मह बिक्री नभएपछि कृषकलाई चिन्ता

रामपुर / वर्षेनी मह बेचेर राम्रो कमाइ गर्ने पाल्पा बगनासकाली गाउँपालिका– ८ बस्ने पशुपति बस्यालले यस पटक भने बन्दाबन्दीका कारण मह बिक्री गर्न गर्न पाउनुभएको छैन । उत्पादित करीब पाँच सय किलो मह फार्ममा नै रोकिएपछि कहिले बन्दाबन्दी खुल्छ भन्ने चिन्ताले उहाँलाई सताएको छ । हिमाली बी कन्स्ट्रक्सन फार्म दर्ता गरी विसं २०५२ देखि बस्यालले व्यावसायिक रुपमा मौरीपालन गर्दै आउनुभएको छ । उहाँको फार्ममा हाल ३८८ आधुनिक घार छ । यी घारबाट वर्षमा करीब आठदेखि दश क्वीन्टलसम्म मह उत्पादन हुन्छ ।“उत्पादित मह बेच्न पाइएको छैन, बन्दाबन्दी कहिलेसम्म हुने हो निश्चित छैन, न घार बिक्छ न मह नै, हामी व्यवसायी मारमा परेका छौँ”, बस्यालले गुनासो पोख्नुभयो ।

बजारमा हाल प्रतिकिलो रु ८०० मा मह बिक्री हुने गरेको छ । यहाँ उत्पादित मह र घार पाल्पा, स्याङ्गजा, तनहुँ, नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही, सल्यान, रुकुम, गोरखालगायत जिल्लामा खपत हँुदै आएको छ । बन्दाबन्दीले उत्पादित मह र गोला नबिक्दा व्यवसायीलाई फार्म सञ्चालन गर्न समस्या परेको उहाँको भनाइ छ । उहाँ दुई पटकसम्म गाउँपालिकाले उपलब्ध गराएको सवारी पास लिएर विभिन्न ठाउँमा मह लिएर जानुभयो तर जान नपाएपछि फर्किनु परेको बताउनुभयो । बस्यालले चार कामदार राखेर व्यवसाय चलाउनुभएको छ ।

बगनासकाली गाउँपालिका क्षेत्रमा मात्र व्यावसायिक रुपमा मौरीपालन गर्ने कृषक २० जना छन् । गाउँपालिकालाई मौरी गाउँका रुपमा विकास गर्ने गरी ७५ प्रतिशत कृषकका घरमा कम्ती एक घार मौरीपालन गरिएको कृषि शाखा प्रमुख राजेश बोहरा बताउनुहुन्छ । यहाँका वडा नं १ चिर्तुङ्गधारा, ७ को खानीगाउँ र ८ का बराङ्गदी क्षेत्र मौरीको पकेट क्षेत्र हुन् । यस वर्ष गाउँ कार्यपालिकाको पाँचौँ गाउँसभाबाट स्वीकृत कृषि कार्यक्रमअन्तर्गत मौरी गोला, खाली मौरीघार, मौरीजन्य सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । सोअन्तर्गत २३ मौरी गोलाघार र ४२ खाली घारलगायत मौरीजन्य सामग्री वितरण गरिएको हो ।

बगनासकालीलाई मौरी गाउँका रूपमा चिनाउन विगत वर्षदेखि नै मौरीसम्बधी विभिन्न अनुदानका कार्यक्रममार्फत कृषकलाई मौरी पेशाप्रति ंसंलग्न हुन प्रेरित गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउनुहुन्छ । मौरीघार बिक्री गरेर वर्षमा रु दश लाख बराबरको कमाइ गर्ने रामपुर नगरपालिका ६ स्थित न्यौपाने मौरी उद्योगमा यस वर्ष बिक्री गर्न तयारी अवस्थामा रहेका गोलासहित ६० घार र खाली घार १५० छन् । बन्दाबन्दीका असरले बिक्री नहुँदा करीब रु दश लाख जति नोक्सान हुने अनुमान गरिएको सञ्चालक हुमनाथ न्यौपाने बताउनुहुन्छ उहाँके उद्योगमा पाँच जनाले रोजगार पाएका थिए तर अहिले बन्दाबन्दी भएपछि घर फर्किएका छन् । रामपुर क्षेत्रमा हाल व्यावसायिक तवरले मौरीपालन गर्ने कृषक २० जना रहेकामध्ये कम्तीमा पाँच देखि बढीमा ५० घारसम्म व्यवसाय गर्ने रहेको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो ।

यस वर्ष शाखा कार्यालयबाट मौरीपालनसम्बन्धी कार्यक्रम समेटिएको छैन तर वडा नं १ मा वडाको बजेटमा अनुदानमा मौरीघार वितरण गर्ने कार्यक्रम भने तय गरिएको छ । नगरका वडा नं १, २ र ७ को माथिल्लो भेग मौरीपालनका लागि उपयुक्त क्षेत्र हुन् । निस्दी गाउँपालिकामा पनि पछिल्लो समय मौरीपालन व्यवसायमा कृषक आकर्षित हँुदै गएका छन् । तीन वर्षदेखि यस व्यवसायमा लाग्नुभएका निस्दी ६ अर्चलेका ठाकुर सिङ्जाली व्यवसाय विस्तार गर्न २० घार थप्ने योजना बनाउनुभए पनि घार खरीद गरेर ल्याउन नपाएको गुनासो गर्नुहुन्छ । उहाँको फार्ममा हाल २२ आधुनिक घार छन् । उहाँ वर्षमा रु ६० हजारको मह बिक्री गर्नुहुन्छ ।

गाउँपालिकाका वडा नं २ सहलकोटमा १३, वडा नं ३ को झिरुवासमा सात, ५ को गल्धामा पाँच र ६ को अर्चलेमा दुई कृषक व्यावसायिक तवरबाट मौरीपालनमा लागेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउनुहुन्छ । डाँडाभेग क्षेत्र मौरीपालनका लागि सम्भावना बोकेको हुँदा पछिल्लो समय यहाँका कृषक उत्साहका साथ व्यवसायमा लागेको अवस्थामा घार खरीद गरेर घरमा ल्याउन नपाएपछि चिन्तामा रहेको कोइरालाको भनाइ छ । मह र घार बिक्री गरेर कृषकले राम्रो कमाउन सकिने र स्थानीय तहले अनुदानमा घार उपलब्ध गराउन थालेपछि जिल्लामा मौरीपालन व्यवसायमा कृषकको आकर्षण बढ्दो रहेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताउनुभयो ।

लोप भयो ‘घैया’ धान

कुनै समय ‘घैया’ धान फल्ने पाल्पाका जग्गा अहिले वनमाराले भरिएका छन् । सिँचाइको सुविधा नपुगेका पाखोबारीमा घैया धान लगाएर जीवन गुजारा चलाउने कृषकले अहिले यो धान लगाउन छाडिसकेका छन् । विशेषगरी मकै बालीभित्र वैशाखजेठमा घैया धान छर्ने र त्यसैबाट वर्षदिनको धान उत्पादन गरी जीविका चलाउने यहाँका कृषकले घैया धान लगाउनै छाडेपछि अहिले जिल्लाबाटै हराउँदै गएको छ ।

सिँचाइ सुविधा नपुगेको पाखोबारी तथा खेतमा गरिँदै आएको छरुवा धान ‘घैया’ समयको परिवर्तनसँगै विभिन्न कारणले जिल्लाबाटै लोप हुँदै गएको हो । रामपुर –ं ८ दध्राका ५५ वर्षीय चक्रबहादुर पुलामी आजभन्दा दुई दशक अघिसम्म घैया धान लगाउने गर्नुहुन्थ्यो । “बारीका पाटाभरी घैया धान लगाएर हरियाली बनाइन्थ्यो, उत्पादन पनि राम्रै हुन्थ्यो, जमीन कतै बाँझो राखिएन, अहिले भने जमीन बाँझिएर वनमाराले भरिएका छन्”, पुलामीले भन्नुभयो ।
घैया धानको चामल खाँदा बास्ना आउने र स्वादिलो हुने भए पनि गाउँघरबाट लोप हुँदै गएपछि पछिल्लो पुस्ता यस खेतीप्रति अनभिज्ञ छन् ।
गाउँगाउँमा विभिन्न सुविधा पुगेसँंगै खेती प्रणालीमा पनि परिवर्तन आउने क्रममा घैया धानको सट्टा सिँचाइ पुगेका क्षेत्रमा वर्षेधान, विभिन्न अन्नबाली, तरकारी खेती गर्न थालिएको रामपुरका मनोरथ भट्टराई बताउनुहुन्छ ।

आकाशेपानीका भरमा यस्तो धान खेती गर्नुपर्ने भएकाले मौसम अनुकूल नहुने र मलखादको पनि राम्रो व्यवस्था नभएकाले घैया धान लोप हँुदै गएको हो । पहिले सिँचाइ सुविधा नपुगेका जमीनमा घैया लगाउने गरिए पनि हिजोआज सुविधा पुगेपछि वर्षे धानबाली लगाउन थालिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख अर्यालले बताउनुभयो । जिल्लामा स्थानीय असली घैयाको जात नै लोप भइसकेको छ भने नयाँ प्रजातिका धान भित्रिएका छन् । घैया १, घैया २, हर्दिनाथलगायत छरुवा जातको विकासे धान सिँचाइ सुविधा नपुगेका क्षेत्रमा लगाउने गरिन्थ्यो ।

तपाईको प्रतिक्रिया