राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक हुमागाईं आइपुगे

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमका कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईं बुधबार नेपाल आईपुगेका छन् । अमेरिकामा रहेका हुमागाईं अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेसँगै स्वदेश फकिएका हुन् ।

हुमागाईंले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अनपस्थितिमा ११ असोजमा हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा टोली हेर्नेछन् । जसका लागि ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् ।

हुमागाईंलाई आज नै एन्फा महासचिव किरण राईले नियुक्तिपत्र दिएका छन् । उनको सहायकमा युगलकिशोर राई र गोलरक्षक प्रशिक्षकमा विनोद डंगोल छन् ।

यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाहसँग असन्तुष्ट रहेका १० खेलाडीलाई प्रशिक्षक हुमागाईंले प्रशिक्षणमा बोलाएका छन् । यसअघि टिम बाहिर रहेका सुमन लामा भने अष्ट्रेलिया पुगेका छन् । यस्तै, सन्तोष तामाङ र दर्शन गुरुङ पनि अष्ट्रेलिया छन् ।

यता, यसअघि बाहिर रहेका कप्तान किरणकुमार लिम्बूसहित दिनेश राजवंशी, तेज तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, रोहित चन्द, विशाल राई, विशाल श्रेष्ठ र अनन्त तामाङले पुनरागमन गरेका छन् ।

यस्तै, विकेश कुथु, अभिषेक रिजाल, भरत खवास, रन्जित धिमाललाई प्रशिक्षणमा बोलाइएको छ । हुमागाईंले पहिलो पटक राष्ट्रिय टिम हेर्न लागेका हुन् । यसअघि हुमागाईंलाई ए डिभिजन लिगमा थ्रीस्टार क्लब र पहिलो फ्रेन्चाईज नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी हेरेको अनुभव छ । अन्तिम समय राम्रो नतिजा नआएपछि हुमागाईंलाई क्लबले बर्खास्त गरेको थियो ।

तपाईको प्रतिक्रिया