ओली प्रवृत्ति पटक्कै मन नपरेको भन्दै इटहरीका पूर्व मेयर चौधरीले गरे ‘माओवादी’ प्रवेश 

धरान / एमाले अध्यक्ष केपी ओलीले एमालेको नेतृत्व गर्न नसकेको आरोप लगाउँदै उपमहानगरपालिकाका पूर्व मेयर तथा एमाले सुनसरीका पूर्व  अध्यक्ष द्वारिकालाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कुनै समय द्वारिकालालले ओली जत्तिको राम्रो नेता अर्को छैन भन्दै भाषण गर्थे भने अहिले उनी अलिकै विरोधमा उत्रेका छन्। आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा चौधरीले एमाले परित्याग गरी माओवादी पार्टीमा प्रवेश गरेका हुन । चौधरीलाई  दाहालले माओवादी पार्टीमा स्वागत गर्दै खादा लगाएर पार्टी प्रवेश गराएका थिए । 

माओवादी प्रवेश गरेका चौधरीले एमाले पार्टीलाई केपी ओलीले सही नेतृत्व गर्न नसकेको र एमालेमा खराब प्रवृत्ति हाबी भएका कारण एमाले परित्याग गरी माओवादी प्रवेश गरेको बताए  । उनले एमाले अध्यक्ष ओलीले मधेस र मधेसी जनताको विरुद्ध लागेर मधेसलाई अपमान गरेको पनि आरोप लगाएका छन् । 

चुनावको मुखमा चौधरीले एमाले परित्याग गरेपछि एमालेलाई सुनसरी क्षेत्र नम्बर २ मा अत्याधिक क्षती हुने भएको छ । चौधरी समुदायको बाहुल्यता क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर  २ (क) मा हुनलाई माओवादीले उम्मेदवार बनाउने चर्चा चलेको छ । चौधरीले भने आफू झापामा केपी ओली सँगै चुनाव लड्ने इच्छा व्यक्त गरेका छन् । उनले माओवादी पार्टीले टिकट दिए ओलीलाई झापामा चुनाव हराउने आफू सँग तागत रहेको बताए । यस अघि पूर्वेली न्युजले लिएको अन्तर्वार्ता उनले जुनसुकै पाटीमा पनि जान सक्ने बताएका थिए।

तपाईको प्रतिक्रिया