टमाटर निर्यात ठप्पः किसानले गरे टमाटर सडकमा घोप्ट्याएर सांकेतिक विरोध

पाँचथर / करीब एक महिना अघिदेखि टमाटरको निर्यात ठप्प भएपछि पाँचथरको याङवरक र हिलिहाङ गाउँपालिकाका किसानले आफुले उत्पादन गरेको पाकेको टमाटर सडकमा घोप्ट्याएर सांकेतिक बिरोध गरेका छन् ।

व्यापारीले नउठाइदिएपछि पाकेको टमाटर बारीमै कुहिएर कुहिन थालेपछि सयाँै किसानले बिहीबार हिलिहाङ गाउँपालिका–१, भालुभोकमा पोकेको टमाटर सडकमा घोप्ट्याएर सांकेतिक बिरोध जनाएका हुन । यहाँ उत्पादित टमाटर पूर्वी नाका काँडकभिट्टा हुँदै भारत निर्यात हुने गरेको थियो । तर भारत निकासी हुने कृषि उपजको सूचिमा नपरेको भन्दै भारतले निर्यात रोकेपछि कृषकको लगानि र परिश्रम बालुवामा पानी जस्तै अवस्थामा पुगेको छ ।

टमाटर निकासीमा रोक लागे सँगै व्यापारीले उठाइदिने आसमा किसानले सडक किनारामा निकालेको टमाटरले सडकलाई दुर्गन्धित बनाइरहेको छ । समस्या समाधानका लागि पहल गर्न माग गर्दै किसानहरुको समुह प्रदेश–१ को सरकार समक्ष पुगे पनि समस्या सुल्झिएको छैन । किसानहरुले तत्काल टमाटर निकासी नभए मेची राजमार्गमा यातायात नै ठप्प पार्ने सम्मको आन्दोलन गर्ने जनाएका छन् ।

जिल्ला कृषि बिकास कार्यालयले याङवरक र हिलिहाङ गाउँपालिकालाई टमाटरको पकेट क्षेत्र घोषणा गरी टमाटर खेतिका लागि किसानलाई प्रोत्साहन समेत दिंदै आएको थियो । कार्यालयको रेकर्डमा पाँचथरबाट वार्षिक करीब साँढे तीन करोडको टमाटर निर्यात हुने गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया