प्याजको मूल्य अकाशियो

काठमाडौं। एकाएक भारतले निर्यातमा अंकुश लगाएपछि नेपालमा प्याजको मूल्य अकाशिएको छ । केही दिन अघिसम्म एक्कासि आकाशिएको तरकारीको मूल्य घटेपछि हौसिएका उपभोक्तामा फेरि निराशा पैदा भएको हो ।

एकसाता अघि प्याजको निर्यातमा भारत सरकारले कडाइ गर्न थालेपछि नेपालमा त्यसको प्रभाव परेको छ । भारतबाटै आयात हुँदै आएको प्याजको मूल्यमा एक्कासि मूल्यमा परिवर्तन भएपछि उपभोक्ताहरु पुनः मारमा परेका छन् । नेपालमा झण्डै ९५ प्रतिशत प्याज भारतबाटै आयात हुँदै आएको छ । प्याजको उत्पादन घटेर आन्तरिक बजारमा मूल्य आकाशिन थालेपछि आन्तरिक बजारमा आपूर्ति बढाउन र नियन्त्रण गर्न भारत सरकारले निर्यातमा अंकुश लगाएको हो । यसअघि निर्यातमा पनि खुला मूल्य कायम भएकोमा प्याजको प्रतिटन न्यूनतम निर्यात मूल्य ८ सय ५० डलर अर्थात ८७ हजार ५ सय नेपाली रुपैयाँ तय गरिएको छ ।

भारतमा अहिले प्याजको मूल्य दुई वर्षयताकै उच्च विन्दूमा पुगेको छ । भारतले आफ्ना छिमेकी मुलुक भुटान, पाकिस्तान र नेपाल लगायतका अन्य मुलुकसम्म ठूलो परिमाणमा प्याज निर्यात गर्दै आएको छ । यसरी भारतले प्याजको मुल्यमा न्यूनतम निर्यात मूल्य कायम गरेपछि भारतबाट प्याज आयात गर्दा प्रतिकिलो ३० देखि ३२ रुपैयाँसम्मले महंगो परेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रवार मात्रै कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रतिकिलो ८५ रुपैयाँमा खरिद बिक्रि गरेका उपभोक्ता र ब्यवसायीहरुले उपभोक्ताले त्यसको भोलिपल्टै एकसय १५ रुपैयाँ तिर्नुपरेको थियो । त्यसयताका दिनमा पनि प्याजको मूल्यमा क्रमिक रुपमा बृद्धि भइरहेको छ । व्यवसायीहरू भने प्याजको भाउ अझै बढ्ने चेतावनी दिदै आएका छन् । व्यवसायीका अनुसार भारतमै अहिले प्रतिकिलो प्याजको मूल्य ५५ भारतीय रुपैयाँ पर्दछ ।

प्याजमा नेपाल आत्मनिर्भर नहुनु र ५ प्रतिशत मात्रै उत्पादन हुनु निकै लज्जाको विषय बनेको छ । कृषिप्रधान देशको रुपमा विख्यात नेपाल प्याजमा पनि भारतकै भर पर्नुपर्नुले परनिर्भरताको पराकाष्ठा छर्लङ्याएको छ ।

तपाईको प्रतिक्रिया