माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालियो, सचेत रहन अपिल

काठमाडौ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले दोलखाको लामाबगर पुगेर सुरुङमा एकसाथ पानी पठाउने कार्यको शुभारम्भ गरे ।

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो ।

मुख्य निर्माण अन्तर्गत बाँध–इन्टेक, मुख्य सुरुङ, विद्युत गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाल श्रेष्ठका अनुसार सुरुङको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ । पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ ।

यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६–६ वटा टर्वाइन र जेनेरेटरहरुको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ ।

चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनामा ७६–७६ मेगावाटका ६ वटा युनिटहरु रहेका छन् । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ । पानी माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङ पानी भर्ने क्रममा कुनै प्राविधिक त्रुटी हुन पुगे बाँध टुट्न सक्नेछ । यस्तो अवस्थामा नदीमा पानीको बहाव बढ्नेछ ।

यसैले खोला आसपासका बस्तिहरुलाई सचेत रहन अपिल गरिएको छ । त्यस्तो असर देखिने सम्भावना छैन । तरपनि प्राविधिक कुरा केही भइहाल्यो भने भनेर प्रभावित क्षेत्रमा सूचना जारी गर्ने प्रचलन छ । यसैका लागि यो सूचना जारी गरिएको हो आयोजनाका अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया