प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू

खोटाङ, १४ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा पनि लागू भएको छ । सो परियोजना बमोजिम जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) बनाइने भएको होे ।

परियोजना सञ्चालनका क्रममा जिल्लामा चालु आर्थिक वर्ष २०७३÷७४ का लागि करिब रु ८९ लाख बजेट प्राप्त भएकाले कृषि पेसालाई व्यावसायिकरण गर्दै जिल्लाको आर्थिक उन्नति बढाउँदै लैजाने सो परियोजनाका जोन इकाइ प्रमुख लक्ष्मीप्रसाद खरेलले बताउनुभयो ।

ब्लक परियोजना सञ्चालनका लागि अदुवा र बेसारको एउटा ब्लक तथा अलैंँचीको एक वटा ब्लक निर्धारण गरिएको छ । यस्तै, दिक्तेल, नुनथला र दुर्छिमलाई मकैका लागि जोन परियोजना सञ्चालनका लागि छनोट गरिएको खरेलले जानकारी दिनुभयो । पकेट परियोजना सञ्चालनका लागि भने हाल जिल्लामा स्थान निर्धारणको काम भइरहेको जनाइएको छ । परियोजना सफल पार्न जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकायलगायतले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया