सस्तो पाइने भ्रममा भारतीय बजार रोज्दै उपभोक्ता

परासी / दशैँ तिहारमा चहलपहल हुने पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित सुनवल, भूमही, बर्दघाट बजारमा यस पटक खासै चहलपहल छैन । दशैँका बेला राम्रो व्यापार गरौँला भनेर पसलमा लगानी बढाएका व्यापारीहरु यतिबेला निराश भएका छन् । उपभोक्ताको रोजाइमा नेपाली बजारभन्दा सीमावर्ती भारतीय बजार पर्न थालेपछि यहाँका व्यापारीहरु चिन्तित भएका छन् ।

पश्चिम नवलपरासीको महेशपुरसँग जोडिएको भारतीय बजार ठुटिबारीमा अहिले नेपाली उपभोक्ताको घुइँचो नै लागेको छ तर नेपालको महेशपुर बजार भने सुनसान छ । त्यहाँ भारतीय नागरिकभन्दा नेपालीकै भीडभाड छ । भारतीय व्यापारीलाई सामान बिक्री गर्न भ्याई नभ्याई छ । खुल्ला सीमानाका कारण र सस्तो पाइने भ्रममा परेर नेपाली उपभोक्ता भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामानदेखि आवश्यक लत्ताकपडालगायत सबै प्रकारका सामान किनमेल गर्ने गरेका छन् ।

नेपाली उपभोक्ता सस्तो पाइने आशमा भारतीय बजार पुगेर गुणस्तरहीन, तौलमा कमी र मूल्यमा समेत ठगिने गरेको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले बताउनुभयो । कतिपय नेपाली सामान भारतमा पुगेर भारतीय मूल्यमा किनेर ल्याउँदासमेत उपभोक्ताले आफू ठगिएको पत्तै नपाउने गरेको बताउनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया