आर्य समाज : अध्यात्म र भौतिकवादको मिलनविन्दु

मानव जीवनमा दुःख-कष्ट छ, सङ्घर्ष र असफलताका कठोर अनुभूतिहरू छन् । त्यसै गरी मित्रहरू मात्र नभई वैरीहरू छन्, जो जतिसुकै बेला हाम्रो जीवनलाई दुःखद बनाउन उद्यत रहेका छन् । खालखालका रोगहरू छन् जो जुनसुकै बेला मानिसलाई सिकार गर्न तम्तयार छन् । अर्कातिर प्राकृतिक विपत्ति छ, बाढी, पहिरो, भूकम्प र खडेरी छ । यस्तै यस्तै अप्रिय कारकहरूको कारण मानिस सुखका पछाडि भौँतारिएको छ। तर सुख भने कदाचित मात्रै प्राप्त हुन्छ । यही दुःख, वेदना र क्लेशको समाधान गर्न शायद मानिसले भगवान्को चिन्तन तथा आराधना गर्न थालेका हुन् । संसारमा सुख र आनन्दका लागि मानिसले आध्यात्मिकता अँगाले । कतै आध्यात्मिक भावना र अभ्यासले जीवनमा सुख, मेलमिलाप र समृद्धि ल्याउन सहयोग हुन्छ कि भन्ने आशाले यता आकर्षित भए । त्यसैका लागि पूजा, आराधनाको विधि विधान र तीर्थको स्थापना तथा दर्शन गर्ने नियम बने । किनकि मानिस यो धरामा निरीह छ । यो विश्व ब्रह्माण्डमा मानिसको हैसियत अति निरीह र नगण्य छ ।

एकातिर मानिसले सुख र आनन्दका लागि आध्यात्मिक धारणाको विकास नगरे भने अर्कातिर मानिसले जीवनमा सुख, समुन्नति तथा समृद्धि खोज्न अनेकन् यन्त्रहरूको आविष्कार तथा प्रयोग गरे । ज्ञान विज्ञानका नयाँ नयाँ क्षितिजहरूको खोज र आविष्कार गरी मानव जीवनलाई यथार्थको आधारमा दुःख, कष्ट र क्लेशको कारण खोज्न तल्लीन रहे । उनीहरूले अध्यात्म र भगवान् तथा ईश्वरको अस्तित्वलाई काल्पनिक मानेर अस्वीकार गरे ।

दुर्गाप्रसाद खरेल

यसरी नै मानव संसारमा जीवन र जगत्लाई हेर्ने दृष्टिकोण दुई थरी पाइएको छ । धार्मिक भाष्य अनुसार अध्यात्मवादी दृष्टिकोण छ भने अर्को भौतिकवादी । यी दुई धारहरू एक अर्काका विपरीत ध्रुवमा रही भिन्न व्याख्या र भिन्न तर्कहरू गरी एक अर्कालाई आरोप लगाउँदै आएका छन् । अध्यात्मवाद अनुसार यो पुरा संसार भगवान्द्वारा रचित तथा नियन्त्रण भइरहेको छ । हामी भगवान्का सृष्टि हौँ र भगवान्बाट छुट्नु भनेको पाप हो । पाप गर्नाले हामी नरकमा पर्छाै । यो मानव चोलामा भगवान्को भक्ति र भजन गाउनु पर्छ । प्रविधिले मानिसलाई भौतिकवादी र भोगवादी बनाउँछ । त्यसबाट हामी अलग हुनुपर्छ ।

यसका विपरीत भौतिकवादीहरु छन् जो भगवान् र भक्तिमा विश्वास गर्दैनन् । सबै कुरा विज्ञान र प्रविधि मात्र हो, प्रकृति हो भनेर विश्वास गर्दछन् । ईश्वर, धर्म, भगवान् इत्यादि वाहियात हो भनी तर्क पेस गर्दछन् । संसारमा भगवान् र ईश्वर भए यतिका दुःख, अन्याय, अत्याचार किन भइरहेको छ? भगवान् दुःखीको दुःख निवारण किन गर्दैनन् आदि दृष्टिकोण जाहेर गर्दछन् । भौतिकवादीका विश्लेषणमा यो सम्पूर्ण जगत् र ब्रह्माण्ड स्वतःस्फूर्त उत्पत्ति भएको हो र यो सृष्टि प्रकृतिबाट निर्देशित र नियन्त्रित छ ।

तब अध्यात्मवादले तुरुन्तै जवाफ फर्काउँछ त्यो प्रकृति चाहिँ कसको सृष्टि हो? कर्ता नभई कर्म कसरी हुन्छ ? यस्ता प्रश्नहरूले भौतिकवादीहरू प्रकृतिको नियम भनेर पन्छिने गर्दछन् भने अध्यात्मवादीहरू विजयी मुस्कान छोड्छन् । अध्यात्ममा लागेका मानिसहरू सन्तोषमा परम सुखम् भन्ने मन्त्र सुनाउँछन् । तर अध्यात्मवादीहरू सबै आधुनिक प्रविधि प्रयोग गरी यस्ता आदर्शका कुरा गरेको पाइन्छ ।

अनि भौतिकवादीहरू भगवान् छन् भने देखाउन चुनौती दिँदै कड्किन्छन् । अहिलेसम्म भगवान् वा ईश्वर कसैले देखेको छ ? किन भक्ति गर्ने मानिस दुःखान्त मृत्युवरण गर्दछ ? बाघले जङ्गलका निरीह तथा असहाय जनावहरुलाई तड्पाई तड्पाई सिकार बनाउँदा किन भगवान् बचाउन आउँदैनन् भनेर तर्क गर्दछन् । किन भगवान्को भक्ति गर्नेहरू सांसारिक दुःख भोग्छन् इत्यादि प्रश्न गरेर अध्यात्मवादीलाई चुप गराउँछन् । यस्तै तर्क वितर्क र एक अर्कालाई मूल्यहीन पार्ने होडबाजीमा यी दुई धार विवादास्पद रही आएका छन् ।

अध्यात्मवादहरू भौतिकवादीलाई नास्तिकको विशेषण भिराउँदै भौतिकवादीहरू चरित्रका हिसाबमा पतित, अनुशासनहीन र भोगवादी हुन्छन् भनी व्याख्या गर्दछन् । धार्मिक भाष्यमा भौतिकवादी हुनु भनेको नास्तिक हुनु हो, नियम तोड्नु हो, उद्दण्ड हुनु हो, खानलाई जन्मेको जसरी जेसुकै खानु र उच्छृङ्खल गतिविधिमा लाग्नु हो । अध्यात्मवादी चरित्रवान्, नैतिकवान् हुन्छन् भन्ने आम मानसिकता स्थापित गर्न अध्यात्मवादीहरू सफल रहेका छन् । अर्कातिर भौतिकवादीहरू भने धर्म र अध्यात्मका आडमा भएका यावत् शोषण, व्यभिचार, सामाजिक विकृति, शक्तिको दुरुपयोग, मानिस मानिसबिच भेदभाव र हिंसा गरेको र धर्मको नाममा ठगी गरेर अकुत कुम्ल्याउने, अध्यात्ममा कुनै सुरक्षा नहुने तथ्यहरूको प्रमाण पेस गरेर अध्यात्मवादीहरूको कुतसित अनुहार उघार्न उद्यत रहन्छन् ।

सरसरती हेर्दा यी दुई वटै धारबाट मानिस माथि उठ्न नसक्ने कुरा अनुमान गर्न सकिन्छ । एकातिर प्रविधि र विज्ञानलाई निषेध गरेर चल्ने अवस्था छैन, मानिसको शारीरिक सुख र सुरक्षा अध्यात्मवादले गर्न सक्दैन यो पनि साँचो हो । सुखका पछि दौडिरहेको मानिस अध्यात्मवादबाट पूर्ण सुखी रहन सक्दैन । विज्ञान र भौतिकलाई प्रयोग नगरी अध्यात्मवादले मात्र मानिसको जीवन कस्तो हुन्छ भन्ने कुरा अध्यात्मवादीले आजको प्रविधि, साधन वा उपकरण प्रयोग नगरी वर्तमानमा जीवन गुजारा गरेर देखाओस् । भौतिकवादले नै संसारमा प्रविधिको विकास गर्छ, मानिसलाई भौतिक सुख प्रदान गर्न सक्छ । तर यो सुखले मात्र मानिस सन्तुष्ट भने रहन सक्दैन । किनभने भौतिक साधनको प्रयोगले मान्छे प्रकृतिबाट टाढा हुँदै जान्छ, शारीरिक श्रमबाट विमुख हुँदै जान्छ । फुर्सदिलो समयको वृद्धिले साधनको दुरुपयोग बढ्न जान्छ ।

मानिस यति प्रगति गरेर पनि असन्तुष्ट छ । संसारभर दुःख र विपत्ति कत्ति पनि कम भएको छैन । भौतिकसँग चिकित्सा विज्ञान छ तर विभिन्न रोग र प्राकृतिक विपत्ति, प्राविधिक दुर्घटनाहरूका कारणले मानिस सन्त्रस्त छ, पीडित छ । वैज्ञानिक आविष्कारको दुरुपयोगले मानव जगत्मा सङ्कट बढिरहेको छ, संसारमा युद्ध छ, अशान्ति छ । के यो स्थितिको जिम्मेवार अध्यात्म हो त ?

यी दुई वटा धार नै मानिसका लागि हो, संसारमा बस्ने प्राणीहरूका लागि हो भने किन सधैँ विवाद उत्पन्न गरिरहने? किन संसारका मानिसलाई यी दुई वादमा सधैँ अल्झाइरहने ? अब यो अध्यात्म र भौतिकवादले सधैँ झगडा गर्नु हुँदैन । आर्य समाजले महान् वेदद्वारा प्रतिपादित तथा वैदिक दर्शनका आधारमा अध्यात्म र भौतिकवादको व्याख्या गरेको छ । आर्य समाजले यी माथि उल्लेखित सम्पूर्ण समस्याहरूको पहिचान गरी अध्यात्म र भौतिकवादको अतिवादीका बिचको एउटा सार्वभौम सत्य र मिलनविन्दु पहिल्याएको छ । आर्य समाजको आह्वान छ, आऊँ मिलूँ, मिलनको विन्दु पहिल्याऊँ । यी दुई वटै पक्षहरू हातेमालो गराै, दुवैले मानिसको विकास चिताऊँ, प्रगति सोचौँ र एउटा नयाँ साझा लक्ष्य निर्धारण गरेर संसारका सबै मानिस एकैतिर अघि बढौँ जहाँ न यो विवाद रहन्छ, न यो भोगको वर्चस्व हुन्छ, न पाखण्ड हुन्छ, न उद्दण्डता हुन्छ, न युद्ध हुन्छ, न व्यभिचार हुन्छ, न विद्रोह हुन्छ, न असन्तुष्टि हुन्छ, न अभावले अपराध जन्माउँछ, न प्राविधिक क्लेश हुन्छ, न प्राविधिक दुरुपयोगले मानिस पीडित हुन्छ ।

आर्य समाजको भाष्यमा वेदबाट प्रतिपादित दर्शन अनुसार यो सम्पूर्ण सृष्टिमा तीन कुरा अनादि र अनन्त छन् जसको न सृष्टि भएको हो न कहिल्यै विनाश हुन्छ । ती तीन कुराहरू ईश्वर, प्रकृति र जीव हुन् । तिनमा ईश्वर चेतन, प्रकृति जड र जीव चेतन अवस्थामा हुन्छन् । यो सबै सृष्टि प्रकृतिबाट भएको हो तर त्यसमा निर्देशक ईश्वर रहेका हुन्छन् । ओउम् ध्वनि प्रमुख हो जो सृष्टि कार्यमा भूमिका खेल्दछ । यो सारा संसार ईश्वरबाट सिधै निर्देशित हुँदैन, प्रकृति मार्फत नियन्त्रित र निर्देशित हुन्छ । अब भएन आध्यात्मिक र भौतिकवादको फ्युजन ?

अब कुरा गराै देवता र भगवान् को हुन् ? आर्य समाजको वेद भाष्य अनुसार संसारमा ३३ देवता हुन्छन् जसले मानिस तथा पशुपक्षीलाई जीवन यापन गर्न प्रत्यक्ष सहयोग र भूमिका लिइरहेका हुन्छन् । तिनीहरू हाम्रो माननीय छन्, बन्धनीय छन्, हाम्रो सम्पूर्ण जीवनमा तिनको प्रत्यक्ष योगदान छ । वनस्पति, जलस्रोत, अन्न, फल, वृक्ष, वायु, जमिन, गाई लगायत पशुहरू आदि ३३ देवहरूले हाम्रो जीवनलाई चलायमान गरिरहेका हुन्छन्, तिनीहरू मध्ये कति चेतन र केही जड हुन्छन् । चेतना नभएका देवताहरूको हकमा तिनलाई पूजा आजा गर्नु, फलफूल चढाउनु र तिनलाई मानिसले खाने किसिमका कुरा चढाउनु आवश्यक छैन । चेतन वा जड जे भए पनि ती देवताहरू पूजाका भोका छैनन्् चेतनशील देवताहरू हाम्रा भावनात्मक आत्मीयता, माया, ममता र संरक्षणका भोका हुन्छन् भने जड देवताहरुलाई मानव तथा विश्वहितमा उपयोग र संरक्षण गरिनु पर्दछ । जड पदार्थहरुको उपयोग गर्दा प्रकृतिलाई कुनै हानि नोक्सानी नभए/नभएको कुरामा ध्यान दिएर उपयोग गर्नु अनिवार्य हुन्छ । ती देवताहरुलाई आघात पुर्‍याउनु हामीले आफैँलाई आघात पुर्‍याउने हो, तिनलाई क्षय गर्नु हामी आफूलाई क्षय गर्नु हो । अब भगवान् र देवताको विवाद पनि सकियो होला ।

अब कुरा आउला मन्दिर चाहिन्छ कि चाहिँदैन मानिसलाई ?

चाहिँदैन, किनभने ईश्वर सर्वव्यापक, सर्वअन्तर्यामी, अनादि, अजन्म, निर्विकार, सर्वचैतन्य परमेश्वर हुन् जो हाम्रो गतिविधि नियालिरहनु भएको छ भने मन्दिर गएर भगवान्लाई पैसा फलफूल चढाएर ढोँग गरिरहनुको औचित्य छैन । किनभने मूर्ति जड हो, जडलाई चेतनले ढोग्नु अत्यन्त अनुचित कुरा हो । मूर्तिलाई ढोग्दा अर्को सजीव प्राणीमाथि अन्याय भइरहेको कुरा पनि व्यवहारमा देखिसकिएको छ । अर्कोतर्फ भगवान् सर्वव्यापी भनेर मान्ने हो भने उनले हाम्रा हरेक क्रियाकलाप नियालेर मूल्याङ्कन गरिरहेका छन् भने किन मन्दिर गएर देखाउटी गर्ने ?

अब रह्यो कुरा भगवान्ले हामीलाई दुर्घटना र रोगहरुबाट बचाउँछन् कि बचाउँदैनन् भनेर । वैदिक मान्यतामा ईश्वरले हामीलाई बचाउने जिम्मा लिएका छैनन् । कसैले भगवान्ले हामीलाई बचाउँछन् भन्छ भने ती सब झुट कुराहरु हुन् । भगवान्मा विश्वास गर्दा पाप र अपराधबाट जोगिन्छ अनि रक्षा हुन्छ भन्न खोजेको भए ठिक छ । तर चालकले लापरवाहीपूर्वक चलाएको बसलाई थाम्न भगवान् चाहिँ आउँदैनन् यो सत्य हो । भेटेँ भनेर जेसुकै खान्छौ भने पक्कै रोगले चाप्छ अनि भगवान्को भूमिका कहाँ रह्यो बचाउने ! तिमी आफै दुःख र सुखका कारण हौ, तिम्रो समाज हो, त्यो तिमी बस्ने समाज, देश र परिवार पवित्र र आनन्ददायी बनाऊ, परोपकारी बनाऊ, प्रेमपूणर् बनाऊ, सुरक्षा, सुख र सन्तोष त्यसैमा पाइन्छ भन्नुहुन्छ वेद शास्त्रले ।

खोलामा नुहाउँदा र व्रत बस्दा धर्म हुन्छ कि हुँदैन ?

हुँदैन । वैदिक सिद्धान्तले नुहाएर, शैलमूर्ति पुजेर वा भोकै बसेर धर्म हुन्छ भन्ने कुरा विश्वास गर्दैन । तिमी आफ्नो अन्तःकरण शुद्ध बनाऊ, देह शुद्ध बनाऊ, चाहे खोलामा नुहाऊ वा इनारमा वा धारामा कुरा उही हो । अमुक वार, अमुक तिथि र अमुक महिनामा यो वा त्यो खोलामा नुहाउँदा पाप पखालिने, चिताएको पुरा हुने यी सब झुट कुरा हुन् । त्यस्तो हुने भए किन दक्षिण एसियाका हामी संसारमा सबै भन्दा गरिब, रोगी, पीडित, भोको छाै त ?

व्रत भनेको संकल्प हो, प्रण हो । नखाई बसेर धर्म हुँदैन, व्रत पनि होइन । तिमी आजदेखि आफ्नो निश्चित नराम्रो बानी छोड्ने र हितकारी कर्म गर्ने व्रत लेऊ । नखाई किन बस्नु र ! अँ, पेट गडबड छ भने एकदिन अन्न नलिईकन फलफुल वा जुस खाएर पेटलाई राहत दिन सकिन्छ, अलिअलि पौष्टिकता कमी भएको छ भने त्यो फलाहारबाट आपूर्ति हुन्छ । तर नुहाएर वा भोकै बसेर व्रत निष्फल हुन्छ ।

यो सब भौतिकवादी कुरा होे, यो लेख नास्तिकले लेखेको रहेछ भनेर कुरा काट्नेहरु धेरै हुनेछन् । तर भौतिकवाद विज्ञानमा आधारित भएकाले नकार्न सकिँदैन । अध्यात्म मानिसको आचरणलाई शुद्ध, पवित्र र अनुशासित पार्ने माध्यम भएकाले अध्यात्मको अभ्यास पनि गर्नुपर्छ । तर सबैथोक भगवान्ले गर्ने भए हामी किन काम गर्नु? किन मिहेनत गर्नु ? सरस्वतीका आराधना गर्दा विद्या पाइहालिन्छ भने, लक्ष्मीजीको आराधनाले धनवान् भइन्छ भने किन हैरान गर्नु ? विश्वकर्माको चिन्तनले सवारी दुर्घटनाबाट बचिन्छ भने किन बाटा घाटा भएनन् भन्नु? किन ट्राफिक सिग्नल र प्रहरी राख्नु? अन्धविश्वास र रुढिवाद मान्ने हो भने किन पढ्नु ? ढुंगालाई ढोग्ने भए किन विज्ञान पढ्नु ? किन विद्वान भएको अहंकार गर्नु ? यो सबको उत्तर यो लेखलाई धारेहात लाउनेले दिउन् ।

अब कुरा गराँै संसारमा युद्ध किन छ ? गरिबी किन छ ? दया माया र आत्मीयता किन छैन ? पशुहरुमाथि किन अत्याचार छ ? यो प्रश्न भौतिकवादीहरुलाई । यदि प्रकृति नै सबै थोक, विज्ञान प्रविधि नै सबैथोक र नास्तिकता नै सही थियो भने यो सब किन भइरहेको छ संसारमा ? किन मानिस खुसी र शान्त छैन ? यो सबको उत्तर वैदिक अध्यात्मले दिन्छ । संसारमा आफू मात्र बाँच्ने र आफ्ना मात्र सुरक्षित हुनुपर्छ भन्ने स्वार्थी सोचले यो लुछाचुँडी, युद्ध र अशान्ति छ । आर्यत्वको स्थापना र सबै मानिस र प्राणीहरुप्रति संरक्षण, आत्मीयता र मानवसेवाको भावनाले यस्ता समस्या धेरै मात्रामा समाधान भएर जान्छन् । वैदिक शास्त्र अनुसार परपीडन गर्नु महापाप हो ।

हुनेले नहुनेको शोषण गर्नु, शक्ति र ऐश्वर्यका लागि निमुखा र शक्तिहीनमाथि अत्याचार गर्नु अध्यात्मविपरीत कार्य हो । अतिरिक्त लोभ र लालचको आचरणले संसारमा युद्ध, कलह र विद्रोह जन्माउँछ । मानिसलाई गरिमामय बनाउन र सुख शान्ति स्थापना गर्न अरुप्रति सम्मान र अरुको अधिकारप्रति सचेत हुनु जरुरी हुन्छ । परोपकारको भावनाले मानिसलाई उच्च र गरिमामय बनाउन सहयोग गर्दछ । दया र आत्मीयताको भावनाले पशुहरुमाथि न्याय हुन्छ । प्रकृतिलाई शान्त राख्न पनि केही आध्यात्मिक आचरणलाई सम्पूणर् मानवजातिले अवलम्बन गर्नै पर्ने हुन्छ नत्र दुरारोग्य ब्याधी र प्राकृतिक प्रकोप जस्ता समस्याहरुबाट मानिस संकटग्रस्त हुन्छ ।

मानिस दुःखी र संकटग्रस्त हुन थालेको स्वार्थी, दम्भी, पक्षपाती, लालची र द्वेषपूणर् भएकाले हो । किनभने एउटाले अर्कालाई जब दुव्र्यवहार गर्न थाल्दछ तब अर्को व्यक्ति पनि आफूलाई कमजोर पार्ने दाउ हेर्न थाल्दछ । यसरी नै समाज दूषित हुन्छ र समाजमा दुःख-कष्ट हुन्छ । आर्यसमाजले मानिसलाई सुखी र सन्तुष्ट बनाई समाज र राष्ट्रलाई नै सुखी बनाउने महान् योजना गरेको छ । वैदिक साहित्यमा धेरै श्लोकहरुले मानिसलाई सहज, सुखी, परोपकारी जीवन यापन गर्न मार्गदर्शन गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया