बंगुर पालनबाट मनग्गे आम्दानी गर्दै यी ब्यबसायी

दाङ/ राप्ती गाउँपालिका–८ बराखुट्टीका ४५ वर्षीय चित्रबहादुर पुन व्यावसायिक रुपमा बङ्गुरपालन गरेर एक व्यवसायीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ ।

एक दशकदेखि सो पेशा अँगाल्नुभएका उहाँ अहिले दुई जनालाई रोजगारी दिनाका साथै वार्षिक रु छ लाख बचत गर्नुहुन्छ । पुन आजभोलि बङ्गुरका पाठापाठीलाई स्याहार गर्ने कार्यमा निकै व्यस्त देखिनुहुन्छ । बाह्र वर्ष पहिले एक गैरसरकारी संस्थामा जागीर रहनुभएका पुन भ्रमणमा गएका बेला पोखरा र चितवनमा व्यावसायिक बङ्गुरपालन देखेपछि आफू यो पेशातर्फ आकर्षित भएको बताउनहुन्छ । व्यावसायिक बङ्गुरपालनसम्बन्धी प्रेरणा पाएपछि आफूले सो व्यवसाय शुरु गरिएको उहाँको भनाइ छ । अहिले पुनले व्यावसायिक रुपमा पालेको बङ्गुरले उहाँलाई आर्थिक रुपमा समेत सक्षम बनाएको छ ।

शुरुमा पाँच बङ्गुरका पाठापाठीबाट बङ्गुरपालन शुरु गर्नुभएका पुनको फार्ममा हाल ६० माउ र ९० बङ्गुरका पाठापाठी छन् जसमा २० माउले बच्चा जन्माइसकेको र बाँकीले ४० बच्चा जन्माउने अवस्थामा रहेको पुनको भनाइ छ । शुरुमा रु २० हजारको लगानीमा शुरु गरिएको पुनको फार्ममा अहिले रु १० लाखभन्दा बढीका बङ्गुरका पाठापाठी र माउ छन् ।

पुनले बराखुट्टी चोकमा बङ्गुर फार्मको सूचनापाटी राखी चोकदेखि करीब एक सय मिटर उत्तरतर्फ अत्यन्तै व्यवस्थित फार्म सञ्चालन गर्नुभएको छ । पुनले अहिले बङ्गुर फार्मबाट मासिक खर्च कटाएर रु ५०÷६० हजार नाफा गर्ने गरेको बताउनुभयो । आफूले अहिलेसम्म यही बङ्गुर फार्मबाट मात्र रु ३७ लाख कमाउन सफल भएको उहाँले बताउनुभयो ।

उहाँको फार्ममा ९० बढी बङ्गुरका पाठापाठी बिक्री अवस्थामा छन् । एउटा पाठापाठीको मूल्य स्थानीय बजारमा रु चार हजार पर्छ । यसअघि पटक पटक एक हजारभन्दा बढी नै पाठापाठी बिक्री गरिसकेको उहाँले जानकारी दिनुभयो ।

अहिले उहाँले बङ्गुर फार्ममा रातो रङको उन्नत जातको ड्युरोक र जङ्गली बँदेलसमेत पाल्नुभएको छ । उन्नत जातको विकासे बङ्गुरको मासु रातो र बोसो कम हुने भएकाले मासु जति खाए पनि केही असर नगर्ने बरु स्वास्थ्यलाई फाइदा पुग्ने भएको हुँदा ड्युरोक जातका बङ्गुरको पाठापाठी मात्र होइन मासुको मागसमेत बढेको उहाँको भनाइ छ ।

“अहिलेसम्म बङ्गुरको पाठापाठीको माग पु¥याउन नसकेकाले आगामी दिनमा एउटा माउ पाल्ने लक्ष्य रहेको छ, त्यसको तयारीमा समेत जुटेको छु”, उहाँले बताउनुभयो । उत्पादन भएका बङ्गुरका पाठापाठी दाङका विभिन्न ठाउँसहित प्युठान, सल्यान, रोल्पा, अर्घाखाँची, कपिलवस्तु र रुपन्देहीबाट ग्राहकले फार्ममै आएर लैजाने गरेका छन् । मासुभन्दा पाठापाठी बेच्दा बढी फाइदा हुन्छ । दाना कम लाग्ने र थोरै खोर भए पनि पुग्ने भएकाले पाठापाठी उत्पादन तथा बिक्री वितरण गर्ने गरेको उहाँको भनाइ छ ।

“कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले मेरो फार्ममा ब्राह्मण क्षेत्रीहरु बङ्गुर पाल्नकै लागि ठाउँठाउँबाट पाठापाठी किन्न आउने गरेका छन््”, पुनले भन्नुभयो । पुन बङ्गुर फार्ममा पक्की ७० खोर छन् । बङ्गुर फार्ममा दुई जनाले रोजगारसमेत पाएका छन् । पढेलेखेकाहरुको पैसा कमाउनकै लागि जागीर खानैपर्छ भन्ने मान्यता गलत हुने भनाइ राख्ने पुन साँच्चिकै पढेको कुरा व्यवहारमा लागु गर्ने हो भने व्यवसाय गर्नुपर्छ भन्नुहुन्छ ।

शुरुका दिनमा पुनले जागीर छाडेर बङ्गुरपालनमा लाग्दा परिवार र साथीभाइबाट निकै आलोचना खेप्नुपरेको अनुभवसमेत सुनाउनुभयो । बङ्गुरलाई लुतो, खोरेत, स्वान, फिवर, जुका र भ्यागुते रोगबाट बचाउन
जुकाको भ्याक्सिन दुई दुई महीना र अन्य रोगबाट बचाउन छ छ महीनामा भ्याक्सिन दिनुपर्नेहुन्छ । उहाँका अनुसार बङ्गुरको हेरचाह राम्रो भए ४० दिनका पाठापाठी १५ किलोसम्म हुन सक्छन् ।

तपाईको प्रतिक्रिया