झापामा एक करोड ४८ लाख किलो तयारी चिया उत्पादन

झापा । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा कुल ११ हजार ४४३ हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । तीन हजार ६९५ हेक्टर क्षेत्रफलमा दुई हजार ९२७ साना चिया कृषकले चियाखेती गरिरहेका छन् ।

कार्यालयको तथ्याँकअनुसार आव २०७०/७१ मा दुई करोड १० लाख ७६ हजार ३६६ किलो तयारी चिया उत्पादन भएको थियो । आव २०७१÷७२ मा दुई करोड ३१ लख ८६ हजार ७२६ किलो तयारी चिया उत्पादन भएको थियो । चियाखेतीतर्फ किसान आकर्षित भएसँगै उत्पादनमा वृद्धि भएको अधिकारीको भनाइ छ । नेपालमा उत्पादित सिटिसी चिया प्रतिकिलो रु १५० का दरले बिक्री हुने गरेको छ भने अर्थोडक्स चिया प्रतिकिलो रु ३०० का दरले बिक्री हुँदैआएको छ ।

विषादीरहित चिया उत्पादन

नेपाली चिया अन्तरराष्ट्रिय बजारमा लोकप्रिय बनेसँगै किसान विषादीरहित चिया उत्पादनमा जुटेका छन् । केही वर्ष अघिसम्म अधिकतम विषादी प्रयोग गर्दै चिया उत्पादन गर्ने यहाँका कृषक अहिले प्रांगारिक चिया उत्पादनमा जुटेका हुन् ।

प्रांगारिक चियाले अन्तरराष्ट्रिय बजारमा सजिलै प्रतिष्पर्धा गर्न सक्ने भएकाले झापाली चिया कृषकले विषादीरहित चिया उत्पादन शुरु गरेको कृषि विकास अधिकृत अधिकारी बताए । उनका अनुसार पूर्वी नेपालको इलाम र पाँचथर प्रांगारिक चिया उत्पादनका लागि चिनिन थालेपछि यहाँका कृषकले पनि प्रांगारिक चिया उत्पादनमा जोड दिएका हुन् ।

भारतीय चियाको तुलनामा नेपालमा उत्पादित चिया सस्तो हुने भएकाले यहाँको चिया भारत जाने र भारतबाट तेस्रो मुलुक निर्यात हुने गरेको छ । नेपालमा उत्पादित चियाले टे«डमार्क नपाएका कारण भारतीय व्यापारीले यहाँ उत्पादन भएको चिया भारत लैजाने गरेको र भारतीय ब्राण्डमा नेपाली चिया बिक्री गर्ने गरेको चिया किसानको भनाइ छ ।

नेपाली तयारी चिया भारतको मण्डी हुँदै तेस्रो देशमा निर्यात हुने गरेको छ । नेपालको प्रांगारिक चिया अहिले जर्मनी, अमेरिका, क्यानाडा, जापान, चीनलगायतका मुलुकमा निकासी हुने गरेको छ ।

धमाधम कारखाना खोल्दै

जिल्लाका साना चिया किसान धमाधम चिया कारखाना खोल्न जुटेका छन् । सरकारको ५० प्रतिशत अनुदान लिएर उनीहरु आफैँ कारखाना खोल्न जुटेका हुन् । चिया उद्योगीसँग सधैँ हरियो चियापत्तीको उचित मूल्य नपाएको भन्दै गुनासो गर्दै आएका किसानले आफ्नै पहलमा चिया कारखाना शुरु गरेपछि लामो समयदेखि चिया उद्योगी र चिया किसानको विवाद केही मत्थर भएको छ । विसं २०६८ मा पहिलो पटक पृथ्वीनगरका साना चिया कृषकले रु सात करोड ३५ लाखको लागतमा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएका थिए । तीन वर्ष लगाएर सञ्चालनमा ल्याएको सो कारखानाको दैनिक १५ हजार किलो हरियोपत्ती प्रशोधन गर्ने क्षमता भए पनि हाल दैनिक पाँच हजार किलो मात्रै प्रशोधन गर्ने गरेको छ ।

चिया कारखानाका लागि सरकारले रु तीन करोड १० लाख अनुदान उपलब्ध गराएपछि कृषकले आफ्नै पहलमा चिया उद्योग स्थापना गरेका हुन् । जिल्लामा हालसम्म ३० वटाभन्दा बढी चिया प्रशोधन कारखाना छन् । केही कारखाना सहकारीको माध्यममबाट सञ्चालनमा आएका छन् । साना चिया किसानले सहकारीमार्फत हल्दिवारी र बाहुनडाँगीमा समेत चिया कारखाना सञ्चालनको तयारी थालेका छन् । पाराखोपी साना किसान चिया सहकारी संस्थाले कारखाना स्थापना गरिसकेको छ ।

वानस्पति विषादी, जीवाणुमा आधारित विषादी तथा नवीनतम बाली संरक्षणको प्रविधि अपनाएर यहाँका कृषकले चियाखेती गरिरहेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले बताए । कृषकले खेती गर्न शुरु गरेसँगै बर्सेनि रासायनिक विषादीको प्रयोग घट्दै गएको छ । पछिल्लो समय जिल्लामा कृषक र सरकारीस्तरबाटै प्रांगारिक मल उत्पादनका लागि जोड दिँदै आइपीएम (एकीकृत शत्रुजीव व्यवस्थापन पद्धति) प्रविधिबाट कृषकले चिया तथा तरकारीखेती गर्न थालेका कारण विषादीको प्रयोग घटेको खरेलको भनाइ छ ।

कृषकले विषादीको सट्टा जैविक तथा वनस्पति विषादी प्रयोग गर्दै उत्पादन गर्ने गरेका कारण विषादीको आयातसमेत घटेको छ । तत्कालीन महेशपुरको पराजुली टि स्टेट, जलथल–४ र हल्दिवारी–३ मा आइपीएम प्रविधिबाट चियाखेती गर्न तालिम प्रदान गरेसँगै यहाँका चिया कृषकले रासायनिक विषादी प्रयोग गर्न छाडेका हुन् ।

चियामा प्रांगारिक प्रमाणीकरणका लागि सरकारले ५० प्रतिशत अनुदान दिने भएपछि सुरेन्द्रनगर साना किसान चिया सहकारी संस्था बाहुनडाँगी, तारखी साना किसान सहकारी संस्था आपडाँगी र पथरीयामा रहेको चिया बगानले प्रांगारिक चियाखेती गर्दैआएका छन् ।

बाहुनडाँगीमा चिया कारखाना सञ्चालन गर्ने तयारी

बाहुनडाँगीमा रु आठ करोडभन्दा बढीको लागतमा चिया प्रशोधन कारखाना सञ्चालन गर्ने तयारी भइरहेको छ । सरकारको ५० प्रतिशत अनुदान र अन्य रकम किसान आफैँले जुटाएर कारखाना सञ्चालन गर्न लागिएको हो । स्थानीय साना चिया कृषक सक्षम निरौलाका अनुसार चार किस्तामा रकम निकासा भइसकेको र सो रकमले चिया कारखाना निर्माण गरिएको छ ।

पहिलो किस्तामा सरकारले रु एक करोड ९५ लाख, दोस्रो किस्तामा रु २३ लाख, तेस्रो किस्तामा रु ७५ लाख र चौथो किस्तामा रु ६४ लाख प्रदान गरेको छ । कात्तिकबाट चिया प्रशोधन कारखाना सञ्चालनमा आउनेछ ।

शुभ चिया किसान सहकारी संस्थामार्फत कृषकले आफ्नै पहलमा चिया प्रशोधन कारखाना सञ्चालन गर्न लागेका हुन् । चिया कारखाना सञ्चालनमा आए सो क्षेत्रका एक हजारभन्दा बढी कृषक लाभान्वित हुने छन् । विसं २०६४ मा स्थपना भएको सो सहकारीले सञ्चालनमा ल्याउन लागेको चिया प्रशोधन कारखानाले दैनिक पाँच हजार किलो तयारी चिया उत्पादन गर्ने र वार्षिक रु एक करोड नाफा गर्ने लक्ष्य राखेको निरौलाले बताउनुभयो ।

‘विषादी नहाल्दा उत्पादन घटेन’

भद्रपुर नगरपालिका–१ पृथ्वीनगरका साना चिया कृषक बालकृष्ण गिरीले चियाखेती गरेको लामो समय भएको छ । उहाँले दुई बिगाहा १० कट्ठा जमिनमा चियाखेती गरिरहनुभएको छ ।

एक बिगाहामा उहाँले शुरु देखिनै प्रांगारिक चियाखेती गरिरहनुभएको छ । बाँकी एक विगाह १० कट्ठा जमिनमा उहाँले विषादी न्यून मात्रामा प्रयोग गरेर चियाखेती गरिरहेका छन् । अज्ञानताका कारण शुरु– शुरुमा विषादी प्रयोग गरेर चियाखेती गर्दै आए पनि विषादी प्रयोग गर्दा जीउ पोल्न थालेपछि उनले विषादीको प्रयोग घटाउन थालेको बताए ।

चियामा विषादीको मात्रा घटाउँदै जाँदा पनि उत्पादन नघटेपछि गिरीले महिनामा दुई प्रटक प्रयोग गर्दै आएको विषादी वर्षमा दुई पटक मात्रै प्रयोग गर्न थालेको बताउनुभयो । जैविक वनस्पति विषादी प्रयोग गरेर पनि रोग तथा किरा नियन्त्रण गर्न सकिने भएपछि उहाँले जैविक वनस्पति विषादी प्रयोग गरेर चियाखेती गरिरहनुभएको छ ।

कम खर्चमा नै जैविक वनस्पति विषादी तयार गर्न सकिने भएपछि गिरी अहिले पूर्ण रुपमा प्रांगारिक चिया उत्पादनमा जुट्नु भएको छ । साना किसान कृषि सहकारी संस्थामा आबद्ध उहाँ मात्र होइन सो क्षेत्रका अधिकांश कृषकले प्रांगारिक चिया खेती गरिरहेको गिरीको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय, कारितास नेपाल र सहारा नेपालले आइपीएम पाठशाला सञ्चालन गरेपछि उक्त क्षेत्रका कृषकले प्रांगारिक चिया उत्पादन गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…