अरुण नदीमा पुल निर्माण गर्न एसएमएस अभियान

काठमाडौँ, २३ असोज । भोजपुरको उत्तरी षडानन्द नगरपालिकाका जनताले ‘तुम्लिङ्टार–लम्सुवा–दिङला’ जोड्ने मार्गमा अरुण नदीको लम्सुवाघाटमा निर्माणाधीन पुल समयमै निर्माणका लागि दबाबस्वरुप मोबाइल सन्देश (एसएमएस) अभियान सुरु गरेका छन् ।

नगरवासीले दबाब समिति गठन गरी आज जिल्लाका तीन सांसद ज्ञानेन्द्रबहादुर कार्की, शेरधन राई र कृपाशुर शेर्पालाई एसएमएस गरी ध्यानाकर्षण गराएको पत्रकार अर्जुन अधिकारीले राससलाई जानकारी दिनुभयो ।

‘लम्सुवाको पुल कहिले बन्छ ?’ भनी आजदेखि एसएमएस अभियान सुरु गरिएको र एकसय एसएमएस तीनैजना सांसदलाई पठाएको दबाब समितिका संयोजक डिल्ली तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले पुनःनिर्माणका लागि खबरदारी गर्न दसैँलगत्तै सङ्खुवासभाको तुम्लिङ्टारस्थित सडक कार्यालयलाई ज्ञापन बुझाइने पनि बताउनुभयो ।

दसैँको अवसरमा दबाबस्वरुप सरोकारवालालाई खबरदारी गर्न स्थानीयवासीले नयाँ शैलीको एसएमएस दबाब अभियान सुरु गरेको पत्रकार अर्जुन अधिकारीले बताउनुभयो ।

झन्डै पाँच वर्षदेखि निर्माण भइरहेको लम्सुवाघाटको पुलको हालसम्म २० प्रतिशतमात्र प्रगति भएको छ । स्थानीय राजनीतिक स्वार्थलगायतका कारणले समयमै काम हुन नसकेको उपभोक्ता बताउँछन् । पुल निर्माणका लागि रु १४ करोड लाग्ने बताइएको छ । ठेकेदार जयराज लामिछानेले यसपटक रु ११ करोड बजेट विनियोजन भएको र प्राविधिक समस्या नआएमा अबको डेढ वर्षभित्र पुल निर्माण सम्पन्न गरिने दाबी गर्नुभयो ।

सङ्खुवासभा र भोजपुरको उत्तरी दिङला क्षेत्र जोड्ने यो पुल निर्माण भएमा ती दुई जिल्लाका जनताले प्रत्यक्ष राहत पाउनेछन् ।

तपाईको प्रतिक्रिया

Loading…