भोजपुरमा दुई हजार बढी उद्योग दर्ता, चार हजार रोजगार

भोजपुर / जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गरेर व्यावसाय गर्नेको संख्यामा बृद्धि भएको छ । सरकारको तर्फबाट कृषि क्षेत्रमा विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालनमा आएसंगै व्यवसायमा लाग्नेको संख्यामा बृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालय भोजपुरले जनाएको छ ।
जिल्लाभर हाल सम्म दुई हजार १४७ ओटा साना तथा घरेलु उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्ष मात्र ३३४ वटा उद्योग तथा फर्महरु दर्ता भएका छन् भने वाणिज्य तर्फ ४१७ फर्म दर्ता भएको कार्यालयको भनाइ छ ।

विभिन्न खाले उद्योगबाट दुई हजार २६९ जना पुरुष र एक हजार ८९१ महिला गरि जम्मा चार हजार १६० जनाले रोजगारी पाएको घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका निमित्त प्रमुख प्रेम बुढाथोकीले जानकारी दिए । समुदाय स्तरमा विभिन्न खोल तालिमसंगै कार्यक्रम सञ्चालन गरेपछि उद्योग तथा फर्म दर्ता गरेर व्यवसायमा लाग्नेको संख्यामा बृद्धि भएको उनको भनाइ छ । निमित्त प्रमुख बुढाथोकीले भने‘ पछिल्लो समय जिल्लामा उद्योग व्यवसायमा लाग्नेको संख्यामा बृद्धि हुँदै गएको छ, व्यवसाय गरेर धेरै जना स्वरोजगार समेत बनेका छन् ।’कार्यालयका अनुसार दर्ता भएका फर्म मध्ये सबै भन्दा बढी कृषि तथा बन जन्य रहेको कार्यालयको भनाइ छ । गत आर्थिक वर्षमा निजी फर्म ३२६ साझेदारी फर्म ६ र २ ओटा कम्पनी दर्ता भएका छन् । जसमा घरेलु उद्योग २, साना उद्योग ५५ र लघु उद्यम २७७ रहेका छन् । दर्ता भएका मध्ये उत्पादन मुलक ६ , सेवा मुलक ४३., कृषि तथा पशुजन्य २८१, निर्माणका ४ रहेका छन् । सवै खाले उद्योगमा पुरुष २६६ र महिला ७२ गरी ३३८ जना उद्यमी संलग्न रहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा जिल्लामा उद्योगमा रु. १९ करोड ५३ लाख ८५ हजार बराबर लगानी भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा धातुकला सम्वन्धी , कृषि तथा पशुपालन, पर्यटनसंग सम्वन्धीत, मौरीपालन सम्वन्धी, फलफुलत खेति तथा प्रशोधन, राडीपाखी तथा ऊनजन्य, ढाका तयारी पोशाक, खुकुरी तथा कृषि औजार सम्वन्धी उद्योग बढी मात्रामा सञ्चालनमा रहेका छन् । कार्यालयले उद्यमशिलता विकास तर्फ, ढाका वुनाई, वाँसको फर्निचर बनाउने तालिम, हाउस वाएरिङ, बेकरी सम्बन्धी तालिम, पशुपालन सम्बन्धी तालिम, कुक तालिम लगाएत गरि ८ ओटा तालिम सञ्चालन गरेको छ । जसबाट १६३ जना लाभान्वित भएका छन् ।

त्यस्तै कार्यालयले १०६ जना लघु घरेलु तथा साना उद्यमीलाई उपयुक्त प्राविधि अन्र्तगत माग आवश्यकता र सम्भाव्यताको आधारमा हाते मिल, मिनि ट्रिलर, ब्रस कटर, चाफ कट्र, डि. फ्रिज, ग्राईन्डर मेसिन लगायतका औजार हस्तान्तरण गर्दै आएको छ ।कार्यालयले गरिविनिवारणका लागि लघु उद्यम विकास कार्यक्रम तर्फ जिल्लाका नौ वटै स्थानिय तहमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यालयले ग्रामीण बिकासका लागी मितेरी नेपाल भोजपुर र सामुदायिक बिकास तथा परिवर्तन केन्द्र, धनकुटाको सहकार्यमा करिब रु. ८८ लाख वराबरको कार्यक्रम सञ्चालन गरेको हो ।

जुन कार्यक्रमबाट जिल्लाभर १८३ महिला र १३६ पुरुष गरि ३१९ जना लाभान्वित भएका छन् । कार्यालयले प्रदान गरिने सेवा, उद्योग दर्ता तथा सञ्चालन गर्दा आवश्यक पर्ने कागजात, विवरण र ढाँचा, उद्योग गर्दाको प्रक्रिया लगाएत विषयमा स्थानीयलाई जानकारी दिँदै आएको छ । कार्यालयले गत आर्थिक वर्ष पूँजीगत तर्फ करीब ९३ प्रतिशत तथा समग्रमा करीव ६५ प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया