कञ्चनपुर, २५ असार । कृषि विकास बैंक बैंकिङ कार्यालय झलारी कञ्चनपुरले आठ महिनाको अवधिमै १३१ व्यक्तिलाई रु पाँच करोड कर्जा प्रदान गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा पुँजीको व्यवस्था गर्नका लागि बैंकले किसानलाई माछा, कुखुरापालन, केराखेती र पावर ट्रेलर खरिद गर्नका लागि कर्जा प्रदान गरेको हो ।
सहकारीलाई थोक कर्जा, व्यापार, घरायसी कर्जा र वैदेशिक रोजगारका लागि कर्जा लगानी गरिएको बैंकका प्रवन्धक जगदिशप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार सोही अवधिमा रु एक करोड १७ लाख निक्षेप सङ्कलन गरिएको छ । बचत खाता ३३४ र चल्ती खातामार्फत २५१ जनाले निक्षेप सङ्कलन गरेका छन् ।
“विसं २०७२ कात्तिक २३ गते स्थापना भई कारोबार सुरु गरेको बैंकले उत्पादन, वितरण, उपभोग, रोजगारी र आम्दानी लगायतका आर्थिक क्रियाकलापमा योगदान पु¥याउन कटिबद्ध रहेको छ”– प्रबन्धक पन्तले भन्नुभयो ।
बैंकको वित्तीय कारोबारबारे ४० प्रतिशत बासिन्दालाई जानकारी नभएको र २१ प्रतिशत बासिन्दाले बैंकसँग कारोबार नगर्ने गरेको पाइएकाले बैंकको दायराभन्दा बाहिर रहेका बासिन्दालाई वित्तीय साक्षरताका माध्यमबाट जनचेतना जगाई बैंकको कारोबारमा आबद्ध गर्ने योजना अघि सारिएको उहाँले बताउनुभयो ।
बैंकले यहाँका झलारी पिपलाडी नगरपालिका, बेदकोट नगरपालिका, देखतभूली गाविस र कृष्णपुर गाविसमा सेवा पु¥याउँदै आएको छ ।