पच्चिस मेगावाटको सौर्य परियोजनाको निर्माण शुरु

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले हालसम्मकै ठूलो सौर्य परियोजनाको निर्माण शुरु गरेको छ । विभिन्न विवाद र संसदीय समितिहरुको झमेलामा फसेको सो आयोजना आजदेखि नुवाकोटको त्रिशूलीमा निर्माण शुरु भएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्च अधिकारीको उपस्थितिमा आज सो परियोजनाको निर्माण शुरु भएको हो ।

कूल २५ मेगावाट क्षमताको सो सौर्य परियोजनाको लागत करीब रु चार अर्ब रहेको छ । देवीघाट जलविद्युत् केन्द्र परिसरमा निर्माण हुन लागेको सो सौर्य परियोजना हालसम्मकै ठूलो हो । नेपाल सरकार, प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण हुने सो परियोजना आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सो परियोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । सो परियोजनाबाट दिउँसो उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ । योजना सञ्चालनमा आएपछि राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । काठमाडौँबाट नजिक रहेकाले यसबाट काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।

परियोजना सञ्चालनमा आएपछि कुलेखानी जलाशययुक्त आयोजना र कालीगण्डकी ‘ए’, मध्यमस्र्याङ्दी, मस्र्याङ्दी, चिलिमेजस्ता अर्ध–जलाशययुक्त आयोजनाको जलाशयमा दिउँसो पानी सञ्चित गरी ती विद्युत् केन्द्र विद्युत्को माग बढी हुने साँझ तथा बिहानको समयमा सञ्चालन गर्न मद्दत पुग्ने छ । बढी विद्युत् माग हुने समयको विद्युत् माग र आपूर्तिको व्यवस्थापनलाई थप सहज बनाउने अपेक्षा प्राधिकरणले गरेको छ । विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजनाअन्तर्गत सौर्य परियोजना स्थापना गरिएको हो । परियोजनाका लागि चिनियाँ कम्पनी राइजन इनर्जीसँग करीब रु चार अर्ब (अर्थात् तीन करोड ८० लाख अमेरिकी डलर)मा ठेक्का सम्झौता गरिएको छ । जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया