धनकुटामा पहिरोले दुई घर पुर्दा दुई जना घाइते

धनकुटा / धनकुटामा पहिरोले दुई घर पुर्दा दुई जना घाइते भएका छन्। अविरल वर्षाका कारण शुक्रबार बिहान पहिरोले महालक्ष्मी नगरपालिका-२ लाफ्टाङमा दुई घर पुरिएको धनकुटा प्रहरीले जनाएको छ। धनकुटा प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालका अनुसार पहिरोले स्थानीय तिलकबहादुर कटुवालको घर पुर्दा ८४ वर्षीय कटुवाल र ४५ वर्षकी मित्रमाया कटुवाल घाइते भएका हुन्।दुवै जनाको दुवै हात भाँचिएकोले उनीहरूलाई उपचारका लागि सुनसरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

यस्तै, स्थानीय कोषमाया बुढाथोकीको घर पनि पहिरोले पुरेको छ। पहिरोले पुर्दा बुढाथोकीको घर, घरभित्रको सामान, अन्नपात, सुनचाँदी, नगद गरी अन्दाजी ४० लाख र कटुवालको घर, घरभित्रको सामान, सुनचाँदी गरी ३० लाख बराबरको क्षति भएको डिएसपी दाहालले बताए। ती दुई घरका साथै पहिरोको जोखिममा रहेका अरू दुई परिवारलाई तत्काल छिमेकीको घरमा सारिएको उनले बताए।

तपाईको प्रतिक्रिया