कविता : परदेशी मायालु || सविता गौतम दाहाल

परदेशी मायालु !
तिमी गएपछि
जीवन संगीतका अदभूत आयाम
वाध्ययन्त्रको विस्तारण
रागहरुसंग वहेको रोमानी रहर
यो दिलमा वज्दैन होला
तिम्रो आँखा भएर उठ्ने छालले
मलाइ भिजाउदैन होला
रेशमी स्पर्श र अनुुपम सुगन्धवाट टाढिन्छु होला
वुझेरपनि नवुझेझैं हुन्छु वेला वेला !

म संगै आँगनमा वस भन्न सक्दीन
शिखर पुग्ने, गहिराइ जान्ने वेला यो
तिमीसंगै शहर जान सक्दीन
सय वोट सयपत्री रोपेकी छु यसपटक
जर्सी गाइ छन गोठमा
केही उन्नत वाख्रा, कुखुरा छन खोरमा ।

प्रतिभावान मायालू !
पदक पहिरिएर
मन पग्लीए, चाँडै आउनु
यो छाती तिम्रो अँगालोमा
वाधिन आतुर हुनेछ
मन नलागे नआउनु, उत्तै रमाउनु
विल्कूल दुःखी हुने छैन् ।

मीठा अनुभूति अंकीत छन्
हरियो र हुस्सुमा हामी घुमेको
जीवन र जगतका कुरा गरेको
सुन्दरता र संपूर्णताको अर्थ वुझेको
मायालु पलका साक्षी छन
संगै घुमेका देउराली
डाँडामाथिको आत्मा घर
उकाली ओराली गरेका वाटा ।

हरदिन उदाउने सूर्यमा
हाम्रा याद वसेका छन्
तिमी गएपछि ,
म टोलाएर वस्ने छैन्
गाँउको ओत ,गरिखाने अठोट
सयपत्रीका सुनौला वोट
दुधदिने गाइ र गोठ
तिमीले चुमेका आफ्नै ओठ
सवै मसंग भलाकुसारी गर्नेछन् ।

परदेशी मायालू !
फर्किएर आउनै पर्छ भन्दीन्
प्रशंसकको भीडवाट
फुर्सद मिले नरोकीनु, झट्टै आउनु
यो संगीतमय यौवन तिम्रै हो
मन उतै रमाए , कुनै करकाप छैन् ।

यात्रु मायालू !
पर्खिएर रुनुमा म विश्वास गर्दीन
सिफनको सारी अथवा उपहारको भारी
कुनै भौतिकता आश गर्दीन्
आयो भने म तिम्रै
आएनौ भने म मेरै
सोध्ने जतिलाई भनि दिन्छु
मेरो प्रेमी परदेशमा छ ।

वस्तीभरि कामको खात
घाम छउन्जेल मेलापात
रातपरेपछि जुनसंग केहीवेर वात
तिम्रो अप्ठ्यारो यात्रा , उच्च पहिचान
छ मलाइ ज्ञात
सहजै सहन सक्छु कुनै पनि वज्रपात !

गीत–संगीत वुझ्छु
पढ्न, लेख्न जानेकी, हिम्मतिली छु
फर्केर आए , यो जीवनको दरिलो तार
जो वज्नेछ सिर्फ तिम्रो झन्कार ।

माया वहिरहे
निश्चय आउनु ! मिलेछ भने वोलाउनु
थान्को मुन्को गरेर आउला !
झूठा सपना वा सन्देश कहिल्यै नपठाउनु
आश्वासनका गहन गीत नगाउनु
प्रिय ! मन गर्जिए, वर्षा लिएर आउनु
यो जीवन वीज तिम्रै हो
संभावित हरियाली हाम्रो हुनेछ
नलागे , उतै खुशी खुशी रमाउनु
विलाप मेरो शव्दकोशमा छैन्
म त एक्काइसौ शताव्दीकी मायालु !

तपाईको प्रतिक्रिया