तारा एयरले भित्र्यायो नयाँ ट्विन अटर विमान

काठमाडौं / तारा एअरले शुक्रबार साँझ आफ्नो नयाँ ट्विन अटर वायुयान भित्र्याएको छ । उक्त विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गराइएको हो ।

नयाँ विमानको चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवन सिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका छन् । चालकदलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एअरवर्दिनेस् ईनिस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ रहेका तारा एयरले जनाएको छ ।

नयाँ विमान भाईकिङ्ग ४०० श्रृङ्खलाको हो । भाईकिङ्ग ४०० श्रृङ्खलाका यी ट्विन अटर वायुयानहरु सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरु लुक्ला, डोल्पा, तथा रारालगायतका स्थानमा उडान भर्न सक्षम रहने तारा एयरले जनाएको छ ।

विमानको सफलतापूर्वक जाँच र परीक्षण उडान गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा 9N-ALO दर्ता नम्बर प्रदान गरेको छ । नयाँ वायुयान थपसँगै नेपालको सन् २०२० सम्ममा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षमा तारा एअरले समेत महत्वपूर्ण योगदान पुर्‍याउने तारा एयरले दावी गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…