पथरी / उत्तरी मोरङमा अवस्थित लेटाङ नगरपालिकाले सोमवार तेस्रो नगर सभाको आयोजना गरी नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
कृषि विकास बैंक, क्षेत्रीय तालिम केन्द्रको सभाहलमा नगरपालिकाकी उप प्रमुख कृष्णकुमारी पोख्रेलले नीति तथा कार्यक्रा सँगै ४४ करोड १३ लाख ९५ हजार रुपियाँको बजेट सार्वजनिक गर्नु भएको हो ।
आयतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण १० करोड ७३ लाख रुपियाँ रहेको छ । केन्द्रीय राजश्व बाँडफाडबाट ७ करोड ७६ लाख ६० हजार ,प्रदेश स्तरीय वित्तीय समानीकरणबाट ३५ लाख३३ हजार,प्रदेश स्तरीय सवारी साधन कर बाँडफाडबाट ७४लाख २ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारबाट सशर्त अनुदान १ करोड, आन्तरिक आय १ करोड,सन्चित कोष मौज्दात ३ करोड,सर्शत अनुदान १२ करोड ९८ लाख ,सामाजिक सुरक्षा६ करोड ३० र सडक बोर्डबाट अनुदान २७ लाख रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ ।
यस्तै खर्च तर्फ पूँजीगत खर्च ११ करोड ४४ लाख २० हजार रुपियाँ विनियोजन गरिएको छ । वडाहरूलाई ६ करोड ७५ लाख(९ वडालाई) शिक्षा,स्वास्थ्य, पशु कृषिका लागि सशर्त १२ करोड ९८ लाख ,सामाजिक सुरक्षा भत्ताका लागि ६करोड ३० लाख र प्रदेश सरकारबाट सशर्त १ करोड रुपियाँ,सडक निर्माण खर्चमा २७ लाख र वडा कार्यालयको सञ्चालन खर्च ५ करोड ३९ लाख ७५ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
नगरपालिकाले पर्यटन र कृषिमा विशेष जोड दिने कार्यक्रम ल्याएको छ । प्रतिनिधि सभाका सदस्य घनश्याम खतिवडाले प्रमुख अतिथिको आशनबाट बोल्दै उत्तरी मोरङको लेटाङलाई पूर्वाधार सम्पन्न पर्यटकीय नगर बनाउन नगरपालिकाले उत्कृष्ठ बजेट ल्याएको बताउनु भयो । उहाँले झण्डै एक चौथाई मोरङको भू भाग ओगटेको लेटाङ नगरपालिकालाई जनसंख्याको आधारमा बजेट विनियोजन गर्दा अन्याय भएको बताउनु भयो । उहाँले भन्नुभयो – भूगोल र जनसंख्यालाई आधार मानेर बैज्ञानिक ढङ्गले बजेट विनियोजन गर्नुपर्छ , अन्यथा विकट क्षेत्रका बासिन्दाले विकासको अनुभूति गर्न पाउने छैनन । पूर्व सभासद डिगबहादुर लिम्बूले कनिका छरेर बजेट विनियोजन गर्दा विकास निर्माणमा समस्या पर्ने बताउनु भयो र उहाँको भनाई थियो –‘२५ हजारको अङ्कमा बजेट छुट्ट्याउँदा कार्यकर्ता खुशी होलान तर कुनै पनि विकास निर्माण सम्पन्न हुँदैन । प्रदेश सभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले मोरङका प्रमुख पर्यटकीय क्षेत्र उत्तरी मोरङ मै रहेकोले तिनको विकासका लागि बजेट कमी भएको बताउनु भयो ।
लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको सभापतित्वमा भएको कार्यक्रममा उहाँले नगरमा फुसको छानो भएका सबै विपन्न परिवारका घरमा जस्तापाता उपलब्ध गर्ने घोषणा गर्नुभयो । सोही अवसरमा आज नै राई लगायतका अतिथिले वडा नं .१ का मानबहादुर लिम्बूलाई जस्तापाता प्रदान गरिएको छ ।