रु ६० मा एककिलो प्याज

काठमाडौँ / खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो थापाथली बिक्रीकक्षबाट प्रतिकेजी रु ६० मा प्याज सर्वसाधारणलाई बिक्रीवितरण गर्न शुरुआत गरेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्यलिई बिक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज बिक्री गर्न थालेको हो ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई प्रतिकेजी रु ६० मा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिएका छन् । उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको छ । “ हामीले प्याजको चर्को मूल्यमा बेच्ने व्यापारीबाट प्याज नियन्त्रणमा लिए आफै बेच्न थालेको हौ ”, उहाँले भने, “ एक जनालाई तीन किलोसम्म दिन थालेको छौ । ”

उनका अनुसार रु ५२ राजस्व र रु ८ खाद्य कम्पनीको खातामा जिम्मा गरिने छ । केही दिन अघि उपत्यकामा प्याजको मूल्य रु १२० सम्म पुगेको बताइएको छ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गरेका थिए । प्रजिअ दाहालले प्याजजस्तै चिनी लगायत अन्य खाद्यान्नमा कृत्रिम अभाव सिर्जना गरेर बजारमूल्य भन्दा बढी बिक्रीको पाइएमा हस्तक्षेप गरि आफैँ बिक्री गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया