गठबन्धनको राजनीति नेपालको भविष्य : यज्ञप्रसाद शर्मा

वर्तमान नेपाली राजनीतिकमा गठबन्धन चर्चामा छ । अझ बाम गठबन्धनको चर्चा चुलिएको छ । बाम गठबन्धनको चर्चा यतिबेला नै हुनुको रहस्य रमाइलो छ । हालै स्थानीय तहको चुनाव सम्पन्न भएको छ । यस चुनावमा केही वामपन्थी दलहरू गठबन्धनको नाउँमा काङ्ग्रेसको छहारीमा बसेर भाग लिए । काङ्ग्रेस र नेकपा एमाले अहिलेका प्रतिस्पर्धी पार्टीहरू हुन् । त्यसैले काङ्गेसले नेतृत्व गरेको गठबन्धन नेपाल कम्युनिस्ट पार्टी (एमाले) विरुद्ध लक्षित थियो । एमालेलाई सकेसम्म हराउने र नसके कमजोर बनाउने उद्देश्यले बनेको थियो । यो गठबन्धन चुनावभन्दा एक वर्षअघि नै बनेको हो । नेकपा (एमाले)को नेतृत्वमा रहेको बहुमतको सरकार अपदस्त गर्ने उद्देश्यले । त्यही उद्देश्य पूर्तिको लागि बनेको गठबन्धनले अहिले सरकारका बसिबसी चुनाव गराउँदै छ । सत्तामा बसेर चुनाव गराएकाले होला गठबन्धनको पक्षमा स्थानीय चुनावमा बहुमत स्थान सुरक्षित भएको देखियो । त्यस हिसाबले गठबन्धन आम रूपमा सफल भएको देखियो । तर, त्यस गठबन्धन भित्रका वामपन्थी दलहरू भने गठबन्धनको शैली र चुनावी परिणाममा सन्तुष्ट देखिएका छैनन् ।

सम्पन्न स्थानीय चुनावको परिणामले नेकपा एमालेलाई दोस्रो र नेपाली काङ्ग्रेसलाई पहिलो पार्टीका रूपमा स्थापित गरिदियो । नेपालका वामपन्थीहरूको विश्लेषण विभिन्न छ । ‘सिट संंख्यामा अलिकति घटी भए पनि जनमत हाम्रो पक्षमा छ । हामीले जित्यौँ ।’ चुनावपछि एमालेले दाबी गरेको छ । उता गठबन्धनको छाताभित्र रहेको नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) भन्दै छन्, ‘एमालेलाई केही हदसम्म सानो बनाउन पाइयो । हामीले धेरै जित्न नसके पनि खुसी छौँ ।’ अर्थात्, जुन परिणामले नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनायो वामपन्थी दलहरू त्यसलाई आफ्नो विजय ठानिरहेका छन् । प्रष्ट छ, उनीहरूको दृष्टिकोण रोगी र भ्रमपूर्ण छ । यस्तै भ्रमपूर्ण राजनीति गर्नेहरूका कारण नेपालको वाम आन्दोलन क्रमशः अन्योलग्रस्त र कमजोर हुँदै गएको छ । वाम मतदातामा निराश छन् । देशबाटै नागरिकहरू पलायन भइरहेका छन् । नेपालीहरू पलायन हुनुको एउटा कारण जनमत बलियो भएर पनि वामपन्थीहरू आपसमा लडेर अरूलाई सत्ता सुम्पिनु नै हो ।

 

यस्तो अवस्था भए पनि बाम एकताको चर्चा समकालीन राजनीतिमा सुरु भएको छ । बामदेव गौतम सबैलाई मिलाउँछु भनेर ताउर माउर गर्दैछन् । यद्यपि उनका कार्यकर्ता छैनन्, कसलाई मिलाउने हुन् । एकीकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुनहरू एमाले नेतृत्वसँग कुराकानीमा रहेको चर्चा छ । उहाँहरू एमाले र माओवादी केन्द्र सहकार्य गरेर जानुपर्ने मतमा रहेको समाचार आइरहेको छ । एकीकृत समाजवादीका नेता झलनाथ खनाल पूर्व पार्टीमा फर्किन इच्छुक छन् । माधव नेपाल र पुष्पकमल दाहालहरू भने गएको स्थानीय चुनावमा चाहे जति सिट जित्न नसके पनि जति जितियो त्यो पनि औकात भन्दा बढी नै हासिल भएको भन्दै काङ्ग्रेसको नेतृत्वको गठबन्धनलाई निरन्तरता दिनुपर्ने वकालत गर्दै छन् ।

यही बेला अमेरिकाले नेपाललाई राज्य सहकार्य कार्यक्रम (एसपीपी) नामको सैन्य सम्झौता गर्न दवाब दिइरहेको छ । विश्वमा युक्रेनमा भएको रुसी हस्तक्षेपविरुद्ध हत्त न पत्त बोलेर प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व मञ्चमा विगतदेखि नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिको विरुद्ध अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल हुन इच्छुक रहेको जस्तो व्यवहार देखाइरहनु भएको छ । यस्तो विश्व रङ्गमञ्चमा युक्रेनको युद्धमा तटस्थ रहेका चीन र भारतको नेपालप्रतिको दृष्टिकोण के हुने? अन्यौल छ । चिनियाँहरू नेपालमा बढ्दो अमेरिकी हस्तक्षेप मन पराइरहेका छैनन् । भारतीयहरू चीनले नेपालको मामिलामा रुचि देखाएको मन पराइरहेका छैनन् । यो कुरा उनीहरूको बेलाबेलाको वक्तव्य र कूटनैतिक टिप्पणीबाट स्पष्ट हुँदै आएको छ ।

यस्तो विश्व परिवेशमा नेपालका वामपन्थीहरूको भूमिका के हुने भन्ने प्रश्न गम्भीर रूपमा खडा भएको छ । नेपालमा दुईवटा दलतिर जनमत विभाजित छ । एकातिर कम्युनिस्टहरू र अर्कोतिर प्रजातन्त्रवादी काङ्ग्रेस । बिचमा रहेका उग्रपन्थी र दक्षिणपन्थीहरू शक्तिहरू घरियता र घरी उता गरिरहेका छन्, स्थिर हुन सकेका छैनन् । बरु अझ छिन्नभिन्न भइहेको छन् । नीति र नेतृत्वमा स्थिरता नदेखिएको कारण ती दलहरू नै क्रमशः कमजोर बन्दै जाँदैछन् । बिस्तारै दुई ध्रुवीय राजनीतिमा मुलुक जाँदैछ । यी दुई धु्रबहरूमा सबल राजनीतिक नेतृत्व चाहिएको छ । दूरदृष्टि भएको सबल र सक्षम नेतृत्वले मूलकलाई दिशानिर्देश गर्ने सम्भावना छ । यसरी हेर्दा प्रजातान्त्रिक धारमा नेपाली काङ्ग्रेस र वामपन्थी धारमा नेकपा एमाले नै बलियो र स्थापित देखिएको छ । अहिलेका प्रमुख दलको हैसियत पनि यी दुई पार्टीले नै पाएका छन् । पर्दा एक्लै राष्ट्रिय चुनावमा प्रतिस्पर्धा गर्ने हैसियत यी दुईटामा मात्र छ । अरू त लहरा जस्ता मात्र भए । चुनावको हावा चल्न थाल्यो कि थाङ्ग्रो खोजिहाल्नु पर्ने । थाङ्ग्राको रूपमा तिनले समाउने दल या त एमाले हो या नेपाली काङ्ग्रेस । अरू त मेरुदण्ड नै नभएजस्ता छन्, चुनावमा खडा हुनै नसक्ने । पहिलो संविधानसभाको चुनावमा पहिलो पार्टी बनेको माओवादी केन्द्रले समेत एक्लै चुनाव लड्ने सामर्थ्य गुमाएको छ । सबैभन्दा बढी गठबन्धनको राग अलाप्ने उही छ, उता र उति गर्दै आड खोजिरहेको देखिन्छ ।

अबको चुनावी गठबन्धन वामपन्थी कि प्रजातान्त्रिक ? यस प्रश्नको जवाफ खोज्नका लागि अलिकति पृष्ठभूमिका बारेमा छलफल गरौँ । कम्युनिस्टहरू अमेरिकाको हस्तक्षेपकारी नीति र भारतको छिमेकीविरुद्धको अर्धेल्याइँको विरोध गर्दै आएका शक्तिहरू हुन् । तर, त्यहाँभित्र सच्चा देशभक्त र प्रगतिशीलहरू छन् । उनीहरू साम्राज्यवादी र विस्तारवादी नीतिका विरुद्धमा लडिरहेका छन् । त्यसैको फलस्वरूप नेपालमा पुनः बाम एकता वा गठबन्धनको चर्चा सुरु भएको छ । यो बहस सैद्धान्तिक रूपमा भन्ने हो भने मुलुकलाई पुरानो पुँजीवादी बाटोबाट समृद्ध बनाउन सकिन्छ कि राष्ट्रिय पुँजीको विकास गर्दै राष्ट्रवादी राजनीतिक धारबाट भन्ने विषयको बहस हो । चुनावी गठबन्धनको चर्चा त्यसैको ठोस रूप हो । यथार्थमा नेपाल असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्ने विश्वबन्धु कुटुम्बकमको नीतिमा रहेको देश हो । दुईतिरका छिमेकी राष्ट्रहरू र विश्व राजनीतिमा उनीहरूको बढ्दो प्रभावले पनि यसलाई कुनै एक ध्रुवतिर ढल्किन दिँदैन । सन्तुलित परराष्ट्र नीति वर्तमान नेपालको भूराजनीतिक माग हो । यसलाई ध्यान नदिई गरिएको कुनै पनि राजनीति सफल र दिगो हुँन सक्दैन । समृद्ध नेपाल निर्माणका लागि दुई छिमेकी र विश्वका शक्तिशाली देशहरूबाट पाउँदै आएको सहयोग र सद्भाव नेपालले भविष्यमा पनि पाइरहने अवस्था बन्नु पर्दछ । कसैको उक्साहटमा एकापट्टि ढल्किएर मुलुकलाई नै अशान्त बनाउन र अनिश्चित भविष्यतिर धकेल्न दिनु हुँदैन । वास्तवमा असंलग्न रही सन्तुलित परराष्ट्र नीति अपनाएर नै मुलुकको शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिन्छ ।

आगामी मङ्सिर तिर हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका मुख्य प्रतिस्पर्धी दलहरू एमाले र काङ्ग्रेस नै हुन् । बाँकी दलहरूले एकाध ठाउँ जित्लान् । जस्तो कि मधेसवादी दलहरूले एक्लै पनि केही स्थानहरूमा जित्न सक्ने सामर्थ्य राख्छन् । साना दलहरूले गठबन्धन बनाएर चुनाव लड्न सक्छन् । त्यसो गर्दा पनि केही ठाउँ जित्लान् तर, चुनावपछि मुलुकको राजनीतिकको नेतृत्व गर्न सक्दैनन् । चुनाव पछि मुलुकको निर्णायक शक्ति बन्ने सम्भावना भएका दल एमाले र काङ्ग्रेस नै हुन् । यी दुईले नेतृत्व गरेको गठबन्धन मध्ये कुनै एकमा सामेल भएमा साना दलहरू पनि नीति निर्माणको तहमा पुग्ने सम्भावना रहन्छ । यसर्थ सत्तामा पुगेर केही गर्ने सोच बनाएका दलहरूका लागि गठबन्धनमा आत्रद्ध हुनु अनिवार्य छ । नेपाली काङ्ग्रेसले पनि एक्लै चुनावमा जान डराइरहेको अवस्था छ । तिनका नेताको बेलाबेलाको अभिव्यक्तिबाट त्यही आभास हुने गरेको छ ।

विश्वको शक्ति सन्तुलन र नेपालको भूराजनीतिक आधारमा काङ्ग्रेसले अपनाएको दृष्ट्रिकोणले मूलकलाई खतरनाक मोडतर्फ धकेल्न खोजिरहेको छ । कुनै पनि विश्व रङ्गमञ्चमा अमेरिकी शक्तिकेन्द्रमा सामेल हुने खतरा छ । युक्रेनको युद्धमा गरेको समर्थन र स्टेट पार्टनरसिप प्रोग्राम ल्याउन देखाएको तत्परताले त्यही सङ्केत गरिरहेको छ । यस्तो बेलामा मुलुकको स्वाधीनता रक्षा गर्दै समृद्धिको बाटोमा अग्रसर गराउने हो भने मुलुकको नेतृत्व वामपन्थी शक्तिले हत्याउनु अनिवार्य छ । त्यो शक्ति कुन हो? माधव नेपालको एकीकृत समाजवादी पार्टी आफैँ तहसनहस छ। अराजकताको झुण्ड जस्तो देखिएको छ । त्यसबाट सम्भव छैन । पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्र राजनीतिक सिद्धान्त नभएको र सही धार समाप्न नसकेको सङ्क्रमणकालीन अवस्थामा छ । विभाजित भएर कमजोर भएको छ । नेताहरूमा सामान्य लोकतान्त्रिक नैतिकता नभएको र नीतिगत भ्रष्टाचारको संरक्षक भएको बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले गरेको निकृष्ट हर्कतकबाट पुष्टि हुन्छ । अझ खतरनाक पक्ष त के भने पार्टीले उनलाई संरक्षण गर्छ । माओवादी केन्द्र अब कम्युनिस्ट शक्ति होइन ।

किनकि उनीहरू कम्युनिस्ट शक्तिलाई सत्ताबाट ओरालेर काङ्ग्रेसलाई सुम्पिन पाएकोमा खुसी छन् । त्यही प्रयोजनका लागि गठबन्धन बनाउ एमालेको सरकार ढालेर नेपाली काङ्ग्रेसलाई नेतृत्व सुम्पिन टुप्पीदेखिको बल लगाएर जनताको आशामा तुसारो पार्न पाएकोमा खुसी छन् । उनीहरूबाट सम्भव छैन । नेत्रविक्रम चन्द विप्लव वा मोहनविक्रम सिंह वा मोहन वैद्य ‘किरण’ कोही पनि कमरेडहरू वर्तमान राजनीतिको निकासका लागि नेतृत्व गर्ने हैसियतमा छैनन् । सिपी मैनालीको माले र ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा पनि त्यो अवस्थामा छैन । त्यसैले नेपालको वाम शक्तिको नेतृत्व गर्न सक्ने सामर्थ्य नेकपा एमालेमा मात्र छ । विश्वव्यापी छवि राम्रो छ । उग्रवादी र दक्षिणपन्थी धारसँग लडेर स्पातिलो बनेको छ । मार्क्सवाद, लेनिनवादको आलोकमा जनताको बहुदलीय जनवाद जस्तो गतिशील सिद्धान्तको आधारमा राष्ट्रियता र समृद्धिको अभियानको नेतृत्व गरेको पार्टी हो । नेपाली जनताबिच परिचित र परीक्षित शक्ति हो । त्यसैले अब साना ठुला कम्युनिस्ट दलहरूले एमालेसँग सघन वार्ता गरेर एकताको वातावरण बनाउनु राम्रो हुन्छ । तत्काल एकता सम्भव नभए चुनावमा वाम गठबन्धन गरेर असल वामपन्थीहरू एकै ध्रुवमा उभिउन् । त्यसै गरी गैरकम्युनिष्टहरूले काङ्ग्रेसको नेतृत्वमा अर्को गठबन्धन बनाएर चुनाव लडुन् । चाहे गठबन्धनको माध्यमबाट होस वा तालमेल गरेर । यो नै प्राकृतिक र स्वाभाविक हुनेछ । सैद्धान्तिक आधारमा भएको गठबन्धन प्राकृतिक र दिगो हुन्छ ।

तपाईको प्रतिक्रिया