मोरङ १ मा संसद विकास कोषबाट १९ वटा योजना छनौट

विराटनगर / संघीय सांसद क्षेत्र विकास कोष अन्र्तगत मोरङ क्षेत्र नम्बर १ मा १९ वटा योजना छनौट गरिएको छ । क्षेत्र विकास कोष सञ्चालन निर्देशिका अनुसार सडक, नदी नियन्त्रण एवं भौतिक पूर्वाधारका योजनाहरु छनोट गरिएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बताए । छनौटमा परेका योजनाहरुमा केराबारी गाउँपालिकामा केराबारी – सिंदुरे समला पार्टी गाउँ सडक स्तरोन्नतिका लागि ५० लाख, फाईवा– फुर्केटार सडक निर्माणका लागि १४ लाख, लोहन्द्रा नदी तटबन्धका लागि १५ लाख , साँघुटार खोला कल्भर्ट निर्माणका लागि ११ लाख, खदम क्याम्पसको भौतिक निर्माणका लागि १० लाख बिनियोजन गरिएको छ ।

यसैगरी लेटाङ नगरपालिकामा बुद्ध मार्ग घिमिरे टोलदेखी धराने चोकसम्मको सडक कालोपत्रका लागि ५० लाख , तछुवा खानेपानी योजनाका लागि २५ लाख, लेटाङ बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि १५ लाख र चिसाङ गंगाघाट मलामी बिश्राम निर्माणका लागि १० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

मिक्लाजुङ गाउँपालिकामा मधुमल्ला बजारको तल्लोभागबाट बयरडाँगी सडक स्तरोन्नतिका लागि ५० लाख, बेलटारबाट कोलुङ झरना जाने सडक स्तरोन्नतिका लागि १० लाख, संगम चोक –तोरीबारी सडक कालोपत्रका लागि १५ लाख, सैनिक क्याम्प हात्तीमारा – चौतारा सडक स्तरोन्नतिका लागि १५ लाख र नाईटेपानी सामुदायिक बन छेउ ड्रेन निर्माणसहित सडक स्तरोन्नतिका लागि १० लाख बिनियोजन गरिएको छ ।

यसैगरी उर्लाबारी नगरपालिकामा उर्लाबारी –८ र ९ दुर्गापुरी बजार पूर्व वडा कार्यालयसम्म र पश्चिमतर्फ रातेहोली कल्भर्टसम्म कालोपत्रे गर्न ५० लाख, बेतिनी सिमसार भौतिक पूर्वाधार निर्माणका लागि १५ लाख, उर्लाबारी बहुमुखी क्याम्पस भौतिक निर्माणका लागि १० लाख, उर्लाबारी –४ शान्तिमार्ग साझेदारी सडक कालोपत्रका लागि १५ लाख र उर्लाबारी –४ छाताचोक पश्चिम साझेदारी ड्रेन निर्माणका लागि १० लाख बिनियोजन गरिएको मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले जानकारी दिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया