लिखु हाइड्रोपावरको आइपिओ खुल्दै

ओखलढुङ्गा । ओखलढुङ्गा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२ दशमलव २ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाले ६२ करोड ५० लाखको सेयर निष्कासनको तयारी गरेको छ । यो मध्ये ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी रहने ५० प्रतिशत सर्वसाधारणले पाउनेछन् ।

३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारी तथा ३१ लाख २५ हजार कित्ता शेयर सर्वसाधारण लागि निष्कासन गर्न लागिएको हो।आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको लिखु गाउँपालिकास्थित वडा नम्बर ९ पोकली, खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर १, २ र ३ प्रभावित क्षेत्रमा पर्छ ।

त्यस्तै रामेछापतर्फको गोकुल गङ्गा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको भुजी र सैपु आसपासको भूगोल प्रभावित क्षेत्रमा सूचिकृत छ । यी क्षेत्रका बासिन्दा र कम्पनीका कर्मचारीहरूले ५० प्रतिशत सेयर पाउनेछन् भने सर्वसाधारणका लागि ५० प्रतिशत सेयर सुरक्षित गरिएको छ ।

लक्ष्मी क्यापिटल लिमिटेडमार्फत बिक्री गर्न लागिएको शेयर ५ प्रतिशत अर्थात् करिब एक लाख ५६ हजार दुई सय पाँच कित्ता सेयर कर्मचारीका लागि छुट्याइने छ ।

आयोजनाका कर्मचारीमध्ये पनि दुई सयभन्दा कम सङ्ख्यामा कर्मचारी भए पाँच प्रतिशत र त्योभन्दा बढी कर्मचारी भएको खण्डमा दुई प्रतिशत मात्र सेयर उनीहरूका लागि जारी गरिने नागरिक लगानी कोषको उप निर्देशक नारायण घिमिरेले जानकारी दिए । यो आयोजना ग्रीन भेन्चर्स लिमिटेडले निर्माण गरेको हो ।

तपाईको प्रतिक्रिया