इटहरीमा दिउसै हात्ती आतङ्क : स्थानियद्वारा सुरक्षा माग

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं २ , ३ र १९ मा दैनिक जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि स्थानीयहरू त्रसित बनेका छन् । इटहरी २ शान्तिनगर , बौका , इटहरी १९ ब्रह्रम्पुर र भवानीपुर क्षेत्रमा दिउसै हात्ती आतङ्क मच्चिएपछि स्थानीयहरू त्रसित बनेका हुन । आगनमा गफ गरिरहेकै बेला छावा सहित ४ वटा हात्तीहरू आएर घरभित्रको धान लान थालेपछि भवानीपुरका स्थानीयहरूले जिउ ज्यानको सुरक्षा माग गरेका छन् । 

जङ्गली हात्तीको समूहले मङ्गलवार बिहान मात्रै ४ वटा घरमा क्षति पुर्‍याएको छ । इटहरी १९ ब्रहमपुरकि पवित्रा अधिकारी , कृष्णबहादुर विक , भवानीपुरकी दिलमाया विक र विष्णु राईको घरमा हात्तीले क्षति पुर्‍याएको हो । भवानीपुरका राई को घरमा ४ वटा हात्ती छिरेर कटेज भत्काइ रक्सीको भाडाहरू फुटाएको छ भने दिलमायाको घर नै भत्काएर भित्रबाट धानको बोरा लगेको पीडितहरूले बताएका छन् । पटक पटक उपमहानगरसँग हात्ती नियन्त्रणको माग गर्दै आएपनि कुनै सुनुवाइ नभएको पीडित मध्ये दिलमाया विकले बताउनुभयो ।हात्ती आतङ्ककै कारण अहिले सो क्षेत्रका बासिन्दाहरू सानो नानी च्यापेर रातभर जाग्राम बस्ने गरेका छन् । दिनभरि आफ्नै काम , रातभर जाग्राम यस्तै छ यहाँको अवस्था हात्ती धपाउन रातभरि जाग्राम बसेका इटहरी १९ का विष्णु राई बताउँछन् । 

त्यस्तै इटहरी १९ भवानीपुर स्थित सूर्य टोलमा पनि दैनिक स्थानीयहरू हात्ती धपाउनैलागि रातभरि जाग्राम बस्ने गरेका छन् ।  रातभरि आगो बालेर र थाल थटाएर हात्ती धपाउने गरेको उनीहरू बताउँछन् । इटहरी १९का बासिन्दाले मङ्गलवार नै वडा कार्यालय पुगेर जिउ ज्यानको सुरक्षा र विद्युतीय पोलहरूमा बत्ती र साइरन माग गर्दै लिखित निवेदन दिएका छन् । वडावासीहरूले वडाध्यक्ष श्री नारायण चौधरिलाई भेटेर उपमहानगर समक्ष यस्तो माग गरेका हुन ।हात्ती आतङ्कबारे उपमहानगरसँग छलफल भइरहेको र समस्या समाधान गर्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउने काम भइरहेको इटहरी १९ का वडाध्यक्ष श्रीनारायण चौधरीले बताए । 

यता उपमहानगरका मेयर हेमकर्ण पौडेल सँग सम्पर्क गर्दा उनले इटहरीको विभिन्न वडाहरूमा हात्ती आतङ्क मच्चिएको स्विकारेका छन् । कतिपय दिनहरूमा आफै पनि गस्तीमा निस्किएर हात्ती धपाउने गरेको मेयर पौडेलले बताए । सम्बन्धित सरोकारवालाहरू सँग एक प्रकारको छलफल भइरहेको र चाडै नै यो समस्या हल हुनेमा आफू विश्वस्त रहेको मेयर पौडेलले बताए ।

तपाईको प्रतिक्रिया