गिटी अभावमा विकास निर्माण ठप्प

संखुवासभा / संखुवासभामा प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहले भारी मात्रामा विकास निर्माणका योजना ल्याएका छन् । तर ती सबै योजना गिटी अभावका कारण ठप्प भएको छ । नेकपाका नेता खड्ग राईका अनुसार गिटी अभावका कारण प्रायः सबै योजना ठप्प हुँदा त्यसको मारमा पांमा खोला र माल्टा खोला परेको छ । चाँडै गिटीको व्यवस्था गर्न नसके कामदारले काम छोडेर हिँड्ने अवस्था आएको राईले बताए ।

गिटी अभावमा जिल्लाको विकास निर्माणको काम प्रभावित बनेको नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष कुलबहादुर श्रेष्ठले बताए । उनले भने, ‘जिल्लामा गिटी उत्खनन तथा क्रसर बन्द भएपछि पुल, सडक, सरकारी भवन र भूकम्प पीडितका घर पुनर्निर्माणमा समस्या छ ।’ श्रेष्ठले सरोकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षण गरे पनि बेवास्ता गरिएको बताए ।

गिटी अभावमा खाँदबारी नगरपालिकामा पर्ने पांमा खोला र माल्टा खोलामा निर्माणाधीन दुई वटा पुलको निर्माण कार्य ठप्प बनेको हो । जिल्लाको खाँदबारी नगरपालिकामा पर्ने सभा खोलामा रहेको क्रसर केही समय अगाडि वन कार्यालयले अवैध भन्दै बन्द गरेपछि हाल जिल्लामा गिटीको अभाव भएको हो ।

एसएनआरटीपीको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको पुलको हाल एउटा पिलर पनि बनाइएको छैन । २ करोड २५ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न गर्ने गरी याक्थुमहाङ एस.ए.एस. जेभीले पुल निर्माणको ठेक्का लिएको छ । आगामी असार मसान्तसम्ममा सम्पन्न हुनुपर्ने उक्त पुलको हाल एउटा पिलर पनि बनेको छैन । गिटी अभावमा पुल निर्धारित समयमा बनिसक्न कठिन भएको निर्माण कम्पनीका निर्देशक सन्तोष राईले बताए ।

माल्टा खोलाको पुल अलपत्र

यता, आगामी असार मसान्तमै निर्माण सम्पन्न गर्ने सहमति भएको माल्टाखोला पुलको पनि अवस्था उस्तै छ । सो पुलमा पिलर हाल्नको लागि जग खनिए पनि त्यसभन्दा अघि काम बढ्न सकेको छैन । २ करोड ७१ लाखको लागतमा पुल निर्माण गर्ने सम्झौता भएको सो पुलको निर्माणको ठेक्का कुन्सालिङ अ?णव?ण जेभीले पाएको छ । पुल निर्माण कम्पनीका निर्देशक मिगुर शेर्पाका अनुसार १ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि गिटीको अभावले पुल निर्माण प्रभावित भएको हो । ‘हामीले एक वर्षमा सक्ने गरी पुलको जिम्मा लिएका थियौँ । तर अब त्यो सम्भव छैन । ‘हामीले पटकपटक सम्बन्धित निकायमा गिटी अभाव भयो भनेर पत्राचार गर्दा समेत हाम्रो माग पूरा भएन ।

किन भएन सर्वदलीय बैठकको निर्णय कार्यान्वयन

केही समयअघि जिल्लामा बसेको सर्वदलीय बैठकले क्रसर चलाउन दिने निर्णय गरे पनि त्यो कार्यान्वयन हुन सकेको छैन । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यका अनुसार जिल्लाको सर्वदलीय बैठकले क्रसर सञ्चालन गर्न दिने निर्णय गरे पनि जिल्ला वन कार्यालयले सामुदायिक वन क्षेत्रमा क्रसर चलाउन नदिने भन्ने अडान लिएकाले सञ्चालन नभएको हो । यस सम्बन्धमा पुनः बैठक बसेर समस्याको समाधान खोज्ने उनले बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया