मासिक ७५ हजार कमाउँछन् ‘चटपटे बाजे’

धेरैजसो मानिसले बुढ्यौलीलाई अभिशाप ठान्छन् । सक्रिय जीवन बिताउन चाहँदैनन् । साठी वर्ष कटेपछि अब मैले के गर्न सक्छु र भन्ने हिनताबोधले ग्रस्त भएर छोराछोरी र परिवारको भर पर्छन् । तर, म्याग्दीका ७० वर्षीय एक वृद्धले छोराछोरी र आफन्तहरुको कुनै आश नगरी तीन हजार रुपैयाँको लगानी जुन व्यवसाय शुरु गर्नुभयो त्यसले अहिले उहाँलाई मासिक रु ७५ हजार आम्दानी जुटाइदिन्छ ।

बिहान उज्यालो भएदेखि राति १० बजेसम्म चनाचटपटे बनाउन भ्याइनभ्याई हुन्छ म्याग्दीका ७० वर्षीय लालबहादुर पुर्जा र उहाँकी श्रीमती ६५ वर्षीया लीलामती पुर्जालाई ।

बेनी बजारको मंगलाघाटमा २०६७ सालदेखि चनाचटेपटेको व्यवसाय शुरु गर्नुभएका पुर्जा दम्पतीले चनाचटपटेसँगै कुखुराको टाउको र खुट्टा तारेर बिक्री गर्दै आउनुभएको छ । अमिलो, पिरो र स्वादिलो चनाचटपटेसँगै कुखुराको टाउको र खुट्टाका परिकार बेचेर नै मासिक रुपमा रु ७५ हजार भन्दा बढी कमाइ हुने बताउने पुर्जा दम्पतीको संसार अनि, सम्पत्ति दुबै बनेको छ, चटपटे व्यवसाय ।

“मैले जिन्दगीमा खानुसम्मको हण्डर खाएँ, केही शीप नलागेर आत्महत्या गर्नेसम्मको विचार गरें,” आफ्नो अतितलाई सम्झँदै सफलताको कुटुरो फुकाउन शुरु गर्नुभयो हँसिँला र रसिला पुर्जाले । आफ्नो विगतको विरसिला कुराहरु सुनाइरहँदा पुर्जाकी श्रीमती लीलामती आडैमा बसेर आँसु पुछिरहनुभएको थियो ।

सत्र वर्षको उमेरमा आफ्नो गाउँ म्याग्दीको कुहूँ थाइबाङबाट गरीबीका कारण लखेटिएर भारतका विभिन्न शहरहरुमा चौकीदारी र मजदूरी गर्दा पनि परिवार पाल्न नसकेपछि आत्महत्या गर्ने मनस्थितिमा पुग्नुभएका पुर्जाको जीवन अहिले रहरलाग्दो बनेको छ । परिवार पाल्न पुग्ने कमाइ नभएपछि नेपाल फर्कनुभएका पुर्जाले बेनी बजारकै एउटा निजी विद्यालयमा ढोकापालेको काम गर्नुभयो । त्यहाँबाट पनि सन्तुष्ट हुन नसकेपछि उहाँले शुरु गर्नुभयो चनाचटपटे व्यवसाय ।

“मैले बोर्डिङका सञ्चालकलाई ५०० रुपैयाँ तलब बढाइदिन भनें,” चनाचटपटे व्यवसाय शुरु गर्दाका दिनहरु सम्झँदै पुर्जाले भन्नुभयो – “उहाँ (बोर्डिङ सञ्चालक) ले नबढाइदिए पछि त्यसैको झोंकमा आफन्तसँग तीन हजार रुपैयाँ सापटी लिएर यो व्यवसाय शुरु गरेको हुँ ।” यसरी तीन हजार रुपैयाँबाट शुरु गरेको उहाँको व्यवसाय अहिले फलेफुलेको छ ।

पुर्जालाई उहाँका ग्राहकहरुले ‘चटपटे बाजे’ भनेर सम्बोधन गर्छन् । हँसिला, फरासिला र रसिला पुर्जाले आफ्ना ग्राहकहरुलाई स्वादिलो चनाचटपटे मात्र खुवाउनु हुन्न, रसिला कुराहरु गरेर पेट मिचिमिचि हँसाउनु पनि हुन्छ ।

‘बाजे नमस्कार’ भन्दै पसलमा आउने ग्राहकहरुलाई नमस्कार फर्काउँदै चनाचटपटे बनाउन व्यस्त हुनुहुन्छ पुर्जा । उहाँकी श्रीमती लीलामती कुखुराको टाउको र खुट्टा भ्ट्नु थाल्नुहुन्छ । ग्राहकलाई देख्ने बित्तिकै उनीहरुलाई के चाहिन्छ भन्ने कुरा बुझिसक्नु हुने पुर्जा फटाफट चटपटे बनाएर प्लेटमा राखिदिँदै पैसा उठाउन थाल्नुहुन्छ । मुख र हात सँगसँगै चलाउने पुर्जाका कुरा सुन्दै हाँस्दै ग्राहकहरु खान थाल्छन् स्वादिलो चटपटे र कुखुराका परिकार ।

म्ांगलाघाटमा एउटा घरको सटर भाडामा लिएर पुर्जाले चनाचटपटेको पसल चलाउनुभएको छ । मासिक रु तीन हजार भाडा तिरेर सञ्चालन गरेको सो पसलमा बिहानदेखि राति १० बजेसम्म ग्राहकहरुको भीड लाग्छ । बस्ने ठाउँ भरिएपछि कतिपय ग्राहकहरुले उठीउठी नै खाने गर्छन् भने कतिपयलाई आधा घण्टासम्म पालो कुर्नुपर्छ ।

चनाचटपटे किन्न आधा घण्टाभन्दा बढी प्रतीक्षा गरिरहेकी जमुना श्रीषले यहाँ जतिको स्वादिलो चटपटे अरु कुनै ठाउँको पनि नहुने भएकाले पालो कुरेर बसेको बताउनुभयो । पुर्जा आलु, प्याज, धनियाँ, कागती, खुर्जानी, भुजा, पेस्ता र बदाम मिलाएर चटपटे बनाउने गर्नुहुन्छ । अरु ठाउँको भन्दा बेग्लै स्वाद र धेरै पनि पाइने भएकाले यहाँ दिनहुँ ग्राहकको भीड लाग्ने स्थानीयवासी धनु बानियाँले बताउनुभयो ।

पुर्जाले रु २० देखि १५० सम्मको प्रतिप्लेट चटपटे बेच्नु हुन्छ । सामान्य चटपटे प्रतिप्लेट रु २० मा पाइन्छ भने कुखुराको खुट्टा र टाउको सँगैको चटपटेलाई १५० रुपैयाँ लिनुहुन्छ । दश वर्ष अघि बिहान खाए साँझ के खाउँ भन्ने अवस्थाका पुर्जा पछिल्लो दश वर्षको अवधिमा चनाचटपटे बेचेर नै लाखौं सम्पत्तिको मालिक बन्नुभएको छ । चार तोला सुनका औंठी र सिक्री झल्काउँदै फटाफट चटपटे बनाउने पुर्जाको कमाइ देखेर कतिपय मानिस हेरेको हेर्‍यै हुने गर्छन् । बेनीका बैंक तथा वित्तीय संस्थाहरुमा बचत गर्नुका साथै सार्‍हो गार्‍हो परेकाहरुलाई आर्थिक सहयोगसमेत गर्दै आउनुभएको छ उहाँ ।

तीन छोरा र दुई छोरीका बुबा पुर्जाले कहिल्यै पनि छोराछोरीको आश नगरेको बताउनुभयो । उहाँले भन्नुभयो – “हातखुट्टा चलुञ्जेलसम्म यही व्यवसाय गर्छु । मलाई यसैमा मस्ती छ ।”

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…