भाइटिका लगाइदिन कुरेर बसेकी दिदीलाई विदेशबाट भाइको अन्तिम पत्र

krishna-acharya
कृष्ण आचार्य

मेरी प्यारी दिदी
तेरो हातबाट तिहारको टिका लगाउन नपाएको पनि ३ वर्ष पुगिसकेछ । विदेशी भूमिमा प्रत्येक वर्ष भाइटिकाको दिन तँलाई सम्झिएर आँखाभरी आँसु बगाएको मेरो मानसपटलमा अझै पनि ताजै छ । तैले पटक–पटक मलाई नेपाल आउन आग्रह गर्दा म शब्दहीन हुन्थेँ । तेरो आग्रह नकार्दा मेरो ज्ञानेन्द्रीयले मलाई नै गिज्याइरहेको हुन्थ्यो । म महसुस गर्न सक्थेँ एक्लो छोरो दसैँमा घर नआउँदा मेरा बाबुआमाको पीडा अनि तिहारमा सप्तरङ्गी टिका लगाउन नपाउँदा तेरो मनमा जागेका विभिन्न प्रश्नप्रतिप्रश्नहरु । यी सब कुराको जानकारी हुँदाहुँदै पनि म निरिह हुन्थेँ । मलाई याद छः पहिलो वर्ष अर्को वर्ष आउँछु भनेर तँ सँग गरेको बाँचा । तर, तीन वर्षसम्म अर्को वर्ष कहिल्यै आएन । सायद यसपाली त तैले मलाई आइज भनेर बोलाउदिनस् होला । मैले तेरो विश्वास धेरैपटक तोडिसकेको छु । मलाई माफ गर है दिदी यसवर्ष पक्का आउने आश्वासन दिएको थिएँ तर, आउन सकिनँ । म आउन नसके पनि मैले लेखेको यो पत्र पढेर चित्त बुझाउनु । यस वर्ष सबै ऋण तिरिसकेको छु । अर्को वर्ष दुईचार पैंसा जम्मा गरेर आफ्नै देशमा केही गर्नेगरी आउनेछु । अनि तँ सँग भाइटिका लगाउँला नि हुन्न ?

विदेशी भूमिमा पसिना बगाएर बस्ने रहर त मेरो पनि कहाँ हो र । बाबुआमाले खाइनखाइ दुःख गरेर ब्याचलरसम्म पढाएकै थिए । एउटा जागिर गरेर देशकै सेवामा आफूलाई समर्पित गर्ने र परिवारको साथमा बस्ने ठूलो सपना बुनेको थिएँ । सायद यो सपना मेरो मात्र होइन होला । म त यसको एक प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता हजारौँ युवाको सपना यही हो । आफ्नै माटोमा बस्न पाऊँ, देशको सेवा गर्न पाऊँ, परिवारसँग रमाउन पाऊँ, दुईचार पैंसा कमाएर घर चलाऊँ, ऋष तिरुँ, कमाएर चिटिक्कको एउटा घर बनाऊँ, बिहे गरेर सुख, शान्तिसँग बस्न पाऊँ अनि भोली छोराछोरीलाई उच्च शिक्षा दिन सुकँ । तर, सोचेको जस्तो केही हुँदोरहेनछ । तँलाई मेरो देशको हालत थाहै छनि सानी । यहाँ म जस्ता पढेलेखेकाको केही काम छैन । जागिर खान सोर्सफोर्स चाहिन्छ । व्यवसाय गर्न लगानी चाहिन्छ । जुन हामी जस्ता गरीब र पिछडिएका वर्गका लागि असम्भव छ । जसका कारण एउटै उपाए बाँकी रहन्छ विदेशीनु ।

बाबुले ठूलो दिदीको बिहेमा लिएको ऋण तिर्न सकेनन् । आमा सधैभरी रोगी । पैंसा नभएकै कारण अहिलेसम्म तेरो बिहे हुन सकेको छैन । म सर्टिफिकेट र मार्कसिट बोकेर कहाँ–कहाँ पुगिन । हात जोडेर अनेक बिन्त बिसाउँदै जागिर माग्दा सबैले एउटै प्रश्न सोध्ने गर्थे, ‘तँ कोमार्फत आएको होस् यहाँ ? चिनजानको कोही छ कि छैन ?’ मेरो उत्तर पनि सधै एउटै हुने गथ्र्यो, ‘कसैमार्फत आएको होइन । मेरो चिनजानको पनि कोही छैन ।’ त्यसपछि अर्को प्रश्न तेर्सिन्थ्यो, ‘धन्दा नमान हामी छौँ तेरो ।’ यस्तो जवाफले म खुसी हुन्थेँ । हो, फुरुङ्ग । लाग्थ्यो यहाँ मानवता अझै जिउँदै छ । नेपालीपन प्रत्येक नेपालीको रगतमा छ । तर, मेरो मन त्यतिबेला खिन्न हुन्थ्यो जतिबेला उनीहरु भन्ने गर्थे, ‘कति पैंसा खुवाउन सक्छस् ?’ के मैले एसएलसीमा ल्याएको ८० प्रतिशत, प्लस टु मा ल्याएको ७४ प्रतिशत अनि ब्याचलरमा ल्याएको ६२ प्रतिशतको मुल्यांकन यही हो ? मैले कम्युटर क्लास र प्राविधिक तालिम विदेशमा सीप खर्च गर्नका लागि लिएको हुँ ? तँलाई थाहै छ नि दिदी म कुन अवस्थाका कारण विदेशीनु परेको हो भन्ने । त्यसैले यी सब कुरा सम्झेर बुझेर भाइ आएन भने चित्त नखुखाउनु है ।

भन्नेले त भन्छन् होला विदेश गएर टन्न पैंसा कमायो भनेर तर, तँलाई थाहै छ नि विदेशमा पैंसा फल्दैन भन्ने । यो गर्मीमा मैले भेडा चराएको छु कि, मान्छेको लास गाड्ने काम गरेको छु या विदेशीको जुठा भाँडा माझेको छु भन्ने त मलाई मात्र थाहा छ । यो कुरा बुबाआमालाई नभन्नु नि फेरि । उहाँहरुको मन दुख्ला । मैले उहाँहरुसँग भन्ने गरेको छु, ‘तपाईंहरु कत्ति चिन्ता नलिनु । मैले राम्रो काम गरेर राम्रै पैंसा कमाइरहेको छु ।’ तर, त्यति सजिलो छैन हेर यहाँको जीवन । मरिमेटेर काम गर्दासमेत समयमा पैंसा आउँदैन । न नेपालबाट आउँदा सहमति भए बमोजिम नै तलब पाएको छु । न पत्रिकाको विज्ञापनमा छापिएअनुसारको काम नै । सुत्ने, खाने ठेगान छैन । नसुतीनसुती नाइट डियुटी नगरको भए महिनाको ३० हजार कसरी पठाउन सक्थेँ घरमा ।

हेर सानी, घरीघरी त्यही नेपालको पाखा पखेरा, डाँडाकाँडा, हरियाली वनजंगल, कलकल बग्ने खोलानाला याद आइरहन्छ । आमाको मिठो काख, बाबुको गाली, तिमीहरुको प्रेम झलझली सम्झिरहन्छु । यहाँ चिसो भूइँमा एउटा तन्ना ओछ्याएर सुत्नुपर्छ । पटक–पटक साहूको गाली र कुटाइ खानुपर्छ । प्रेम त कसले गर्छ र हामीलाई । पैंसाका लागि नेपाली–नेपाली नै आपसमा लड्छन् । कसैलाई कसैसँग मतलब छैन यहाँ । सबैभन्दा प्यारो पैंसा भएको छ । त्यही पैंसाको पछि दौड्दा कतिको बन्द बाकसमा लास गएको छ । कतिको यतै जेलमा बास भएको छ । यहाँ आफ्नोपन होइन सानी पैंसा सबैभन्दा खास भएको छ ।

मेरो देश प्राकृतिक स्रोत, साधनले निकै धनी छ । त्यसको सदूपयोग गरेर जलविद्युत उत्पादन गर्ने, पर्यटन व्यवसायको विकास तथा विस्तारमा ध्यान दिने र कृषिको आधुनिकीकरण गर्ने हो भने मात्र हामी आफ्नै देशबाट आत्मनिर्भएर बन्न सक्छौँ । लाखौँ युवाका लागि रोजगारीको अवसर प्राप्त हुन सक्छ । देश विकास र सम्बृद्धीको बाटोमा अघि बढ्छ । विश्वले नेपाललाई फरक पहिचान र आस्थाले हेर्छ । विश्वको सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको जन्मस्थल भनेर मात्र होइन । आत्मनिर्भर र स्वाभिमानी नेपाली भनेर चिनिन सक्छौँ हामी । तर, किन होला दिदी हाम्रा देशको राजनीति सधैभरी अस्थिर भइरहने ? देश संक्रमणकालबाट गुज्रिरहने । हत्या, हिंसा, आतंक, बलात्कार, दुर्घटनाका समाचार आइरहने । आजभोली त मलाई समाचार सुन्न पनि मन लाग्दैन ।

देशमा एक वर्ष नपुग्दै सरकार फेरिरहेको सुन्छु । एउटा सरकारले ल्याएका योजना, विकास निर्माणका नीति तथा कार्यक्रमहरु लागु हुन नपाउँदै अर्कैको सरकार बन्छ । राजनीतिक दल र तिनका नेता सत्ता र कुर्सीको लालचमा देशका विभिन्न भूभाग, जलस्रोत बेच्छन् । छिमेकीसँग राष्ट्रघाती सन्धी, सम्झौता गर्छन् । के उनीहरुलाई देशको एकरत्ति माया छैन त ? यदि छ भने राष्ट्र निर्माणमा नजुटेर किन सत्ताको खेलमा तल्लिन छन् उनीहरु ? बलभद्र, भक्ति थापा, पृथ्वीनारायण शाहको साहस र एकतालाई किन भुल्छन् उनीहरु ? देशको विकास र सम्बृद्धीका लागि किन एकजुट हुन सक्दैनन् ? हामीले विदेशमा कमाएको पैंसाको रेमिटान्सले देश कहिलेसम्म चलाउने ? एकदिन आखिर सबै मर्नु नै छ । मर्दा हामीले लाने केही होइन । त्यसैले किन देश र जनताका लागि केही उदाहरणीय काम गरेर भोलीका पिढीलाई सही बाटो देखाउने कार्यप्रति सकारात्मक छैनन् हाम्रा नेताहरु ? आफ्ना आसेपासेलाई भ्रष्टाचार, कालोबजारी, अनियमितता गर्न किन उक्साइरहेका छन् उनीहरु ? यो सब सम्झदा विरक्त लागेर आउँछ मलाई । म तीन वर्ष पहिला विदेशीदा जस्तो थियो अहिले पनि त्यस्तै छ मेरो देशको हालत । संविधान बन्यो भनेको सुन्दा निकै खुसी लागेको थियो । तर, एक वर्ष भइसक्दासमेत त्यही संविधान कार्यान्वयन हुन सकेको छैन । डेढ वर्ष पुगिसक्दा अहिलेसम्म भूकम्पपीडितका लागि सरकारले एउटा घर बनाउन सकेको छैन ।

अब तँ आफै भन त दिदी यस्तो अवस्थामा म जस्ता युवाहरुदेशमा बसेर विकास निर्माणमा जुट्छु भनेर के गर्ने ? भोली हातमा १०० को नोट थमाएर पार्टीको झण्डा बोकेर सभा, विरोध प्रदर्शन, आन्दोलन र नेपाल बन्द गराउन प्रयोग गरिन्छ हामीलाई । के पाखुरीमा बल, हातमा सीप र दिमागी ज्ञान भएका, जोस, जाँगरका साथ केही गर्ने अभिप्रायले हौसिएका हामी युवा राजनीतिक दलको झण्डे कार्यकर्ता हुनुपर्ने हो ? यदि होइन भने खोइ कसले घचघच्याउने नेताको ढोका ? कहिले हुने युवा एकजुट ? के हामी पनि उनै नेताको सिको गरेर बस्ने बेला हो यो ? त्यही १०० को नोट लिएर भट्टीजाने अनि एक गिलास लगाएर टाउँकोमा हात राख्दै विरत्तिनुबाहेक के छ यहाँका युवाको काम ? सायद नेपालमै भएको भए म पनि त्यसै गर्थेँ होला । मेरो यस्तो हालत देखेर बाबुआमको मन कति रुथ्यो होला ? भन त दिदी के मैले विदेश आएर केही विराएँ ?

सानो छँदा पढ्ने । शिक्षा, ज्ञान आर्जन गर्ने । ठूलो भएपछि विदेशीने । विदशेसमा पसिना बगाउने । अनि काम गर्न नसक्ने भएपछि फेरि देश फर्कने र लाचार भएर बस्ने । कहिलेसम्म चल्छ यसरी । निस्क्रिय अवस्था जति नेपालमा बिताउने । अनि जोस, जाँगर, उत्साह, आँट आदी भएको युवा समय (सक्रिय अवस्था) सबै विदेशी भूमिमा ! यसरी कहिले हुने देशको विकास ? यी सब कुरा सम्झदा विरक्त लागेर आउँछ दिदी ।

जे परे पर्छ अर्को वर्ष नेपाल आएपछि मैले नयाँ अभियान संचालन गर्छु । सबै युवालाई यी सब कुरा सुनाउँछु । अनि उनीहरुलाई साथमा लिएर नेतालाई खबरदारी गराउने काम गर्छु । हामी चुपचाप उनीहरुको गुलामी गर्ने र भोली नेता हुने रहर बोकेर उनीहरुको ‘यास म्यान’ बन्ने दिन अब धेरै छैन । उनीहरुले देश र जनताका लागि काम गर्नुपर्ने छ । कुनै पनि निर्णयमा विदेशीको हस्तक्षेप स्वीकार्य हुने छैन । यदि कसैले विदेशीको गुलामी गर्ने काम गर्छ भने हामी उसलाई नाङ्गो पार्ने छौँ । देश निकाला गर्ने छौँ । देश विकास भएमा, सम्बृद्धीको बाटोतर्फ लम्किएमा म जस्ता युवा विदेशीनु पर्ने छैन । अनि तँ जस्ता दिदीले भाइटिकाको दिन भाइ आउने आशमा आँसु बहाउनु पर्ने छैन । अब त्यो दिन आउन धेरै छैन दिदी । पहिले मलाई नेपाल आउन मात्र दे । म चाल्नेछु नेताहरुलाई खबरदारी अभियान । चाहे मेरो ज्यानै किन नजाओस् । देशका लागि अन्तिम लडाइ लड्नेछु म ।

लेख्दा लेख्दै मनको बह सबै पोख्न पुगेछु । बिहानको दुई बजिसकेछ । अब निद्रा पनि लाग्न थाल्यो । फेरि ५ बजे नै काममा जानुछ । यो पत्र पढेर तैले यसपालिको भाइटिकामा आँसु बगाउने छैनस् भन्ने आशा गरेको छु । यसपालि म आउन नपाए पनि अर्कोपाली पक्कै आउनेछु । तेरो हातबाट टिका लाउनेछु । दसैं, तिहार मनाउनेछु । मेरो देशको प्राकृतिक सुन्दरतासँग रमाउनेछु । राम्रो केटा हेरेर तेरो बिहे गरिदिनेछु । तेरो कसम नै भयो । अर्को तिहारमा म तेरो हातको टिका लगाउन अवश्य आउनेछु । यसपालिलाई भने माफ गरिदे है ।
उही तँलाई माया गर्ने भाइ…

twitter: @krishna79606

तपाईको प्रतिक्रिया