राजमार्ग ब्यवस्थित बनाउन धरानमा ब्यापक छलफल : अब भित्री सडकहरू “वान-वे“ (एक तर्फी)सञ्‍चालन गरिने

धरान / धरानको मुख्य बजार क्षेत्र पर्ने भानुचोक देखि पुतली लाइन र सब्जिमन्डि लगायतका स्थानमा “वान वे “ प्रणाली लागु गरिने भएको छ । अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले सोमबार धरान उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय , यातायात व्यवसायी र सरोकारवाला निकाय साथै सम्बन्धित संघसस्थाहरुसंग छलफल गरी साे निर्णय गरेकाे हाे ।

वान वे प्रणाली लागु गरिने भएपछि बैठकले वडा नं २ का अध्यक्ष रमेश राईको अध्यक्षतामा १७ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा वडा १, ३, ७, ९ र १२ का वडा अध्यक्षहरू, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रदेश १ अध्यक्ष सरोज श्रेष्ठ, टेम्पोका प्रतिनिधि, सुमोका प्रतिनिधि, सिटी सफारीका प्रतिनिधि, इलाका प्रहरी, जिल्ला ट्राफिक प्रहरीलगायतका प्रतिनिधिहरू सदस्य रहेका छन् ।

बैठकमा मेयर हर्क साम्पाङले भानुचोक र मुख्य बजार क्षेत्रको सडकलाई वान वे बनाउने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सबैले समर्थन जनाए पनि थप अध्ययन गरी योजना निर्माण र कार्यान्वयनको गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

धरानको बसपार्कसमेत रहेको भानुचोक हुँदै कोसी राजमार्ग पनि धनकुटातर्फ गएको छ । भानुचोक क्षेत्रमा पुग्ने जो कोही त्यहाँको अस्तव्यस्त र भिडभाडबाट आजित हुने गरेका छन । बस, मोटरसाइकल, ट्याम्पो र इ रिक्सा (सिटी सफारी)को चापले भानुचोक बसपार्क क्षेत्र, पुतली लाइन र देशी लाइन मात्र होइन, महेन्द्र पथ पनि अस्तब्यत बन्ने गरेकाे छ ।

उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रकाश सापकोटा कार्यदलको सदस्य सचिव छन् । यो कार्यदलले समग्र अवस्थाको अध्ययन गरी १० दिनभित्र प्रतिवदन पेस गर्ने बैठकले निर्णय गरेको छ ।

राष्ट्रिय यातायात व्यवसायी महासङ्घ प्रदेश १ का अध्यक्ष सरोज श्रेष्ठले २०४५ सालको भूकम्प अघि धरानमा मोटरसाइकल बाहेक अन्य सवारीसाधनहरूमा वान वे लागु गरिएको स्मरण गरे । उनले अहिले पनि वान वे लागु गरेमा धेरै सुधार हुने पनि बताए । गत वर्षदेखि ६ चक्के गाडीलाई वान वे गरिए पनि कडाइका साथ पालना गराउन जनशक्तिहरू खटाउन आवश्यक भएको पनि उनले बताए ।

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले सफारी र टेम्पोहरुको अत्यधिक सङ्ख्या बढ्दा भानुचोक र बजार क्षेत्र कुरूप भएको भन्दै कार्यदलले अध्ययन गरेर उचित सुझाव दिइनुपर्ने बताए । वडा नं २ का अध्यक्ष राईले धेरै प्रयास गरेर बजार क्षेत्रमा सडक खाली गराए तर अर्को यातायात आएर ओगट्ने गरेको भन्दै सबैको सहकार्य र प्रयास हुनुपर्ने बताए । बैठकमा सफारी र ट्याम्पो चालकहरूले आफूहरूलाई मात्र मर्का पर्ने गरी निर्णय नगर्न आग्रह गरेका थिए । उनीहरूले धरानको क्षमता र आवश्यकता नहेरी यातायातबाट दर्ता गरेर आउन नदिने पनि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने आग्रह गरेका थिए ।

प्रदेश नं १ ट्राफिक कार्यालयका प्रमुख एसपी श्याम कुमार महतोले आफ्नो कार्यकालका अनुभव सुनाउँदै प्रदेशको विभिन्न तथ्याङ्क प्रस्तुत गरे। उनले उपमहानगरलाई ट्राफिक सुधारका लागि विभिन्न योजना समेत बताए। एसपी महतोले स्थानीय आर्थिक रूपमा सहयोग गरे विभिन्न काम गर्नु सकिने बताए ।

तपाईको प्रतिक्रिया