बाली र पशुधन सुरक्षणबारे किसान अनभिज्ञ

झापा / पछिल्लो समय व्यावसायिक तरकारी तथा पशुपालनतर्फ किसानको आकर्षण बढ्दो छ । परम्परागत कृषि प्रणालीमा कृषकले सोचेजस्तो आम्दानी लिन नसकेपछि जिल्लाका धेरै कृषक अहिले व्यावसायिक तरकारी तथा पशुपालनतर्फ आर्कषित हुन थालेका हुन् ।

व्यावसायिक कृषि प्रणाली अपनाए पनि साना किसानले बाली र पशुको बीमा भने गर्दैनन् । कतिपय किसानलाई त पशु र बालीको पनि बीमा हुन्छ भन्ने ज्ञानसमेत छैन । सरकारले किसानको बाली र पशुधनको सुरक्षणसम्बन्धी कार्यविधि तयार गरेर कार्यक्रम लागू गर्दासमेत कृषकलाई सो विषयमा थाह नभएपछि पशु र बालीको सुरक्षणसम्बन्धी कृषि विकास बैंकले अहिले किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

बाली र पशुधनको सुरक्षणका विषयमा कृषि विकास बैंक शाखा कार्यालय बिर्तामोडले अहिले किसानको घरदैलोमा पुगेर जानकारी दिन शुरु गरेको छ । कार्यक्रमअन्तर्गत कूल पशुधन मूल्यको पाँच प्रतिशत बीमा प्रिमियम हुने र सो प्रिमियमको २५ प्रतिशत मात्र कृषकका तर्फबाट बुझाउनुपर्ने हुन्छ । बाँकी प्रिमियमको ७५ प्रतिशत कृषि विकास बैंकका तर्फबाट कृषकलाई उपलब्ध गराइन्छ ।

अचानक, भवितब्यबाट हुने कुनै पनि किसिमको दुर्घटना, प्राकृतिक प्रकोप वा प्रकृतिजन्य कारणबाट बाली तथा पशुधनमा हुने क्षतिलाई आर्थिक सुरक्षण दिन किसान लक्षित कार्यक्रम सञ्चालन भइरहेको कृषि विकास बैंकका बिर्तामोड शाखाका प्रबन्धक दीपक बराकोटीले बताउनुभयो । सरकारले सञ्चालन गरेको बाली तथा पशुधनको बीमा सुरक्षा अभियानअनुसार झापामा पनि यो अभियान शुरु भएको हो । उक्त अभियान झापाका लागि पहिलो भएको बराकोटीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया