भेडापालन व्यवसाय संकटमा

कञ्चनपुर/ चरन क्षेत्रको अभाव भएपछि जिल्लामा भेडापालन व्यवसाय संकटमा परेको छ ।

खुला चौरमा चरन मनपराउने भेडाका लागि चरन क्षेत्रको अभाव भएको हो । राष्ट्रिय वन क्षेत्रमा रहेका चउर, सामुदायिक वनमा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका चउरमा भेडा चराउन नपाइने भएपछि भेडापालन व्यवसायमा लागेका व्यक्ति पलायन हुन थालेका छन् ।

निकुञ्ज र सामुदायिक वनले चउरको संरक्षण गरी वृक्षरोपण गरेपछि भेडा चराउने कार्य पूर्णरुपमा बन्द भएको छ । भारतीय बजारमा भेडाको ऊन र मासु विगतमा निर्यात हुँदै आएको भए पनि हाल भेडापालन व्यवसाय खस्किँदै गएकाले व्यापारमा निकै कमी आएको छ ।

विशेष थारु समुदायले भेडापालनलाई बढी जोड दिएको पाइन्छ । पिपलाडीका कल्छु चौधरीका अनुसार पहिले थारु समुदायका एउटै परिवारले २०० देखि ५०० सम्म भेडा पाल्ने गरेका थिए । उपयुक्त वातावरण नहँुदा देउतालाई चढाउनका लागि मात्र भेडापालन गर्ने चलन छ । हाल भेडापालन गर्दैआएका परिवारसँग मुस्किलले चारदेखि छवटासम्म भेडा रहेका छन् ।

भेडाको ऊन भारतीय व्यापारीले घरमै आएर लैजाने गरेका छन् । विगतमा भेडापालनमा लागेका परिवारले वार्षिकरुपमा रु ३० हजारदेखि रु ७० हजारसम्म कमाउने गर्दथे । स्थानीयवासी वीरबहादुर चौधरीले भन्नुभयो, “भेडाको संख्या घट्दै गएकाले भारतीय व्यापारी नआउँदा निकालिएको ऊनसमेत घरमै थन्क्याउन बाध्य छौँ ।” भेडाको मासुको मूल्य कम पाउँदा भेडापालन व्यवसाय छाडेर अन्य व्यवसाय अपनाउन थालेको उहाँको भनाइ छ ।

चरन क्षेत्र पर्याप्त नहुँदा भेडापालन व्यवसाय संकटमा परेको छ । भेडापालन व्यवसायले फड्को मार्न नसकेको पशु विकास कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले बताउनुभयो । सरकारी तवरबाट भेडापालनका लागि कुनै ठोस कार्यक्रम नल्याउनु र भेडाको मासु आम उपभोक्ताले नरुचाउने जस्ता कारणले समेत व्यवसाय संकटमा परेको हो । गत वर्ष भेडाको संख्या करिब आठ हजार रहेकोमा हाल उक्त संख्या घटेर छ हजार पुगेको छ ।

तपाईको प्रतिक्रिया