माघे संक्रान्तिमा खाइने तरुल यस वर्ष सस्तियाे


यस वर्षको माघे संक्रान्तिमा काठमाडौंमा तरुलको मूल्य सस्तिएको छ । माग भन्दा बढि तरुल बजारमा भित्रिएपछि यस वर्ष गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । माघे संक्रान्तिलाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ । यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले जानकारी दिए ।

गत वर्ष विकास समितिले ६ सय टन तरुल माघे संक्रान्तिका लागि भित्र्याएकोमा यस वर्ष साँढे ९ सय टन भित्रयाएको छ । स्टक रहने डरले पनि धेरै भित्रिएकाले यस वर्ष तरुल सस्तोमा बिक्री गर्नु परेको पनि उपनिर्देशक श्रेष्ठले बताए । व्यापारीहरुले फेरी स्टक रहने डरले पनि तरुलको मूल्य बढाउन नचाहेको पनि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

बजारमा यो वर्ष सिमल तरुल सबैभन्दा बढि प्रतिकेजी मूल्य ३०० सयमा बिक्री भएको छ । त्यसैगरी तरुल प्रतिकेजी ५० रुपैयाँ, हात्ति पाईले तरुल बढिमा १ सय २० रुपैयाँमा बिक्री भईरहेको छ । गत वर्ष यो तरुल प्रतिकेजी ३ सय ५० रुपैयाँ भन्दा बढिमा बिक्री भएको पनि विकास समितिका उपनिर्देशक श्रेष्ठले बताए । बजारमा घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल पनि भित्रिएको छ ।

याे वर्ष सबैभन्दा बढि तरुल सर्लाही जिल्लाबाट काठमाडौ भित्रिएको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार यस वर्ष माघे संक्रान्तिलाई लक्षित गरेर पिडाँलू १ सय ३० टन, सक्करखण्ड १ सय ५० टन भित्रिएको छ । सर्लाही, सुनसरी, धरान, चितवन र धादिङबाट यस वर्ष तरुल काठमाडौं भित्रयाइएको हो ।

हरेक वर्ष पुस महिनामा सबैभन्दा बढि तरुल विक्री हुने गर्दछ । माघे संक्रान्तिलाई तरुलको संक्रान्तिको रुपमा लिने भएकाले यस समयमा तरुलको विक्री अत्याधिक हुने गरेको हो । माघे संक्रान्तिकै अवसर पारेर अत्याधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यवसायिक खेती पनि सुरु गरिएको छ । माघ संक्रान्तिमा तरुल खाएपछि चिसो आफै हटेर जाने जनविश्वास पनि रही आएको छ ।

तपाईको प्रतिक्रिया