बन्द विमान कम्पनीको बक्यौता असुल्न समस्या

सञ्चालनमा नरहेका र टाट पल्टेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु १३ करोड बक्यौता असुल गर्न कानूनी जटिलता देखिएको छ । बक्यौता तिर्न बाँकी निजी विमान कम्पनी टाट पल्टेको अवस्था वा बन्द भएमा बक्यौता असुल्न कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट समेत असुल्ने भन्नेमा कानूनी समस्या देखिएको हो ।

विमान कम्पनीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्ड हेण्डलिङ’ तथा अन्य सुविधा प्रयोग गरेबापत तिर्नुपर्ने सो बक्यौता उठाउन चुनौती देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको करीब रु दुई अर्ब बक्यौतामध्ये सञ्चालनमा नरहेका राष्ट्रिय विमान कम्पनीको करीब रु आठ करोड र सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीको करीब रु चार करोड बक्यौता असुल्न कानूनी समस्या देखिएको छ ।

प्राधिकरणका अनुसार सञ्चालनमा नरहेका कस्मिक एयरको तीन करोड ३३ लाख १२ हजार ९०६, नेकोन एयरको चार करोड ६३ लाख ८५ हजार ५३ र अन्य राष्ट्रिय विमान कम्पनीको रु ५० लाख छ हजार ५१५ बक्यौता रहेको छ । त्यस्तै सञ्चालनमा नरहेका अन्तर्राष्ट्रिय विमान कम्पनीमध्ये गल्फ एयरको दुई करोड २२ लाख १३ हजार ५४, किङ्ग फिसर एयरलाइन्सको एक करोड १५ लाख ९७ हजार ५६२ र अन्य अन्तर्राष्ट्रिय विमान कम्पनीको रु एक करोड ४६ लाख १५ हजार ८३८ बक्यौता रहेको महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश विमान कम्पनीको बक्यौता रकम असुल्न बाँकी छ, समितिको निर्देशनअनुसार बक्यौता असुली गर्दा अब रु दुई अर्ब बाँकी छ । समितिको निर्देशनअनुसार कार्ययोजना बनाई असुलीको प्रक्रियामा छाँै ।” कूल बक्यौतमध्ये अधिकांश रकम भर्खरै थपिएको रकम रहेको र त्यसमा कुनै समस्या नरहेको उल्लेख गर्दै महानिर्देशक गौतमले टाट पल्टेका र बन्द भएका विमान कम्पनीको बक्यौता असुल्न केही चुनौती देखिएको जानकारी गराउनुभयो । “निजी विमान कम्पनी भएकाले कम्पनीमा मात्र सीमित रहने हो कि सञ्चालकको व्यक्तिगत घरघरानाबाट असुल्न सकिने हो भन्ने विषयमा कानूनी सल्लाह गर्दैछौँ”, उहाँले भन्नुभयो ।

सो कानूनी समस्याका बारेमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले त्यस्ता कम्पनीलाई कालोसूचीमा राखी बक्यौता असुली कारवाही अघि बढाउन प्राधिकरणलाई निर्देशन दिएको समितिका सभापति भरतकुमार शाहले बताउनुभयो । समितिले विमानस्थलमा सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय÷अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी कार्यालय तथा विभिन्न निजी कक्षहरुको हालसम्मको बक्यौता रु एक अर्ब ९५ करोड ३० लाख ७३ हजार २२८ यथाशीघ्र असुल गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।
समितिको निर्देशनपछि प्राधिकरणले गत चैत १० गते असामी बक्यौता उठाउने कार्ययोजना तयार गरी असुली प्रक्रियामा लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…