साथीले हत्या गरेको बताएपछि खोलामा शव खोज्दै प्रहरी

इटहरी । सुनसरीको दुहबी नगरपालिका– ६ का एक युवक बेपत्ता भएका छन् । शुक्रबारबाट १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् । उनको अवस्था अझै अज्ञात छ । हत्या गरी फालेको आशंकामा प्रहरीले बुढीखोलामा शव खोजिरहेको छ । बेपत्ता भएका युवकको अनुसन्धानका लागि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुले भने उनको हत्या गरेको बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार शुक्रबार नै हत्या गरेर बुढीखोलामा गाडेको बयान दिएपछि प्रहरीले खोला आशपास शव खोजिरहेको हो ।

प्रहरी स्रोतका अनुसार मियाँसँग सम्पर्कमा रहेका तीन जना आइतबार दिउँसो पक्राउ परेका थिए । पक्राउ परेकाहरुले शव बुढीखोलाको पुल मुनी गाडेको बताएपछि प्रहरी राति नै शव खोज्न खोला पुगेको थियो । राति खोजी गर्ने क्रममा खोलामा मियाको कपडा भेटिएको थियो । ‘राति एक्कासी बाढी आएपछि खोजी गर्न सकिएन्,’ प्रहरी स्रोतले भन्यो,‘ बयानका आधारमा खोला आसपास खोजी गरिरहेका छौं ।’सोमबार बिहान बाढीले शव बगाएको हुनसक्ने आशंकामा प्रहरी र स्थानीयको टोलीले खोलामा खोजी गरेको थियो । तर बेपत्ता युवक नभेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जसिंह थापाले जानकारी दिए ।

‘शुक्रबारबाट हराएका रहेछन्, शनिबार प्रहरीमा खबर आएको थियो,’ उनले भने,‘ शंकास्पद व्यक्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं, बेपत्ता युवकको खोजी जारी छ ।’ युवक नभेटिएसम्म थप विषय भन्न नसकिने उनले बताए । ‘संकास्पद ठाउहरुमा हामीले खोजीगरिरहेका छौं ।’ उनले भने । प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका युवक मध्ये दुई जना दुहबी नगरपालिका– ६ र एक जना मोरङको बुढीगंगा गाउँपालिकाका हुन् ।

तपाईको प्रतिक्रिया