बाटाे पुगे पछी, खच्चर व्यवसाय ओझेलमा

कालीकोट,  जिल्लामा ढुवानीको प्रमुख साधनका रुपमा लिइएको खच्चर व्यवसाय पछिल्लो समयमा ओझेलमा पर्दै गएको छ ।
रास्कोट क्षेत्र र पचालझरना गाउँपालिकासम्म यातायातको सुविधा भएपछि खच्चर व्यवसाय ओझेलमा परेको हो । कुनै समयमा स्थानीयले आफैँ बोक्ने भारी पछिल्लो समयमा खच्चरमा ढुवानी गर्न थालिएको थियो । खच्चर किन्नका लागि एक समयमा प्रतिस्पर्धा नै चल्थ्यो । तर अहिले खच्चर बिक्री गर्न प्रतिस्पर्धा हुने गरेको छ ।

खच्चर व्यवसायी यातायातका साधनप्रति आकर्षित हुन थालेका छन् । खच्चर व्यवसाय गर्दै आएका रास्कोट नगरपालिकाका सन्तोष रोकायले ट्रक खरिद गर्नुभएको छ । उहाँले गाडी पुग्न नसक्ने क्षेत्रमा भने पाँचवटा खच्चर कायमै राख्नुभएको छ ।
रास्कोट नगरपालिकाको शान्तिघाटदेखि स्युनाको सेराचौरसम्म १७ किलोमिटर सडकमा अहिले साना यातायातका साधन तथा ढुवानीका साधन सञ्चालनमा आएका छन् । स्थानीय दानबहादुर भण्डारी आफूहरुले कैलालीको चिसापानीबाट भारी बोकेको भए पनि खच्चरले सुविधा गराएको स्मरण गर्दै अहिले घरआँगनमा यातायातका साधन गुड्न थालेपछि सहज भएको बताउनुहुन्छ ।

रास्कोट नगरपालिकाको शान्तिघाटमा होटल व्यवसाय गर्दै आएका भण्डारी जस्तै अधिकांश व्यापारीलाई अहिले सहज भएको छ । “खच्चरमा खुद्रा सामान ल्याउँदा बिग्रिने गरेको थियो,” उहाँले भन्नुभयो । अहिले भाडा महँगो परे पनि सामान भनेको समयमा र सुरक्षित पुग्ने गरेको छ ।

यस्तै, पचालझरना गाउँपालिका–१ का वसन्त ऐडीले खच्चर बिक्री गरेर गाडी किन्ने तयारी गरिरहनुभएको छ । उहाँ चालकको तालीम लिनका लागि नेपालगञ्ज झर्नुभएको छ । उहाँले आफैँ सवारीचालक अनुमतिपत्र लिएर गाडी चलाउने तयारी गरिरहनुभएको छ ।

जिल्लामा रहेका खच्चर व्यवसायी अहिले मुगु, बाजुरा, हुम्लालगायत जिल्लामा आफ्नो व्यवसाय गरिरहेको स्थानीय खच्चर व्यवसायी कमल शाहीले बताउनुभयो । जिल्लामा अहिले खच्चरको संख्या तेब्बर घटेको छ । लामो समयदेखि खच्चर व्यवसाय गर्दै आउनुभएका खाँडाचक्र नगरपालिकाको बदालकोटका देवेन्द्र शाही खच्चर व्यवसायीले बाटोको लागि कठिनाइ हुँदा आफैँ रकम उठाएर बाटो बनाएर सामान ढुवानी गर्ने गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया