भारतबाटै मल किन्न किसान बाध्य सर्लाहीका किसान

सर्लाही । समयमा नै पर्याप्त मल नपाउँदा सर्लाहीका किसान चर्को मूल्य तिरेर भारतबाट मल ल्याउन बाध्य भएका छन् । सर्लाहीमा अहिले भारतबाट ल्याइएको रासायनिक मलको खुलेयाम किनबेच भइरहेको छ । सीमा क्षेत्रमा ३५० भारतीय रुपियाँमा पाइने ४५ किलोको एक बोरा युरिया मललाई यहाँ एक हजार एक सयदेखि एक हजार दुई सय रुपियाँ तिर्नु परेको किसानको गुनासो छ । जिल्ला सदरमुकाम मलङ्गवासहित ब्रह्मपुरी, पर्सा, हरिपूर्वा, चन्द्रनगर, ईश्वरपुरलगायत जिल्लाका अधिकांश क्षेत्रका किसानले चर्को मूल्य तिरेर भारतीय बजारबाट मल खरिद गरिरहेको हरिपूर्वा नगरपालिका–२, का किसान उमेश रायले गुनासो गर्नुभयो ।

धानमा मल हाल्न ढिलो भइसकेको छ, बजारमा कतै मल पाइँदैन ।सीमा क्षेत्रमा खटिने नेपाल तथा सशस्त्र प्रहरीकै मिलेमतोमा भारतीय बजारबाट मल नेपाल भित्रिने गरेको छ । सुरक्षाकर्मीले ठाउँ–ठाउँमै रोकेर पैसा लिने गरेकाले उनीहरूले उठाएको पैसा समेत जोडेर व्यापारीले मूल्य निर्धारण गर्दा किसान मारमा परेको स्थानीयवासीको भनाइ छ । सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज श्रेष्ठले किसानको समस्यालाई दृष्टिगत गरी आधा–एक बोरा मल ल्याउन दिइएको भए पनि व्यावसायिक हिसाबले भारतीय बजारबाट मल ल्याउन कडाइ गरिएको दाबी गर्नुभयो ।

उहाँले सशस्त्रले रकम असुलेर मल ल्याउन दिएको भन्ने आरोप झुठो रहेको दाबी गर्नुभयो । कृषि सामग्री कम्पनी लिमिटेड मलङ्गवाका प्रमुख बज्रमणि लामाले नेपाली बजारमा मल पर्याप्त वितरण गर्न नसक्दा किसान भारतीय बजारमा भर पर्न बाध्य भएको बताउनुभयो । कार्यालय प्रमुख लामाका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड मलङ्गवा शाखाले साउनमा १६० टन युरिया मल वितरण गरेको छ । मौज्दात नरहेकाले डीएपी मल भने वितरण गर्न नसकिएको कम्पनीले जनाएको छ

Attachments area

तपाईको प्रतिक्रिया

Loading…