यहाँका स्थानीयले एक हल गोरुदेखि १० हल गोरु लाग्ने जमिनमा तरकारी गर्दै आएका छन् । तरकारी बिक्रीबाट मात्र स्थानीयहरूले वार्षिक दुई लाखदेखि १२ लाख रुपैयाँसम्म आम्दानी लिँदै आएको मिङमा छेतर शेर्पाले बताए ।

तरकारी खेती गरेको सुरुका दिनमा बिक्रीका लागि डोकोमै बोकेर धनकुटाको सिधुवा पुर्‍याउनुपर्ने बाध्यता रहँदै आएको थियो । उत्पादन भएको तरकारी बिक्री गर्न यहाँका महिलालाई सास्ती थियो । तर, यतिबेला गाउँबाट व्यापारीहरूले नै तरकारी लैजाने गरेको स्थानीयले बताए ।

गाउँबाट व्यापारीहरूले तरकारी लैजान थालेपछि आफूहरूलाई निकै सहज भएको कृषक बब्ली शेर्पाको भनाइ छ । यहाँ आलु, मटर, बन्दा, काउली, मूला, गाजरलगायत विभिन्न प्रकारका तरकारी उत्पादन हुँदै आएको स्थानीय कृषकले बताएका छन् । यहाँ उत्पादन भएको तरकारी पूर्वका धरान, इटहरी, विराटनगर, भारतको सिक्किम र दार्जिलिङसम्म निर्यात हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया