अज्ञात रोगले मरे १७ बंगुर

रुकुमपूर्व / अज्ञात रोगको कारण रुकुम(पूर्व)मा एक किसानले पालेका १७ बंगुर आज मरेका छन् । भूमे गाउँपालिकामा वडा नम्बर २ का ढोटे पुनको शुभकामना बहुउद्देश्यीय कृषि फर्ममा पालिएका बंगुर मरेका हुन् ।

बंगुरलाई दाना खुवाएर पुन फर्मदेखि १५ मिनेट टाढा घर फर्किएलगत्तै मर्न थालेपछि स्थानीयवासीले उहाँलाई खबर गरेका थिए । बिहान १० देखि ११ बजेको बीच ती पशु मरेको उहाँले बताउनुभयो । मुखबाट फीँज आएको केही समयमै बंगुर मरेको पुनको भनाइ छ ।

त्यसबाट रु एक लाख ३० हजार बराबरको क्षति भएको फर्मका संचालन पुनले बताउनुभयो । फर्ममा रहेका बंगुर मर्न थालेपछि भूमे गाउँपालिकाबाट पशु शाखाको टोली फर्ममा पुगेको थियो । उक्त टोलीले अन्य सात बंगुरलाई भने सुई लगाएर बचाउन सफल भएको छ । बंगुर फुड प्वाइजनको समस्या भएर मरेको हुन सक्ने पशुशाखा प्राविधिक भूपेन्द्र शाहीले बताउनुभयो । मरेका ती बंगुर गाडिएको छ । पुनले ६ महिनाअघि दाङबाट तीन महिनाका बंगुरका पाठा लिएर पाल्न शुरु गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…