ईप्रका बेलबारी राजश्व संकलनमा समेत अब्बल, पाँच महिनामा १ करोड ६५ हजार राजश्व संकलन

सुन्दरहरैंचा / ईलाका प्रहरी कार्यलय बेलबारी पछिल्लो समय समुदाय सँग आधारित कार्यक्रम सञ्चालन गरेर नागरिकको मन जित्न सफल भए संगै राजश्व संकलनमा समेत अब्बल देखिएको छ । ईप्रका बेलबारी पाँच महिनाको अबधिमा १ करोड ६५ हजार भन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । यो पाँच वर्ष यताकै बढी राजश्व संकलन हो । सुन्दरहरैचा नगरपालिकाको हसिना सभाहलमा आयोजित प्रहरी समुदाय सँग अन्तर्गत एक कार्यक्रम गरी बेलबारी प्रहरीले सो तथ्यांक सार्वजनिक गरेको थियाे ।

ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक गुणराज बुढाथोकीले कार्यक्रममा प्रहरीले अहिले गर्दै आइरहेको गतिविधी साथै यो क्षेत्रमा भईरहेको शान्ति सुरक्षाको स्थितिका बारेमा जानकारी समेत गराएका थिए । बेलबारी, सुन्दरहरैचा, ग्रामथान र केराबारीका जनतालाई सुरक्षा दिन प्रहरी सक्षम रहेको बताउदै उनले प्रहरी जनताको सुरक्षाको लागि २४ घण्टा खटिरहेको बताए । पछिल्लो समय मोबाइल र मोटरसाईकल चोरीको घटना बढ्दै गएका कारण जिल्ला प्रहरी कार्यालय मोरङले अप्रेशन ट्र्याप अभियान सञ्चालन गरि मोबाइल र मोटरसाइकल चोरी गर्ने व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको बताए ।

कार्यक्रममा उपस्थित भएका अधिकांश व्यक्तिहरुले प्रहरीले विभिन्न घटनामा झुटा मुद्दा लगाई निर्दोष व्यक्तिलाई फसाउने, ठूलो चोर भन्दा साना चोरले दु:ख दिएको, प्रहरीले टोल टोलमा प्रहरी समुदायसँग कार्यक्रम चलाउनु पर्ने, प्रहरी हुने खाने र धनी वर्गको लागि मात्र भएको , जस्ता गुनासो गरेका थिए । कार्यक्रममा केही व्यक्तिहरुले प्रहरीले देखाएको अहिलेको सकृयता र यस क्षेत्रमा प्रहरीले चालेको शान्ति सुरक्षा व्यवस्था र प्रहरीलाई शान्ती सुरक्षा कायम राख्न विभिन्न अपराधिक घटनाहरुको सुचना जनताले पनि दिनु पर्ने बताउदै प्रशंसा समेत गरेका थिए ।

सहभागिहरुको प्रश्नमा उत्तर दिदै बुढाथोकीले प्रहरीले कसैलाई झुटा मुद्दाकाे दर्ता नगराएको बताउँदै त्यस्तो गरेको पाइएमा कार्वाही हुने बताएका थिए । उनले यस क्षेत्रमा पछिल्लो समय लागू औषध सेवनमा रोकथाम हुँदै आएको दाबी समेत गरेका थिए । उनले प्रहरीले यस्तो कार्यक्रम टोल टोलमा लैजान प्रयास गरे पनि प्रहरी संगको बजेट स्रोत अत्यन्तै न्यून रहेकोले स्थानिय तहले यस्तो कार्यक्रमको लागि बजेट नै विनियोजन गरिदिन समेत आग्रह गरेका छन । कार्यक्रममा सुन्दरहरैचा नगरपालिका नगरप्रमुख शिवप्रसाद ढकालले नगरको शान्ति सुरक्षा प्रहरीले व्यवस्थित तरिकाबाट गरेको बताउदै प्रहरीको प्रशंसा गरेका थिए । उनले प्रहरीले दिएको राजश्व तथ्यांक हेर्दै अहिले सम्मकै अत्यन्तै उपलब्धी मुलक रहेको बताए ।

तपाईको प्रतिक्रिया

Loading…