सोलुको वाकुमा तामा उत्खनन् सुरु

सोलुखुम्बु / माप्य दुधकोशी गाउँपालिका स्थित वाकु वाप्सामा रहेको तामा उत्खनन्का लागि आर्थिक, सामाजिक र वातावरणीय मुल्यांकन गरिने भएको छ । प्रभावित क्षेत्रका सर्वसाधारणले मुल्यांकनमा विरोध जनाएपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरको अध्यक्षतामा बसेको सरोकारवालाहरुको वैठकले खानी तथा भुगर्भ विभागले सिमांकन गरेको ५४ हेक्टर क्षेत्रफलमा आईइ गर्ने वातावरण बनेको हो ।

सर्वसाधारणले प्रभावितलाई मुआब्जाको टुंगो लगाउनुपर्ने भन्दै अवरोध जनाएपछि विषयक प्रशासन समक्ष आईपुगेको थियो । प्रभावित क्षेत्रका सर्वसाधारणको अवरोधका कारण २०७१ सालमा काम शुरु गरेको चिनिया कम्पनी दोङसाङले काम गर्न सकिरहेको थिएन । वैठकले प्रभाव मुल्यांकन पछि प्रारम्भिक आईइ प्रतिवेदन प्रभावित स्थलमा पुगेर सार्वजनिक सुनुवाईको माध्यमबाट छलफल गर्ने र कानुनले तोकेका सुझावहरु समाबेश गरि मन्त्रालयबाट स्विकृत गराउने गरि निर्णय गरिएको छ ।

साथै, अहिले सिमांकन भएको ५४ हेक्टर क्षेत्रबाहेकमा पनि तामाखानीको संभाव्यता अध्ययनका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई, उपाध्यक्ष जुनिता राई, वडाअध्यक्षहरु, राजनितिक दलका जिल्लास्तरका नेता, प्रैभावित क्षेत्रका नागरिकहरुको संयुृक्त वैठकले तामा उत्खनन्को प्रक्रियागत कामको लागि बाटो खोलिदिएको हो ।

वैठकमा प्रभावित क्षेत्रका सर्वसाधारणले आफ्ना समस्या र शंकाका विषयमा कुरा राखेका थिए भने आयोजनाको तर्फबाट पनि आफ्ना कुरा राखेका थिए । सरोकारवालाहरुले दोङसाङ कम्पनी समन्वय र पारदर्शीतामा कमजोर रहेको बताएका छन् । माप्य दुधकोशी गाउँपालिकाको वडा नं ६ र ७ मा तामाखानी रहेको छ भने त्यहाँका ३५३ घरधुरी तामा उत्खनन्बाट प्रभावित हुने देखिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया