‘बाख्रा हब’को रुपमा विकसित हुँदै मौजा गाउँ, बाख्रापालनबाट वार्षिक ७० लाख

पोखरा / अघिकांश उत्पादनमा आयातमा निर्भर रहँदै आएको मुलुकको ग्रामीण क्षेत्रको वास्तविकतालाई चुनौती दिँदै यहाँको एउटा गाउँले बाख्रापालनबाट मात्रै वार्षिक रु ७० लाख भित्र्याउने गरेको छ । पोखरा महानगरपालिकामा रहेर पनि विकट रहेको मौजामा व्यावसायिक रुपमा शुरु बाख्रापालनबाट किसानले प्रत्येक वर्ष पोखरा बजार र आसपासमा खसी, बोका माहु बाख्रा बिक्री गरेर गाउँमा उक्त रकम भित्रिएका हुन् ।

प्रदेशको ‘बाख्रा हब’को रुपमा विकसित सो गाउँका ४६ जना किसानले व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएको मौजा बाख्रापालन कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिनुभयो । गाउँमा यतिखेर दुई हजार ७०० को सङ्ख्यामा बाख्रा रहेको बताउँदै उहाँले बाख्रा खरीद, खोर निर्माण र घाँसको व्यवस्थापनलगायतमा किसानको हालसम्म रु चार करोडभन्दा लगानी भइसकेको छ ।

जमुनापारी, खरी, सिनाल, बोयर, सानानलगायत विभिन्न जातका बाख्रालाई उन्नत जातको बेयर बोकाबाट प्रजनन गर्दै नश्ल सुधार गर्दै आएको बताउँदै उहाँले अहिले प्रजननका लागि जिउँदो बोयर बोका प्रति केजी एक हजार र अन्य बोकाको मासुको लागि रु ५०० का दरले बिक्री हुने गरेको बताउनुभयो । “उत्पादित खसी बोका बिक्री हुँदैन कि भन्नुपर्दैन, पोखरा बजारबाट खरीदका लागि व्यापारी खोरमै आउने गरेका छन्,” अध्यक्ष गुरुङले भन्नुभयो । उहाँका अनुसार सहकारीमा आवद्ध अन्य शेयर सदस्यलाई समेत व्यावसायिक बाख्रापालनमा प्रेरित गर्ने सोच अघि बढाइएको छ ।

खोरमा कम्तीमा पाँचवटा बाख्रा हुने किसानलाई सहकारीको शेयर सदस्य बनाउने मापदण्ड बनाइएको उल्लेख गर्दै उहाँले एउटै खोरमा साना ठूला गरी दुई सय वटासम्म बाख्रा पाल्ने किसान रहेको जानकारी दिनुभयो । घाँसमा आधारित बाख्रापालनलाई जोड दिँदै आइएकामा त्यसका लागि राइखनियो, दुदेलो, इपिलइपिल जस्ता विभिन्न जातका घाँससमेत उत्पादन गर्ने गरिएको छ । हिउँदको मौसमको लगभग छ महीना बाख्रालाई जङ्गलमा घाँस चराउनका लागि सामूहिक खोर निर्माण गरिएको छ ।

विदेश जानका लागि आफन्तसँग लिएको ऋणबाट १० वटा माहु बाख्रा खरीद गरेर शुरु गरेको बाख्रापालन फस्टाएर अहिले मौजा आँटिघरमा रहेको खोरमा १२५ वटा बाख्रा पुगेका छन् । खशी, बोका र माहु बाख्रा बिक्रीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँको भनाइ छ । स्थानीय बासिन्दा गोविन्द सापकोटाका अनुसार यतिखेर खोरमा साना ठूला गरेर दुई सय बाख्रा पुगेका छन्, खसी बोका बिक्रीबाट वार्षिक सात लाख भन्दा बढी आम्दानी हुने गरेको छ ।

सहकारीमार्पmत बाख्राका साथै मौसमी तथा बेमौसमी तरकारी खेती र व्यावसायिक भैँसी, लोकल कुखुरापालनमा जोड दिने तयारी गरिएको छ । व्यावसायिक कृषि एवं पशुपालनका लागि दक्ष प्राविधिक र उत्पादित वस्तु ढुवानीमा यातायात साधनको समस्या परेको दुखेसो उहाँले सुनाउनुभयो । मौजाकै हिराजङ्ग गुरुङले ११० वटा र टेकबहादुर गुरुङले ७० बाख्रा पाल्नु भएको छ । उहाँहरूले वार्षिक क्रमशः रु छ लाख र रु चार लाख आम्दानी गरी घर सञ्चालन गर्दै आएको रासससँग बताउनुभयो । बाख्रापालनमा सो क्षेत्रका युवाको पनि सक्रिय सहभागिता छ ।

स्थानीय जातका बाख्रालाई उन्नत जातको बोका दिएर गरिएको प्रजननबाट जन्मेका पाठापाठीबाट बढी उत्पादन हुने गरेको बताउँदै किसानले बाख्रामा अहिलेसम्म खासै रोग लागेको छ्रैन । जङगल र घरबारीमा लगायतको डाले घाँसले बाख्रापालनमा सहयोग पुगेको सामूहिक धारणा छ । पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङका अनुसार मौजालाई बाख्रा, भँैसी, कुखुरापालन र ताजा तरकारी उत्पादनको नमूना पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तह तीन वटै सरकारको सहयोग अपरिहार्य रहेको छ ।

सरकारबाट प्रदान गरिने अनुदान सर्वसुलभ तरिकाबाट वास्तविक किसानले पाउनुपर्नेमा जोड दिँदै उहाँले पशुपालन र कृषिका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन आप्mनोतर्पmबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाख्राको पकेट क्षेत्रमा सरकारी अनुदान

गण्डकी प्रदेश सरकारले मौजालाई बाख्राको पकेट क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ खोर र नश्ल सुधारका लागि किसानलाई रु २० लाख अनुदान प्रदान गरेको छ । सरकारबाट खोर सुधारका लागि रु १० लाख र बोयर जातको स्रोत केन्द्र निर्माणका लागि राष्ट्रिय पशु प्रजनन केन्द्र लामापाटन भेडीफर्मबाट तीन वटा बेयर जातका बोकासहित रु १० लाख बराबरको अनुदान प्राप्त भएको कृषि सहकारीका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

मुलुकमा भएको परिवर्तनसँगै सिंहदरबारको अधिकार घरघरमा भन्ने गरिए पनि सरकारबाट प्रदान गरिने अनुदान लिने प्रक्रिया झन्झटिलो भएको कारण अहिले पनि वास्तविक किसान पहुँचभन्दा टाँढा रहेको सामूहिक धारणा छ ।

PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…