तरकारी फल्यो, बजार छैन

बाँके/  राप्तीसोनारी गाउँपालिका–३ भगवतीपुरका महिलाले आर्थिक उपार्जनका लागि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । पहिले पनि घरायसी प्रयोजनका लागि तरकारीखेती गर्दै आएका तिनले दुई वर्षदेखि तरकारीखेती गरेर आर्थिकस्तरलाई उकास्ने प्रयास गरिरहेका छन् ।

विभिन्न सङ्घसंस्थाले कृषि तथा तरकारीखेतीसम्बन्धी योजना सञ्चालन गरेपछि ती जीविकोपार्जनतर्फ उन्मुख भएका हुन् । “पहिले घरमा खानलाई मात्र लगाउँथ्याँै, अहिले व्यावसायिक रुपमा तरकारीखेती गरिरहेका छौँ”, स्थानीयवासी सुकमानी थारुले भन्नुभयो । स्थानीयवासी सुमित्रा चौधरीले आफूले उत्पादन गरेको तरकारी बिक्री नहुँदा समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेको तुलनामा यहाँका महिला तरकारीखेतीतर्फ उन्मुख भएका छन् तर बिक्रीका लागि बजारको समस्या छ ।” भगवतीपुरका महिलाले अहिले व्यावसायिक रुपमा लौका, करेला, खुर्सानी, भिण्डी, गोलभेँडालगायत तरकारी उत्पादन गर्दै आएका छन् । उनीहरुले महिला समूह निर्माण गरी प्रतिमहीना रु २० का दरले बचतसमेत गर्दै आएका छन् ।

बचत गरिएको रकम तरकारीखेती गर्न चाहने महिलाका लागि सस्तो ब्याजमा ऋण लगानी भएको छ तर ऋण लिनका लागि समूहमा आबद्ध हुनुपर्छ । तरकारीखेती गर्न थालेपछि विगतको तुलनामा महिला आत्मनिर्भर हुँदै आएको स्थानीयवासी मीना चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मासिक रुपमा बचत गर्दै आएका महिला तरकारी गर्न थालेपछि घरखर्च चलाउने समस्याबाट मुक्तसमेत भएका छन् ।” भगवतीपुरमा उत्पादित तरकारी बिक्रीका लागि अगैया र बिनौनाका स्थानीय बजारमा लैजानुपर्छ । स्थानीय बजारमा रु २० देखि रु ३० प्रतिकिलोका दरले तरकारी बिक्री हुँदै आएको छ । स्थानीयवासी छवि चौधरीका अनुसार एक डेढ घण्टा हिँडेर बजार पु¥याइएको तरकारी बिक्री नहुँदा कहिलेकाहीँ फिर्ता ल्याउनुपर्ने हुन्छ । “हामीले उत्पादन गरेको तरकारी स्थानीय बजारमा भनेअनुसार बिक्री हुँदैन । कहिलेकाहीँ फिर्ता ल्याएर रित्तो हात फर्किनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

“तरकारीखेती गर्न थालेपछि घरखर्च चलाउन निकै सहज भएको छ । पहिले छोराछोरीलाई कापी कलम किन्नै समस्या हुन्थ्यो अहिले निकै सहज भएको छ”, अमृता चौधरीले भन्नुभयो, “पहिले नूनतेल किन्नका लागि पनि श्रीमान्कै आश गर्नुपथ्र्यो, अहिले भने कसैलाई भन्नुपर्दैन ।” बजारको राम्रो सम्भावना भए यहाँका महिला आर्थिक रुपमा अझ बलियो हुने उहाँले बताउनुभयो ।

वार्षिक रु आठ लाख आम्दानी

“बाजेले तरकारीखेती गर्दै आउनुभएको थियो, बुबाले पनि तरकारीखेती नै गर्नुभयो”, ३० वर्षीय सिराज राईले भन्नुभयो, “बुबा र बाजेले गरेको त्यही पेशा मैले पनि गरिरहेको छु ।” दश वर्षदेखि तरकारीखेती गर्दै आएको उहाँको परिवार यसको आम्दानीले आत्मनिर्भर बनेको छ ।

“मैले तालीम पनि लिएको छैन । मेरो बाजेले शुरु गर्नुभएको खेती हामीले पनि सिक्दै गयौँ”, उहाँले भन्नुभयो । उहाँले खुर्सानी, भण्टा, गोलभेँडा, बन्दा, काँक्रो, भाजीलगायत मौसमी तथा बेमौसमी तरकारी फलाउँदै आउनुभएको छ । तरकारीबाटै वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी हुने उहाँको भनाइ छ ।

“बारीको तरकारीले मेरो गरीबी हट्यो”, उहाँले भन्नुभयो, “तरकारीबाटै वार्षिक रु आठ लाखजति कमाइ हुन्छ ।” तरकारीखेती थालेपछि अहिले बिहानदेखि बेलुका अबेरसम्म तरकारीबारीमै व्यस्त हुने गरेको उहाँको भनाइ छ । उहाँ मात्रै होइन, उहाँका २८ वर्षीय भाइ आजादको दैनिकी पनि उसैगरी बित्ने गरेको छ । आजाद भन्नुहुन्छ, “बाजेकै प्रेरणा पाएर तरकारी गर्न शुरु गरेका हौँ, यसैमा हाम्रो परिवार चलेको छ ।” तरकारीखेतीमा कीटनाशक औषधिबाहेक मलका रुपमा रासायनिक मल प्रयोग नगरेरै उत्पादन गरिएको उनीहरु बताउँछन् । “आजादले भन्नुभयो, “हामीले घोडाको मललाई एक वर्षसम्म कुहाएर प्रयोग गरिरहेका छौँ ।”

अहिलेसम्म कहीँकतैबाट सहयोग नलिइएको सिराजले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आफ्नै बलबुतामा खेती गरिरहेका छौँ । कृषिमा गयो भने सहयोग गर्छ भन्ने सुने पनि आफ्नो पहुँच नभएकाले गएका छैनौँ । त्यहाँ गएर पाइने आश नभएकाले किन समय खेर फाल्ने भनेर हामी अहिलेसम्म सहयोग माग्न कतै गएका छैनौँ ।”

उहाँहरुले उत्पादन गरेको तरकारी स्थानीय बजारमै खपत हुने गरेको छ । तरकारी मण्डीका थोक बिक्रेताले उत्पादन भएको तरकारी टिप्ने बेलामा ठेक्कामा लिने गरेका छन् । “तरकारी मण्डीहरुले थोकमा लैजान्छन्”, आजादले भन्नुभयो, “बिक्री गर्ने समयमा तरकारी किन्नेहरु आफैँ बारीमै पुग्नुहुन्छ, ठेक्कामा लैजानुहुन्छ ।”

तपाईको प्रतिक्रिया