प्रदेशको नाम राख्न कसले रोकेको छ ?

प्रदेश नं.१ प्रदेश सभाको पाँचौँ वर्ष पूरा हुन लाग्दा समेत नामकरण हुन सकेको छैन । सबैभन्दा पूर्वको प्रदेश सबैभन्दा ढिलो र १नं. प्रदेश सबैभन्दा अन्तिम बनेको छ । नाम नराखी प्रदेश सभाको आयु सकिने त होइन भन्दै नागरिकले व्यङ्ग्य गर्न थालेका छन् । प्रदेश सभाको दुई तिहाइ बहुमतले नाम राख्न सकिने संवैधानिक व्यवस्था छ । पालैपालो सबै दल सरकारमा पुगे, नेकपाको एकलौटी दुई तिहाइ बहुमतको सरकार बन्यो तर पनि प्रदेशले नाम पाउन सकेन । अहिले पनि प्रदेश नामकरणको मुद्दा नेतृत्वको व्यवस्थापकीय क्षमतामाथि प्रश्न गर्दै जहाँको त्यहीँ छ ।

प्रदेशको लागि चर्चामा रहेका नामहरू-सगरमाथा, किराँत, कोसी, लिम्बुवान, विराट, कोचिला आदि छन् । यीमध्ये कोसी नाम यस प्रदेशका लागि उचित रहेको तर्क गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा आह्वान गर्नुभएको छ । पछिल्लो समयमा प्रदेशसभाका माननीयहरू जुर्मुराएको महसुस भएको छ । मुख्यमन्त्रीले अनुरोध गर्नु भएपछि विपक्षी दल एमालेले एउटा समिति बनाएर गृहकार्य गरिरहेको समाचार पढ्न पाइएको छ । जे भए पनि नामकरणको विषय पुनः चर्चामा आएको छ । बौद्धिक वर्गमा टीकाटिप्पणी भइरहेको छ । तर अझै पनि सार्वजनिक रूपमा बहस भएर पक्ष र विपक्षमा जुन मात्रामा तर्कहरू आउनु पर्दथ्यो, आएको छैन । 

अब रह्यो नाम के राख्ने भन्ने कुरा । किराँत वा लिम्बुवान राख्नुपर्दछ भनेर माग गर्ने अभियानकर्र्मीले पर्याप्त तर्क गर्नुभएको छ । उहाँहरूले ऐतिहासिकता र पहिचानलाई जोडेर बहस गरिरहनु भएको छ । सगरमाथा हुनुपर्दछ भन्नेहरूको एउटै तर्क छ, प्रदेशको नाम सगरमाथा राख्दा यो विश्वभर चिनिन्छ । संसारले एभरेस्ट चिन्छ कि सगरमाथा भनेर पनि सोच्नु भएको छैन । सबैले आफ्नो पक्षलाई बलियो बनाउन तर्क गर्नुपर्दछ  । तर्कबाट अरूलाई सहमत बनाएर आफ्नो पक्षमा ल्याउन सक्नुपर्दछ । 

यस लेखमा मैले सबैको दाबी र तर्कलाई सम्मान गर्दै कोसी प्रदेशको पक्षमा आफ्नो धारणा राख्न गइरहेको छु । कोसी पक्षमा तर्क गर्दा पुरानो कोसी अञ्चललाई पुनरावृत्ति गर्न चाहेको आरोप लगाएर कसै कसैले खण्डन गरेको पाइएको छु । त्यसैले कोसीको महत्त्व र नामकरणको औचित्यबारेमा आम ज्ञान बढाउने उद्देश्यले केही तथ्य र तर्कहरू अगाडि सारेको छु । आशा छ, यी तथ्य र तर्कहरूले निर्णयकर्ता र सरोकारवालाको ज्ञानको दियो बाल्न सजिलो हुनेछ ।

कोसी यस प्रदेशको मात्र होइन नेपालकै ठुलो नदी हो । कोसी क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना बनाउन सक्छ । यसमा गरिएको लगानीबाट यहाँका जनताले प्रतिफल लिन सक्छन् । प्रदेश नं. १ मा पर्ने सबै पहाडी जिल्लाहरू कोसीमा आउने पानीका मुहान क्षेत्रहरू हुन् । तिनीहरूसँग कोसीको पानी ढलको सम्बन्ध छ । कोसी बेसिन क्षेत्रभित्र पर्छन् । तराईका जिल्लाहरू कोसीबाट सिञ्चित भएर उर्वर बनेका हुन् । सुनसरी र मोरङ जिल्लाका धेरै क्षेत्रहरू सप्तकोसीको नहरको पानीबाट प्रत्यक्ष सिञ्चित छन् । तमोर-चिस्याङ डाइभर्सन बनेपछि झापा जिल्ला पनि सिञ्चित हुन सक्नेछ कोसीको चिसो पानीबाट । यसरी प्रदेश नं. १ का सबै जिल्लाहरूको साइनो कुनै न कुनै रूपमा कोसी नदीसँग जोडिएको छ । यस प्रदेशको जीवन, सभ्यता र संस्कृतिसँग कोसीको सम्बन्ध अटुट र अभिन्न छ ।

कोसी नदीले यहाँका आदिवासी जनजातिको संस्कृतिको प्रतिनिधित्व गर्छ । प्रकृति पूजक यहाँका जनताको जन्मदेखि मृत्युसम्मका संस्कारहरू कोसी र यसका शाखा नदीहरूसँग जोडिएका छन् । किराँत संस्कृति यस क्षेत्रको निक्कै समृद्ध संस्कृति हो । लिम्बुवान यसै क्षेत्रमा पर्दछ । यहाँका बासिन्दाहरू क्षेत्री,बाहुन, राई, लिम्बु, देवान, जिमी, दनुवार, जोगी, मुसहर, झाँगड, बाँतर, सन्थाल, राजवंशी, पूर्वी थारुहरू हुन् । उनीहरूको संस्कार र संस्कृति नदीसँग जोडिएको छ । जुनसुकै जिल्लामा रहेर नदीको पूजा गरे पनि त्यस नदीको सम्बन्ध कोसी नदीसँग जोडिएको छ । कोकाहा नदी, चतहरा, वराहक्षेत्र, विष्णुपादुका, रामधुनी कोसीसँग जोडिएका धार्मिक स्थलहरू हुन् । त्यसैगरी प्राचीन मिथिला, प्राग्ज्योेतिष,पुन्द्रबर्धना,विराटराजाको दरबार, विजयपुर, चौदण्डी, उदयपुर गढी, बेलका, मैनामैनी यी सबै ऐतिहासिक धार्मिक तथा पौराणिक महत्त्वका स्थलहरूको इतिहास कोसी सभ्यतासँग जोडिएको छ । विजयपुर, चैनपुर, माझकिराँत यस क्षेत्रका ऐतिहासिक राजनीतिक महत्त्वका स्थानहरू हुन् । सभापोखरी, दिङ्ला, विराटनगर जस्ता ऐतिहासिक क्षेत्रहरू यही छन् । यी सबै कोसी सभ्यताका अभिन्न पाटा हुन् ।
सप्तकोसी सात वटा ठुला नदीहरूको सङ्गम हो । अन्य सयौँ साना नदी र खहरेहरू यसमा समाहित छन् । यी नदीहरूमा बग्ने पानीको स्रोत सर्वोच्च शिखर सगरमाथा र हिमालय शृङ्खलाहरू हुन् । सप्तकोसीका सात वटा शाखा नदीहरूमध्ये दुधकोशीको शिर सगरमाथा हो । तमोर सबैभन्दा पूर्वबाट ओर्लिएको छ भने इन्द्रावती सबैभन्दा पश्चिमबाट बग्दछ । तमोर कञ्चनजङ्घा हिमालबाट र इन्द्रावती गोसाईंकुण्ड सन्देश बोकेर मधेशतिर झर्दछ । अरू र भोटेकोशको शिर चीनको तिब्बतमा भए पनि अरू किमाथाड्काबाट र भोटेकोसी तातोपानी नाकाबाट नेपाल प्रवेश गर्दछन् । अन्य कोसीहरूको शिर जनक, महालङ्गुर, लाम्टाङ हिमालमा छन् । सबैभन्दा बेगबान अरुण हो । संसारमा सबैभन्दा धेरै बालुवा बोकेर बग्ने यो नदी हिमालय पर्वत शृङ्खला बन्नु अघिदेखि नै यही बाटो भएर बग्दथ्यो भनिन्छ । यसरी हेर्दा कोसी नदीको सम्बन्ध यहाँको पहाडी, हिमाली र तराईवासीको जीवनसँग ऐतिहासिक र पौराणिक कालदेखि नै जोडिएको छ । रामायण र ऋग्वेदमा यसको प्रशंङ्ग पाइन्छ । मिथिला र किराँत साहित्यमा यसको चर्चा छ । 

हामीले नदीहरूलाई प्राचीन कालदेखि नै आमा वा देवीका रूपमा मान्दै आएका छौँ । कोसी कौशिकी माताका नामले पौराणिक कालदेखि चिनिन्छ । किराँत सभ्यतासँग जोडिएको खुवालुङ अरुणको नदीको बिचमा रहेको छ । हिमालका जडीबुटीहरूको रस ल्याएर तराईलाई सिञ्चित गर्ने कौशिकी यस क्षेत्रको कृषि, वन, पर्यटन, विद्युत् उत्पादनका आधारहरू हुन् । यहाँका बासिन्दाका जीवनदायिनी र प्रदेशको समृद्धिका आधार हुन् । कोसी टप्पु वन्यजन्तु आरक्ष, विश्व प्रसिद्ध कोसी टप्पु रामसार क्षेत्र, अरुण उपत्यका, मकालु वरुण राष्ट्रिय निकुञ्ज आदि थुप्रै महत्त्वपूर्ण स्थानहरू सम्पदाहरू कोसी र तिनका शाखा नदीहरूसँग जोडिएका छन् । कतिपय नामले, कतिपय व्यवहारले ।

सप्तकोसीका सबै शाखा नदीहरूबाट २२ हजार ५ सय मेघावाट बिजुली निकाल्न सकिन्छ । यति बिजुलीलाई सदुपयोग गरेर प्रदेश समृद्ध बनाउन सकिन्छ । प्रदेश सरकारले स्वदेशी तथा विदेशी लगानी जुटाएर ठुलठुला जलविद्युत परियोजनाहरू सञ्चालन गर्न सक्छ । हिमाल, पहाड र तराईलाई जोड्ने वैदिक, मैथिल र किराँत संस्कृति समेट्ने कोसी सभ्यताको प्रतिनिधित्व गर्ने कोसी यस प्रदेशका लागि चर्चामा रहेका सबै नामहरूको तुलनामा सबैभन्दा उपयुक्त छ । यस नाममा कसैले विमति जनाउनु हुन्न भन्ने मलाई लाग्छ । राजनीतिक अडानको आधारमा विरोध गरिटोपल्नु भिन्दै कुरा हो । प्राचीन कौशिकी यो पवित्र नामले यहाँका किराँत, मिथिलादेखि लिएर विराट कोचसम्मको सभ्यता समेट्छ । कोचहरूको भनाइमा कोचीबाट अपभ्रंश भएर कोसी नाम बनेको हो । प्रदेशको नामकरणका लागि यस प्रदेशका आम नागरिकको जीवन संस्कारसँग प्रत्यक्ष रूपमा जोडिएको कोसीभन्दा बलियो र सशक्त नाम अर्को छैन । यसको पक्षमा हजारौँ तर्क गर्न सकिन्छ, हजारौँ तथ्यहरू आफै बोलिरहेका हुन्छन् । केवल नीति निर्माताले आग्रहको घुम्टो बाहिर आएर खुला दृष्टिले हेरिदिए पुग्छ ।

कोसी कुनै जात वा धर्म विशेषको पेवा होइन । यस प्रदेशका जनताको साझा इतिहास, संस्कृति र सभ्यताको प्रतीक हो । यसको ऐतिहासिक पक्ष पनि बलियो छ । कोसी वर्तमानमा पनि यस क्षेत्रका बासिन्दाको समृद्धिको आधार हो । विद्युत् उत्पादन, पर्यटन, सिँचाइ र अन्यबाट कोशीले यस प्रदेशको भविष्य उज्ज्वल र समृद्ध बनाउन सघाउँछ । प्रस्तावित नाम कोसी विगत, वर्तमान र भविष्यसँग निरन्तर जोडिएको छ । यहाँको कुनै पनि सभ्यताभन्दा जेठो हो । प्रदेशको नामकरणका लागि दशतिर मन डुलाउनु आवश्यक छैन । तर, समस्या कहाँ छ भने कोसीको पक्षमा मत जाहेर गर्नेहरू बोल्दैनन्, टुलुटुलु हेरिरहन्छन् । अरूले बोलेको सुनिरहन्छन् । खण्डन मण्डन केही गर्दैनन् । फलतः अन्य नामको वकालत गर्नेहरू मैदानमा आफू मात्र भएको भ्रममा छन् । 

यस प्रदेश सभामा ९२ जना सदस्य बहाल रहेको अवस्था छ । एमालेका ४१, नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १४, एमाले फुटेर बनेको एकीकृत समाजवादीको १०, जनता समाजवादी पार्टीका ३ र स्वतन्त्र ३ जना छन् । प्रदेश सभाको दुईतिहाई बहुमत पुर्‍याउन न्यूनतम ६२ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ । त्यो सङ्ख्या नेकपा एमाले संलग्न नभई अरूले पुर्‍याउन सक्ने अवस्था छैन । यही व्यवस्था बुझेर सत्तारूढ र विपक्षी दलले सहमति गर्नुहोस् । सहमति बन्न सक्ने नाम कोसी नै हो । सहमति नगर्ने र केवल विमतिको डम्फु बजाइरहने हो भने यो प्रदेश सभा नामसम्म पनि राख्ने नसक्ने इतिहासमा सबैभन्दा कमजोर साबित हुनेछ । जनप्रतिनिधिले आँट गर्न नसकेपछि यस प्रदेशका नागरिकका सामु पनि नयाँ प्रदेश सभाको चुनामा हिम्मतिला प्रतिनिधिहरूलाई जिताउने र सकेसम्म पहिलो शेसनबाटै नामकरण टुङ्ग्याएर अगाडि बढ्न आग्रह गर्ने बाहेक विकल्प रहनेछैन । 

तपाईको प्रतिक्रिया