‘पूर्वाग्रही भएर बजेट नदिँदा समस्या’

टीकापुर / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सुदूरपश्चिम विश्वविद्यालयलाई पूर्वाग्रही भएर बजेट नदिँदा अवस्था लथालिङ्ग भएको बताउनुभएको छ । उहाँले सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन नगरे सुदूरपश्चिमबाटै आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

नेपाली काङ्गे्रस कैलाली क्षेत्र नं १ ले निर्माण गरेको बिपी स्मृति भवनको उद्घाटन गर्न आज टीकापुर पुग्नुभएका पूर्वप्रधानमन्त्री देउवाले सरकारले पहिले नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई निलम्बन गरी नयाँ नियुक्तिमा ढिलाइ गर्दा विश्वविद्यालयको प्रशासनिक काम समयमा हुन नसकेको बताउनुभयो । “समायोजनामा परेका १४ आङ्गिक क्याम्पसका प्राध्यापक र कर्मचारीले नौ महीनायता तलब खान सकेका छैनन्”, उहाँले भन्नुभयो । सभापति देउवाले वर्तमान सरकारले प्राज्ञिक स्वतन्त्रतामा हमला गरेको आरोप लगाउनुभयो ।

काङ्ग्रेस केन्द्रीय सदस्य एनपी साउदले पार्टीलाई बहुमतको सरकारमा स्थापित नगरेसम्म पार्टीबाट सभापति देउवाको बिदाइ नहुने र पार्टीमा उहाँको विकल्पसमेत नभएको बताउनुभयो । उहाँले केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि हुने विधानको व्यवस्था पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको पालादेखि नै रहिआएको र महासमिति बैठकमा संशोधनको प्रस्ताव पनि नआएकाले अहिले महाधिवेशन प्रतिनिधि बुथबाटै निर्वाचित भएर आउनुपर्ने मागको कुनै अर्थ नरहेको बताउनुभयो ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य चन्द्रसिंह भट्टराईले मुख हेरेर व्यवहार नगर्न अनुरोध गर्दै पार्टी कार्यकर्ता मिलाउन विश्वासको सङ्कट अन्त्य गरिनुपर्ने माग गर्नुभयो । काङ्ग्रेस नेता नारायणदत्त मिश्रले एक पटक केन्द्रीय सदस्य भइसकेपछि फेरि जनतामा जान नपर्ने र पटकपटक समानुपातिकमा अवसर पाउने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गर्नुभयो । रु १२ लाख ८७ हजारको लागतमा टीकापुरमा बिपी स्मृति भवन निर्माण गरिएको हो ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…