मिर्गाैला बिक्री गर्ने रुद्राक्ष खेतीतर्फ

काभ्रेपलाञ्चोक / पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असार महीना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोप्नुभयो । अहिले उहाँको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ । घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा मिर्गाैला बिक्री गर्नुभएकी नाम बनाउन नचाहने ती महिलाले आम्दानीका लागि रुद्राक्षखेती गर्नुुभएको हो । उहाँ भन्नुहुन्छ, “जीवनमै एकपटक ठूलो गल्ती गरियो, अव रुद्राक्षखेती गरेर घरव्यबहार टार्नेछु ।”

गाउँमै रुद्राक्षको बिरुवा ल्याएका व्यापारीसँग उहाँले प्रतिबोट रु ७५ मा किन्नुभएको हो । “अव अरु २५ बोट थप रुद्राक्षका बिरुवा रोप्ने विचार गर्दैछु” ती महिला भन्नुुहन्छ, “गाउँका हुनेखानेले रुद्राक्ष रोपेर राम्रो आम्दानी गरेको देखेपछि आफू पनि यो खेतीमा लागेकी हूँ ।” उहाँकै सल्लाहमा मिर्गाैला बिक्री गर्नुभएका एक छिमेकी पुरुषले पनि बारीमा २० बोट रुद्राक्ष रोप्नुभएको छ । खेत छैन, बारीमा राम्रोसँग मकै पनि फल्दैन, अब रुद्राक्षबाट केही कमाइएला की भन्ने आशा पलाएको उहाँ सुुनाउनुहुन्छ । आम्दानीको स्रोत पहिल्याउन नसक्दा मिर्गाैला बिक्री गरेर आफूले घातक काम गरेको ती पुरुषको पनि दुःखेसो छ ।

अहिले यो गाउँका मिर्गाैला बिक्री गर्ने १३ जनाले रुद्राक्षखेती थालेका छन् । चार वर्षअघि बिरुवा रोपेका तीन जनाको रुद्राक्ष फल्न शुरु भएको छ । त्यसपछि रोप्नेका रुद्राक्षको बोट हुर्कँदैछ । होक्से र भुम्लुका साथै दोलालघाटका बासिन्दाले पाँच वर्षअघि नमूनाका रुपमा यो खेती थालेकामा मिर्गाैला बिक्री गर्नेहरु पनि अबको केही वर्षमै रुद्राक्षले घरव्यबहार थेग्नेमा विश्वस्त छन् । मिर्गाैला बेचेर आफ्नो स्वास्थ्यका साथै घरव्यवहार बिग्रदै गएपछि अघिकांश उनीहरू रक्सीले पीडा भुलाउने गर्थे । ‘आम्दानीको दरिलो स्रोत भेट्टायौँ, अब दायाँबायाँ लाग्दैनौँ’ मिर्गाैला बिक्री गरेका हाक्सेकै अर्का एक पुरुष भन्नुहुन्छ, “अब हामी यहीखेती गरेर जीविकोपार्जन गर्छौँ ।” उहाँ मिर्गाैला बिक्री गरेका अन्यलाई पनि रुद्राक्ष खेतीगर्न सल्लाह दिँदैजाने बताउनुहुन्छ ।

स्थानीय समाजसेवी हरिप्रसाद सापकोटा मिर्गाैला बिक्री गर्ने केहीलाई आफूले पनि रुद्राक्षखेती गर्न सल्लाह दिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चार वर्षअघि रुद्राक्ष रोप्नेको अहिले उत्पादन शुरु भएको छ ।” सामाजसेवी सापकोटाका अनुसार एक पाथी रुद्राक्षको रु ३०० मा गाउँमै व्यापारीले किन्ने गरेका छन् । सोही नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकाल पनि मिर्गाैला बिक्री गर्नेका परिवारलाई थप आम्दानी गराउने उद्देश्यले मौरीका घार वितरण गरिएको जानकारी दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाललाई प्रतिघर एक घार वितरण गरिएको छ, क्रमैसँग प्रतिघर पाँचवटासम्म पु¥याउने लक्ष्य राखिएको छ ।”

आठ दश वर्ष पहिले रुद्राक्ष रोपेका होक्सेका बासिन्दाले वार्षिक १० हजार किलो रुद्राक्षका दाना पशुपति क्षेत्रमा बिक्री गर्दै आएको स्थानीयवासी राममाया तामाङ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दुई बोटले मात्रै वर्षमा रू २० हजारसम्म आम्दानी दिन्छ ।” बजारमा एकमुखे, आठमुखे र ११ मुखे रुद्राक्ष बहुमूल्य मानिन्छ । एक गैरसरकारी संस्थाको तथ्याङ्कअनुसार केही वर्षअघिसम्म होक्सेका २१४ तथा मण्डनदेउपुर नपास्थित ज्याम्दीका ५६ जनाले आफ्ना एउटा मिर्गाैला दलालमार्फत भारतमा गएर बिक्री गरेका थिए । केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देश–विदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकबाट २५ वर्ष अघिदेखि मिर्गाैला बिक्री हुनथालेको घटनाक्रमले देखाएको छ ।

साविक होक्से गाविस–१ स्थित एक ठकुरी परिवारका सात जनाले नै मिर्गाैला बिक्री गरेपछि २०६८ सालमा उनीहरूले गाउँ नै छाडेका थिए । विसं २०७० वैशाखमा मिर्गाैला तस्करीमा संलग्न १० जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्रेपछि यहाँबाट मिर्गाैला तस्करी रोकिँदै गएको हो ।

तपाईको प्रतिक्रिया

Loading…