९७.२ अंकले बढ्याे सेयर बजार, यस्ता कम्पनीका लगानीकर्ताले धेरै कमाए

काठमाडौं / नयाँ आर्थिक वर्षमा कारोबार भएको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से झण्डै १ सय अंकले बढेको छ। ९७.२ अंकले बजार बढेर २९८० अंक कायम भएको छ ।

यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ। ११ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सबै समूहहरु बढेका छन् । जेठ ३१ गते परिसूचकले सबैभन्दा धेरै ३०२६ अंक कायम गरेको थियो । त्यस्तै जेठ ३० गते सबैभन्दा धेरै १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भएको रेकर्ड छ ।

समूहगत रुपमा हेर्दा बैंकिङ ९२, ब्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४४१, उत्पादन १६५, अन्य १९, माइक्रोफाइनान्स १९० र जीवन बीमा ६४८ अंकले बढेका छन्। यस दिन सिन्धु विकास बैंक, सिंगटी हाइड्रोपावर, ङादी ग्रुप, समृद्धि फाइनान्स र हिमालय पावर पार्टनरका सेयर लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए ।

त्यस्तै सिद्धार्थ बैंकको मूल्य ८ प्रतिशतले बढेको छ। महालक्ष्मी विकास बैंक, एक्सल डेभलपमेन्ट बैंक र पाँचथर पावरको मूल्य साढे ७ प्रतिशतभन्दा धेरैले बढ्यो । घट्ने कम्पनीको मूल्य गिरावट दर भने २ प्रतिशतमुनि रह्यो ।

मल्टिपर्पोज फाइनान्सको १.७७ तथा रिडी हाइड्रोपावरको १.३९ प्रतिशतले मूल्य घटेको छ। अरुण भ्याली, नारायणी डेभलपमेन्ट र माथिल्लो तामाकोसीको मूल्य पनि घटेको छ ।

यस दिन मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बराबरको सेयर किनबेच हुँदा नबिल बैंकको ३८ करोडको कारोबार भयो। त्यस्तै अरुण भ्याली, एनआइसी एसिया बैंक र कामना सेवा विकास बैंक पनि कारोबारका आधारमा अगाडि रहे।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरिरहँदा बजारमा ठूलो अंकको वृद्धि देखिएको छ ।

तपाईको प्रतिक्रिया