इटहरीमा अब ढुवानी गरेको शुल्क लाग्ने

सुनसरी । इटहरीका हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायीहरुले ढुवानी गरे वापतको शुल्क लिने भएका छन् । इटहरी उपमहानगरपालिका भित्र संञ्चालित व्यवसायीहरु संगठित भई व्यवसायीक हितको लागी भन्दै उपभोक्तालाई ढुवानी गरे वापत शुल्क लिने भएका हुन ।

असार १ गते इटहरी भित्रका व्यवसायीहरु संगठित भई हार्डवेयर, प्लाई तथा सेनेटरी संघ गठन गरी ढुवानी शुल्क लिने र बाँकी लिदा पिडिसी चेक अनिवार्य लिने जस्ता निर्णय गरेका छन् । रिपोर्टर्स क्लब सुनसरीमा पत्रकार सम्मेलनको आयोजना गरि संघले गरेको निर्णय सार्वजनिक गदै व्यवसायीहरुले यस्तो जानकारी दिएका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै संघका इटहरी अध्यक्ष भोलानाथ निरौलाले सिमेन्ट, रड, टाली तथा अन्य सामाग्रीहरुमा अब न्यूनत ढुवानी शुल्क लिने जानकारी दिए । जसमा सिमेन्ट प्रति बोरा २०, रड प्रति बन्डल ५० र टाली प्रति कार्टुन (सानो ठुलो) १०–२० रुपयौ लाग्ने उनले बताए ।
यस्तै व्यवसायी संघमा आबद्ध सदस्यहरुसँग सामान खरिद गर्दा खरिदकर्तालाई बाँकी दिनुपरेमा अनिवार्य पिडिसी चेक लिएर मात्र बाँकी कारोबार गर्ने निर्णय समेत गरेको छ ।

व्यवसाय गर्दा भ्याट, राजस्व तथा सरकारका फेरीरहने नितिका कारण व्यवसाय सुरक्षित हुन नसकेको संघका कोषाध्यक्ष मुक्तिनाथ दाहालले गुनासो गरे । हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायीहरुमा प्राय बाँकी कारोबार हुने गर्दा जोखिम न्यूनिकरण गर्नको लागी यस्तो निर्णय गरेको दाहालको भनाई छ ।

संघले सामान खरिदका लागी ग्राहकले जम्मा गरेको रकम बजारमा तोकिएको मुल्य घटी बढी भएपनि तोकिएकै मुल्य कायम गर्ने समेत निर्णय गरेको छ । साथै सौदाका लागी जम्मा गरिएको रकम फिर्ता लिनुपरेमा जम्मा रकमको १० प्रतिशत कट्टा गरि दिने व्यवस्था लागु गरिएको संघले जनाएको छ ।

इटहरीमा अहिले दुईसय भन्दा बढी हार्डवेयर, प्लाई तथा सेनेटरी व्यावसाय गर्नेहरुको संख्या छ ।

तपाईको प्रतिक्रिया