सुन्दरहरैँचा /सुन्दरहरैँचा कला साहित्य विकास समितिको आयोजनमा समितिका अध्यक्ष साहित्यकार छवि वैरागी घिमिरेद्वारा लिखित खण्डकाव्य “किरानीकृत माइली” को लोकार्पण गरिएको छ।
साहित्यकार वैरागीको यो नवौँ कृतिको लोकार्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ गायक तथा चलचित्र अभिनेता एल्पी जोशीले कार्यक्रमको उद्घाटन गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै जोशीले हामी मानव हौँ , मानव भनेको चेतनाका हिसाबले उच्च प्राणी भएकोले समान व्यवहार गर्न सके समानता हामीभित्रै हुने बताए । उनले यस्ता चेतनामूलक पुस्तकका माध्यमबाट होस् या हामीले कलाका माध्यमबाट सकेसम्म जनचेतना फैलाउन सके जातीय विभेदको अन्त्य हुने भनाइ व्यक्त गरे।
खण्डकाव्य लोकार्पण कार्यक्रममा पुस्तकको मूल दृष्टिकोणलाई नाट्यकर्मीद्वारा नाटकमा रूपान्तरण गरी नाटक मञ्चन गरिएको थियो । पुस्तकभित्रका रचनालाई सङ्गीतका माध्यमद्वारा रचना वाचन गायक दुर्गा पराजुली तथा गायिका तारा पराजुली ढकालले प्रस्तुत गरेका थिए । कला, साहित्य, सङ्गीतलाई समेटेर आयोजना गरिएको कार्यक्रममा गायिका द्वय गङ्गा विष्ट, कविता लिम्बू तथा आयुष विष्टले आधुनिक गीत प्रस्तुत गरेका थिए।
खण्डकाव्यका लेखक घिमिरेले मतव्यका क्रममा किरानीकृत माइली खण्डकाव्य एक यथार्थ माया प्रेमको वियोगान्त घटनाको कालखण्डलाई लिएर रचना गरिएको उल्लेख गरे । उनले समाजमा भएको जातीय छुवाछूत, देशको वर्तमान अवस्था, प्रकृति र मानव, पूर्वीय सभ्यता र शास्त्रीय यथार्थ जस्ता महत्त्वपूर्ण विषय खण्डकाव्यमा समेटिएको बताए । `जातीय विभेदका कारण प्रेम असफल भएको साथै यस्ता घटना समाजमा अझै घटिरहेका छन् ´ घिमिरेले भने `हामीले समाज रूपान्तरण गर्न जातीय विभेदको अन्त्य गर्न आफ्नो तर्फबाट उठ्नु पर्ने भएको छ´ । लेखक घिमिरेले आफ्ना पिताले जातीय विभेद अन्त्य गर्न तत्कालीन पञ्चायतकलामा खेलेको अहम् भूमिकाबाट प्रभावित भएर आफूले लेखकीय माध्यमबाट पनि जनचेतना फैलाउन सकिन्छ भन्ने मूल उद्देश्य राखी समाजको यथार्थ घटनालाई पुस्तकको रूप दिएर समाजको विद्यमान कुरीतिलाई अन्त्य गर्न सकिन्छ कि भन्ने भावना यस पुस्तकमा प्रकाश पारिएको बताएका थिए । उनले जातीय विभेद अन्त्य गर्न दलितले मात्र आवाज उठाएर समाधान हुन नसक्ने र जबसम्म गैर दलितले जातीय छुवाछूत गर्न हुँदैन सबै मानव एक हुन् भन्ने बुझ्न सकिन्न तबसम्म समस्या यथावत् रहने साथै जनचेतनाका लागि यो पुस्तक लेखेको उल्लेख गरे।
कार्यक्रममा विशिष्ट अतिथि साहित्यकार मनु मन्जिल, केशव सुनाम, सुन्दरहरैँचा नगरपालिकाका पूर्व संस्थापक नगरप्रमुख शिवप्रसाद ढकाल, हर्कमान तामाङ, सावित्रा परियार अतिथि तर्फ आधुनिक साहित्य परिषद् काठमाडौका अध्यक्ष मुरलीप्रसाद ढकाल, गौरी पब्लिकेसन्सका प्रबन्धक तथा साहित्यकार दामोदर ढकाल, नयाँ वृन्दावन गौशालाका पिठाधीश दिनबन्धु शास्त्री, समाजसेवी तिलक परियार लगायत अन्य विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूले मन्तव्यका क्रममा पुस्तकले दिन खोजेको जनचेतना सकारात्मक भएको बताएका थिए । कार्यक्रमलाई आयोजक संस्थाका सचिव केपी घिमिरेले सञ्चालन गरेका थिए ।